काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन सम्पन्न


काँकरभिट्टा ।  अगामी नयाँ नेतृत्व चयनका लागि काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनमा कुल ७४ दशमलव ८४ प्रतिशत मत खसेको छ । काँकरभिट्टा माध्यमिक विद्यालय निर्वाचन स्थल रहेको थियो भने ६ वटा बुथमा १२ वटा मतपेटिका राखिएको थियो ।

कुल ५ हजार २ सय ७८ मतदाता रहेपनि ३ हजार ९ सय ५७ ले मात्र मतदानमा सहभागि जनाएका थिए । सवैभन्दा बढी बुथ नम्बर ३ बाट ६ सय ८२ र सवैभन्दा कम ४ नम्बरमा ६ सय ३ मत खसेको निर्वाचन समिति सदस्य हेमकुमार खड्काले बताउनुभयो । यसैगरी, बुथ नम्बर १ बाट ६ सय ७८, बुथनम्बर २ बाट ६ सय ६३, बुथनम्बर ५ बाट ५ सय ५५ र बुथनम्बर ६ बाट ६ सय ७६ मत खसेको थियो ।

विहान ८ बजे शुरु भएको मतदान कार्य साँझ ५ बजेसम्मका लागि समय तोकिएको थियो । सवै मतपेटिकालाई सुरक्षाकर्मीको निगरानीमा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको कार्यालयमा सुरक्षित राखिएको छ । आइतबार विहान ८ बजेदेखि मतगणना कार्य शुरु हुने निर्वाचन समिति संयोजक लक्ष्मीप्रसाद उप्रेतीले बताउनुभयो ।

निर्वाचनमा नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानल र नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वारसहित उपाध्यक्ष पद स्वतन्त्र र संघिय लोकतान्त्रिक मंचका तर्फबाट समेत उम्मेद्वारी परेको थियो ।

लोकतान्त्रिक प्यानलकातर्फबाट हर्कबहादुर फियाक लिम्बु र नेकपा एमाले र राप्रपा गठबन्धनको तर्फबाट राजकुमार पराजुली तथा संघिय लोकतान्त्रिक मंचका तर्फबाट लीलानाथ आङ्गदम्बेले अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालको गठबन्धनबाट उपाध्यक्षमा रिमा खरेल, सचिवमा दिलीपजंग सुब्बा, कोषाध्यक्षमा मिनाकुमारी कट्वालको उम्मेद्वारी दर्ता भएको छ ।

कार्य समितिको महिला सदस्यहरुमा जोश्ना राजवंशी र पार्वती खड्काले उम्मेद्वारी दर्ता गरेको छन् । सदस्यहरुमा खगराज भट्टराई, केदारजंग भट्टराई, शेरबहादुर थापा सदस्यका उम्मेद्वार रहेका छन् । लोकतान्त्रिक प्यानल समूहबाट लेखा समिति संयोजकमा कृष्ण कट्टेल तथा सदस्यहरुमा इन्दिरा बुडाथोकी अधिकारी र मीरा कार्कीको उम्मेद्वारी परेको छ ।

पराजुलीको समूहबाट उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा चन्द्रप्रसाद निरौला, कोषाध्यक्षमा हेमा सिटौलाको उम्मेद्वारी दर्ता भएको छ । यसैगरी राप्रपाको भागमा लेखा समितिको संयोजकको उम्मेद्वारमा जीवन थापालाई खडा गरिएको छ भने कार्य समितिको महिला सदस्यहरुमा सदस्यमा दुर्गा देवि भेटवाल, मिनमाया लिम्बू सुब्बाको उम्मेद्वारी परेको छ । सदस्यहरुमा रविन राउत, प्रितम काफ्ले, र नारायण काफ्लेको उम्मेद्वारी परेको छ भने लेखा समिति सदस्यमा सीता राई र टोलबहादुर सुनारलाई अघि सारेको छ ।

संघिय लोकतान्त्रिक मंचका तर्फबाट उपाध्यक्षमा राजु चेम्जोङ्ग र सचिवमा चन्द्रकुमार राईको उम्मेद्वारी परेको छ । यसैगरी, उक्त पार्टीबाट कोषाध्यक्षमा भवानी महत तथा सदस्यहरुमा भवानीविक्रम तुम्बापो र प्रकाश गुरुङ्गको उम्मेद्वारी पत्र दर्ता भएको छ । उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार कृष्णबहादुर सुवेदीले प्रतिस्पर्धा गरेका छन् ।