देश बचाउन मेरो उम्मेदवारी– मुकुन्द दाहाल


देश बचाउन मेरो उम्मेदवारी– मुकुन्द दाहाल
मेचीनगर । नेपालका लागि नेपाली पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर– १ का प्रतिनिधि सभाका उम्मेदवार मुकुन्द दाहालले देशको राष्ट्रियता बचाउनका निमित्त चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
शनिवार धुलाबारीस्थित होटल रोयल निर्भानमा पत्रकार सम्मेलन आयोजना गरेर उनले योजना र कार्यक्षमता नभएका असक्षम पार्टीका नेताहरुबाट मुलुकको रक्षा हुन नसक्ने जिकिर गरे ।
उनले राज्य सञ्चालन गर्ने नीति निर्माण तहमा सहभागी बन्दै राष्ट्रियता जोगाउने अभियान लिएर चुनाव चिन्ह शंख बोकेर जनताको घरदैलो पुगिरहेको बताए । उनले झापा क्षेत्र नम्बर –१ को समग्र विकासलाई नजिकबाट बुझेको र त्यसको योजना बनाउने निकाय संसदमा पुर्याउन आम मतदाता समक्ष अपिल गरे ।
मेचीनगर–९ निवासी दाहालले आफूलाई जिताए बिभिन्न योजनाहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा संविधान संसोधन गर्नेदेखि निर्वाचन प्रणाली परिवर्तन गर्ने उल्लेख छन् ।
सामाजिक अभियन्ताका रुपमा चिनिएका दाहाल राजनीतिक पार्टीको कार्यशैलीबाट विरक्तिएर मुलुक जोगाउने महाअभियानमा होमिएको स्पस्ट पारे । ‘मलाई राजनीतिमा खासै चासो थिएन,’ दाहालले भने, ‘देश बर्वाद भइरहेको टुलुटुलु हेर्न सकिन ।’
सो पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर–२ मा जिल्ला संयोजक ज्ञानेन्द्रराज कार्की उम्मेदवार बनेर चुनावी मैदानमा छन् । नेपालका लागि नेपाली पार्टीका तर्फबाट प्रदेश सभा सदस्यमा खेमकुमारी मिश्र, सुनिता तामाङ र विरु तामाङ उम्मेदवार छन् ।
नेपालका लागि नेपाली पार्टीका झापा संयोजक ज्ञानेन्द्रराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शुभचिन्तक खेमप्रसाद खनाल, समानुपातिक उम्मेदवार तथा पार्टीका अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो ।