कोरोनाको दोस्रो लहर : सतर्कता अपनाउन मेचीनगर नगरपालिको आग्रह


इटाभट्टा । भारतका विभिन्न शहरमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुनः तीव्ररुपमा फैलिएका बेला नेपालतर्फ संक्रमण फैलन नदिन मेचीनगर नगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ । मेचीनगर नगरपालिका कोभिड १९ संक्रमण नियन्त्रण समितिको आज बसेको बैठकले नगरबासीमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
कोभिड १९ नियन्त्रण र रोकथामका लागि नेपाल प्रवेश पुर्वीद्वार काँकरभिट्टा नाकाहुँदै आवतजावतमा कडाई गरिएको छ ।

आइतबार सुरक्षा निकाय, रेडक्रस, जनप्रतिनिधि, सञ्चारकर्मी विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरुसहितको वैठकले विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ । भारतसँग सीमा जोडिएको मेचीनगर नगरपालिकाले नेपालतर्फ पुनः यसको संक्रमण नफैलियोस भन्ने उद्देश्यले पूर्वीनाकामा उच्च सर्तकता अप्नाउदैं आवत जावतमा कडाइ समेत गर्ने निर्णय गरेको छ । अतिआबश्यक काम बाहेक नाकामा आवतजावत बन्द गर्ने, आखा उपचारमा भारतका विभिन्न स्थानबाट आउने बिरामीलाई अनिवार्य पिसिआर रिपोट अनिबार्य गर्ने, नगरका १५ वटै वडामा वडास्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । समितिले सरकारी, गैरसरकारी, अर्धसरकारी र सामूदायिक संघ संस्था र राजनैतिक पार्टीहरुबीचमा विगतमा भएका सहकार्यलाई उन्नत र व्यवस्थित बनाउने छ ।

नगरप्रमुख तथा समितिका संयोजक विमल आचार्यको सभापतित्वमा सम्पन्न बैठकले सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा समेत मापदण्ड कायम गर्ने र यसका लागि यातायात सम्बद्घ संघ संस्था र व्यवसायीहरुसँग समन्वय र सहकार्य गरी सवारी साधनमा सवार गर्ने यात्रुलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न लगाउने निर्णय गरेको छ । विभिन्न धार्मिक स्थलहरुमा अनावश्यक भीडभाड नगर्ने र यसरी हुने भीडभाडलाई नियन्त्रण गर्न थप सुरक्षा अप्नाउने र विभिन्न चेतनामुलक सुचना सम्प्रेषण गर्ने,, नगरभित्र साप्ताहिकरुपमा लाग्ने हाट बजार र नगरका मुख्यः व्यापारिक केन्द्र मानिएका बजारहरुलाई व्यवस्थापन गर्नका लागि उद्योग बाणिज्य संघसहित अन्य व्यापारिक प्रतिष्ठानहरुसँग सहकार्य र समन्वय गर्ने, अत्यवश्यक काम बाहेक भारततर्फ जान नदिने निर्णय गदैं सर्वसाधारणलाई समेत अनावश्यकरुपमा भारतीय बजार नजान अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

सार्वजनिक सभा समारोह धार्मिकलगायत मृत्यु संस्कारमा समेत अनावश्यक भीडभाड नगर्ने तथा नगराउने, थर्मलगनबाट तापक्रम मापन गर्ने, कुनै गम्भीर प्रकारको रोगका लागि नेपालमा नपाईने औषधि खरिदका लागि उद्योग बाणिज्य संघ लगायत अत्यावश्यक सहयोगका लागि नेपाल रेडक्रसलाई अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ । विकास निर्माणका कामदेखि हरेक कार्यमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्नुपर्ने, विद्यालयहरुले परीक्षा लिदा अनिवार्यरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, अनुगमनका क्रममा यस्तो नपाईए अनुगमन टोलीले तत्काल बन्द गराउन सक्ने र परीक्षा अवधिमा विषम परिस्थिती भए तत्काल परीक्षा बन्द गर्नुपर्ने निर्णय समेत बैठकले गरेको छ ।

बजार अनुगमनलाई प्रभावकारी बनाउने, शव वाहन र अक्सिजनको व्यवस्थापन, थप एम्बुलेन्स सेवा, वडानम्बर ११ मा रहेको स्वास्थ्य केन्द्रलाई आइसोलेसन सेन्टरकारुपमा सञ्चालन गर्ने, नगरभित्रका हरेक टोल विकास संस्थाहरुलाई क्रियाशील बनाउने र सहजीकरण गर्ने, मास्क, सेनिटाइजर, ग्लोब्ससहित स्वास्थ्य सामग्रीलाई पर्याप्त रुपमा जोहो गर्न नगरपालिका तदारुकताका साथ लाग्ने समेत बताइएको छ ।
सीमानाकामा सञ्चालनमा ल्याएको हेल्पडेक्सलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने, साविक सञ्चालनमा आएका क्वरेन्टाइन, आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने, स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी बनाउनेलगायतका निर्णय गरेको छ ।

कोभिड १९ संक्रमणका लागि राती, ९ बजे पछि कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाउने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने, मास्क नलगाउनेलाई संक्रमण रोग ऐन बमोजिम कारवाही गर्ने वा कारवाहीका लागि सिफरीस गर्ने, सीमानाकालाई व्यवस्थित गर्न स्थानीय प्रशासनलाई अनुरोध गर्ने र सीमानाका वारिपारी गर्न निरुत्साहित गर्नेलगायतका निर्णय गरेको छ । मास्क, सेनिटाईजर, सामाजिक दूरी लगायत स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड कडाईका साथ लागू गर्न समेत समितिले नगरवासीमा आग्रह गरेको छ ।

वैठकमा उपप्रमुख मीना पोखरेल उप्रेती, समितिका सदस्यहरु तथा नवीन वराल, कृष्ण कनाल टीकाराम मंग्रान्ती, मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेचीनगर वडानम्बर ११ का वडाध्यक्ष सन्तोस मेचे, मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिलसिहं दाहाल, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राई, सशस्त्र प्रहरी बल नेपाल वीओपी प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।