सशस्त्र प्रहरीले पनि ल्यायो नाका निगरानी गर्न कुकुर


झापा । पूर्वी नाकाको सुरक्षार्थ तालिमप्राप्त कुकुर ल्याइएको छ । नाकाको सुरक्षा व्यवस्थालाई थप मजवुत बनाउन नेपाल प्रहरीपछि सशस्त्र प्रहरीले पनि कुकुर ल्याएको हो । सशस्त्रले शुक्रबारदेखी कुकुरको प्रयोग गरेर सुरक्षा जाँच सुरु गरेको छ । दुई वटा कुकुर जोजो र जुलेटले नाकामा लागुऔषध र बिष्फोटक पदार्थ निगारानीका लागि यात्रु तथा सवारी साधनको जाँँच गर्ने छन् ।

पूर्वी नाकामा लागु औषध र विष्फोटक पदार्थ भित्रिन सक्ने सम्भावना राखेर जोजो र जुलेटलाई सुरक्षा जाँचमा खटाएको सशस्त्र प्रहरी काँकरभिट्टाका प्रमुख रोहित घिमिरेले बताए । शुक्रबार विहानदेखि पूर्वी नाकाका विभिन्न क्षेत्रमा सुरक्षा जाँचमा सशस्त्र प्रहरीलाई सहयोग गरेको डिएसपी घिमिरेले जानकारी दिए ।

चार्डपर्वको मौकामा विभिन्न अबैध सामग्रीको भित्रिने सक्ने भएकाले त्यसको कडाईका साथ निगरानी गर्न कुकुरको प्रयोगले सशस्त्रलाई सहयोग पुग्ने घिमिरेले बताएका छन् । ‘सुरक्षा जाँच गर्दा नभेटिएका कुराहरु कुकुरले पत्ता लगाउन सक्छ,’ डिएसपी घिमिरेले भने– ‘सशस्त्र प्रहरीले नदेखेका कुरा पनि कुकुरले सुँघेर थाहा पाउने हुनाले सुरक्षा सतर्कतामा सजिलो हुन्छ ।’

 

जोजो र जुलेटका लागि राशन लगायतका व्यवस्थापन सशस्त्र प्रहरी प्रधान कार्यालयले नै गर्ने कुकुरका ह्याण्डलर सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार कमल कार्कीले बताए । जुलेटले बिस्फोटक पदार्थ पत्ता लगाउने र जोजोले लागु औषध पत्ता लगाउने कार्कीले जानकारी दिए ।

सशस्त्र प्रहरीका झापा जिल्ला प्रमुख एसपी देवराज अर्यालका अनुसार चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि नाकामा उक्त कुकुर परिचालन गरिएको हो । ‘यसले नाका सुरक्षामा सशस्त्र प्रहरीलाई अत्यन्तै ठुलो सहयोग पुर्याउँछ’, उनले भने ।