दशैंमा के खाने ? के नखाने ?


चाडबाडमा खानपानले बढी महत्व पाउने गर्छ । दसैँमा मासु, मदिरा र मिठाईको अत्यधिक प्रयोग गरिन्छ । तर, यसले हृदयाघात, मस्तिष्कघातजस्ता रोगको सम्भावना बढाउने हुनाले सचेत हुन जरुरी छ । विशेषगरी मासुजन्य खानेकुरा, चिल्लो, गुलियो, नुनिलो, तारेका खानेकुरा, जंकफुड आदिको अत्यधिक प्रयोग स्वास्थ्यका दृष्टिकोणले लाभदायी मानिँदैन ।

बढी चिल्लो र कोलेस्ट्रोलयुक्त खानेकुराले उच्च रक्तचाप, हृदयाघात, मस्तिकघातजस्ता मुटुसम्बन्धी समस्या निम्त्याउँछ । त्यस्तै पेटसम्बन्धी समस्या, फुड पोइजन, अल्सर, युरिक एसिड, मोटोपनजस्ता रोग लाग्ने सम्भावना अधिक हुन्छ । त्यसैले चाडबाडमा रमाइलोसँगै हामीले खानपानमा पनि ध्यान दिनुपर्छ ।

रातो मासु कम खाने

खसी, बोका, च्यांग्राको मासु अर्थात् रातो मासु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यसको प्रयोग कम गर्नु नै उत्तम हुन्छ । यसको सट्टा कम बोसो हुने मासुजन्य खानेकुरा प्रयोगमा ल्याउनुपर्छ । रातो मासुको प्रयोग गर्दा उसिनेर गर्न सकिन्छ ।

विकल्पमा माछा र अन्य सेतो मासु प्रयोग गर्न पनि सकिन्छ । अत्यधिक रूपमा रातो मासु खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने अध्ययनले देखाउँछ । रातो मासुमा एमिलोइड नामक प्रोटिन पाइन्छ, जुन आवश्यकताभन्दा बढी भए दिमागमा जम्मा भएर बस्ने गर्छ र जम्मा भएको एमिलोइड नामक प्रोटिनले स्नायुकोषमा असर पुर्याउँछ ।

यस्तै, आइरनको मात्रा बढी हुँदा अल्जाइमर्सको खतरा बढ्ने गर्छ । रातो मासुमा चिल्लो पदार्थ र कोलेस्ट्रोल मात्र नभई कार्निटाइन नामक यौगिक पनि पाइन्छ । पाचन प्रणालीले उक्त यौगिकलाई टुक्य्राएर ट्रिमेथाइलेमिन एक अक्साइड उत्पादन गर्छ, यसले मुटुको धमनीमा चिल्लो पदार्थ जम्मा गरी हृदयाघात गराउँछ ।

मासुजन्य खानेकुरा, चिल्लो, गुलियो, नुनिलो, तारेका खानेकुरा, जंकफुड आदिको अत्यधिक प्रयोग स्वास्थ्यका दृष्टिकोणले लाभदायी मानिँदैन । बढी चिल्लो र कोलेस्ट्रोलयुक्त खानेकुराले उच्च रक्तचाप, हृदयाघात, मस्तिष्कघातजस्ता मुटुसम्बन्धी समस्या निम्त्याउँछ । मधुमेहका रोगीले रातो मासु सकेसम्म खानु हुँदैन । हरेक साता नियमित रूपमा मासु खाँदा मधुमेह ५० प्रतिशतले वृद्धि हुने गर्छ, त्यसैले मधुमेहका बिरामी थप सचेत हुन जरुरी छ । रातो मासुले युरिक एसिड र गुदद्वारको क्यान्सरको सम्भावनासमेत बढाउँछ ।

तारेका खानेकुरा नखाने

तारेका खानेकुरामा अत्यधिक मात्रामा चिल्लो पदार्थ हुन्छ । त्यसैले सकेसम्म यस्ता खानेकुराबाट टाढै रहनु बेस हुन्छ । यसको विकल्पमा आगोमा सेकेका, चिल्लो कम हालेर पकाएका वा सेकुवा खान सकिन्छ ।

प्याकेट वा बोतलका जुस प्रयोग नगर्ने

बजारमा पाइने विभिन्न किसिमका जुसमा चिनीको मात्रा बढी हुन्छ । जसलाई मन्द विषको रूपमा लिन सकिन्छ । यसको सट्टा घरमै बनाइएको फलफूलका जुस प्रयोगमा ल्याउनु राम्रो हुन्छ ।

चिनी, घिउ र क्रिमको प्रयोग कम गर्ने

घिउको सट्टामा जैतुन, आलिभ र आलसको तेल प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस्तै चिनीको सट्टा स्टेभिया या सुगर फ्री प्रयोग गर्नु एकदम लाभदायी हुन्छ, यसमा क्यालोरीको मात्रा कम हुने हुँदा तौल बढ्न दिँदैन ।

फलफूल र सागसब्जी धेरै खाने

शरीरलाई भिटामिन र मिनरल एकदमै आवश्यक छ, यसका लागि फलफूल र सागपात सेवन गर्नुहोस् । प्रोटिनका लागि पातलो मासु, गेडागुडी र तोफुको सेवन गर्न सकिन्छ ।