चारआलीमा नगरिक सुनुवाई


चारआली । झापाको चारआलीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय झापा तथा जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

त्रिदेव क्याम्पस चारआलीमा आयोजित कार्यक्रममा प्रहरी तथा ट्राफिक प्रहरीले चारआली क्षेत्रको ट्राफिक ब्यवस्थापन तथा नागरिकको सुरक्षा गर्न नसकेको, नागरिकसँधै हात्तीसँग पौंठेजोरी खेल्दै त्रसित भएर बाँच्नु पर्दा पनि सरकार बेखवर भएको, लागू औषध दुब्र्यसनको डढेलो घरघरमा सल्कीएको लगायतका थुप्रै गुनासा उठे । सुरक्षा, लागू औषध र हात्ती समस्या चुनौति बनेर खडाभएको अधिकाँशको भनाइ थियो । सहभागिहरुले यी खालका समस्या समाधानमा सम्बन्धित पक्षले चासो राखेर समाधान खोज्न आग्रह गरका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीको अध्यक्षता तथा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डवलाला चौधरीले स्वागत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी र विशेष अतिथि साहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले नागरिकका गुनासा र जिज्ञाशालाई लाई मेटाउने प्रयास गर्दै समस्या समाधानमा लाग्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, राष्ट्रिय अनुसन्धान कार्यालयका कार्यालय अनुसन्धान उपरीक्षक कुलचन्द्र नेपाल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक मिनकुमार लामा, मेचीनगर ११ का वडाध्यक्ष रुद्ध बहादुर डाँगी, १२ का वडाध्यक्ष मधुसुदन निरौला, जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख अर्जुनप्रसाद बराइली, मेचीनगर १४ का वडाध्यक्ष बाबुलाल सुब्बाा, १३ का वडाध्यक्ष कृष्ण सिक्देल लगायतको आतिथ्यता रहेको थियो ।

धुलाबारी इलाकाले मेचीनगरको ९ नम्बर वडादेखि १५ नम्बर र बुद्धशान्तिसम्म आफ्नो कार्यक्षेत्रभित्र नागरिकको सुरक्षामा निरन्तर प्रतिवद्ध भएर लागेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डवलाला चौधरील बताए । कार्य क्षेत्र फराकिलो भएको बताउँदै उनले भने, ‘धुलाबारी इलाका अन्तर्गत कुल ७२ जना प्रहरी रहेको र जनसंख्याको आधारलाई हेर्दा एक प्रहरी बराबर १५९९ जना नागरिकको सुरक्षाको जिम्मा हामीलाई छ यो संख्या निक्कै कम हो ।’