मेचीनगर वडानम्बर ८ को भवन शिलान्यास


मेचीनगर ।  यसै आर्थिक वर्षभित्र तीनवटा वडा कार्यालयको आफ्नै भवन बनाउने लक्ष्यका साथ अघि बढेको मेचीनगर नगरपालिकाले विहीबार वडानम्बर ८ को वडाभवनको शिलान्यास गरेको छ । आगामी ६ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी एक करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको भवनको नगरपालिका प्रमुख विमल आचार्यले शिलान्यास गरेका हुन् । उनले भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने विह्वास व्यक्त गरे । उनले क्रमिक रुपमा नगरभित्रका सबै वडा कार्यालयको भवन निर्माण हुने विश्वास दिलाए ।

नगरवासीको चहाना अनुसार नगरपालिकाले काम गरिरहेको भन्दै आगामी दिनमा पनि सेवाग्राहीकै चहाना र लक्ष्य अनुसार नगरपालिकाले काम गर्ने नगरप्रमुख आचार्यले प्रतिबद्धता व्यक्त गरे । उनले राजनीति स्वाःर्थ छाडेर नगरपालिकाले काम गरिरहेको चर्चा गर्दै आगामी दिनमा पनि स्वार्थ नराखेर काम गर्दै जाने स्पष्ट पारे ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाले सेवाग्राहीको भावनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् । वडा कार्यालयका भवन निर्माण भएपछि सेवा प्रवाह झनै प्रभावकारी हुने भन्दै यसका लागि निर्धारित समयभित्रै वडा कार्यालय भनव निर्माण गर्न पनि उपप्रमुख उप्रेतीले निर्माण व्यवसायिलाई आग्रह गरिन । मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमाललले सेवाग्राहीका भावनालाई उच्च प्राथमिकतामा राखी वडाको आफ्नै कार्यालय भवन निर्माण गर्न लागिएको बताए ।

स्थानीय समाजसेवी जग्गादाता चन्द्रबहादुर बस्नेतले प्रतिभा टोलमा रहेको करिब ६० लाख रुपैयाँ मुल्य बराबरको चार कठ्ठा जग्गा भवन निर्माणका लागि निःशुल्क उपलब्ध गराउनुभएको थियो । रामेछाप पाँचपोखरी जटेश्वर जेवी कम्पनिले वडा कार्यालयको निर्माण ठेक्का लिएर काम अगाडी बढाएको छ । तोकिएको समयमा निर्माण कार्य सम्पन्न गरिसक्ने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर सांग्रिला लामाले बताए ।