धुलाबारी खानेपानी : यी हुन् अध्यक्ष पदका आकांक्षी उम्मेदवार


धुलाबारी । राजनीतिक दलहरुले प्रतिष्ठाको विषय बनाएको धुलाबारी खानेपानी उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि चैत १८ गते निर्वाचन हुँदैछ । निर्वाचनमा मुख्यतः नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने निश्चित छ । दुवै पार्टीले नेतृत्व आफ्नो पक्षमा पार्न आन्तरिक तयारी सुरु गरेका छन् । तेस्रो ठूलो दल माओवादी केन्द्र लगायत साना दलहरुले पनि खानेपानी समितिमा जान आन्तरिक गृहकार्य गरिरहेका छन् ।
विशेषगरी धुलाबारी खानेपानीमा कांग्रेस र एमाले निकट उपभोक्ता बढी छन् । दुवै पार्टी अध्यक्षसहित अन्य पदहरुमा जित्न निकाल्ने दाबी गरेर उम्मेदवार छान्ने कसरतमा जुटेका छन् । यद्यपि राजनीतिक दलहरुलाई उम्मेदवारहरुको नाम फाइनल गर्न सकस भएको देखिन्छ । एउटै पदमा एकभन्दा बढी आकांक्षी देखिएपछि उम्मेदवार टुग्याउन निकै कसरत गर्नुपर्ने देखिएको हो ।
उम्मेदवारका विषयमा पार्टीभित्र छलफल सुरु भएको छ । खानेपानीको निर्वाचनमा सत्ता पक्षधर पार्टी मिलेर जान सक्ने संकेत पनि देखापरेको छ । त्यसो हुँदा कांग्रेस–माओवादी केन्द्रसहित दलहरु एकातिर र एमाले पार्टी अर्कोतिर हुने सम्भावना बढेर गएको हो ।
धुलाबारी खानेपानीको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट धनकाजी दाहालको नाम चर्चामा छ । उनी वर्तमान खानेपानीको कार्यसमिति सदस्य हुन् । काँग्रेस मेचीनगरका उपसभापतिसमेत रहेका दाहाल मेचीनगर–९ निवासी हुन् । खानेपानीका वर्तमान अध्यक्ष अजय घिमिरेले पनि इच्छा देखाएको बुझिएको छ ।
एमालेबाट अध्यक्ष पदमा रचिन्द्र श्रेष्ठ, चन्द्रमणि पौडेल, चेतन विष्टको नाम चर्चामा छ । मेचीनगर–१० निवासी श्रेष्ठ खानेपानीको कायसमिति सदस्य भइसकेका छन् । अध्यक्ष पदमा एमालेबाट उनको नाम अगाडि रहेको पार्टी स्रोतले बताएको छ । पौडेल र विष्टको नाम पनि उत्तिकै चर्चामा छ । वर्तमान उपाध्यक्ष विष्टले पनि अध्यक्ष पदमा आफ्नो दाबी पेश गरेका छन् । एमालेले आकांक्षी उम्मेदवारहरुको नाम संकलन गरेर टुंग्याउने बताएको छ ।
तीन वर्षे कार्यकालका लागि हुन लागेको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित ११ जना निर्वाचित हुनेछन् । ५ जना मनोनित गर्ने व्यवस्था छ । निवर्तमान अध्यक्ष स्वतः कार्यसमितिमा रहने व्यवस्था रहेको छ ।
धुलाबारी खानेपानीमा ५ हजार ७ सय उपभोक्ता छन् । धुलाबारी खानेपानी मेचीनगर–९, १०, ११, १४ र १५ वडामा विस्तार भएको छ । सबैभन्दा धेरै उपभोक्ता मेचीनगर–१० मा छन् भने थोरै मेचीनगर–१४ मा रहेका छन् । खानेपानी समितिले पुस महिनासम्मको महसुल बुझाउन सूचना जारी गरिसकेको छ । पुस सम्मको महसुल बुझाउन उपभोक्तालाई चैत ३ गतेसम्मको म्याद तोकिएको छ । उक्त समयभित्र महसुल बुझाएका उपभोक्ताले मात्रै मतदानमा भाग लिन पाउनेछन् ।