मेयर बुढाथोकीकाे परिकल्पना : काँकरभिट्टामा बहुतलिय बसपार्कदेखी फुटफाथ व्यवस्थापनसम्मको योजना


मेचीनगर  ।  मेचीनगरका मेयर गाेपाल चन्द बुढाथोकीले मेचीनगर–६  काँकरभिट्टामा देखिएका समस्या समाधान गर्न सबैकाे सहगयाेग आवश्यक रहेकाे बताएका छन् । शनिबार मेचीनगर–६ स्थित मेची सामुदायिक हलमा आयोजित कार्यक्रममा काँकरभिट्टाको ट्रमिनल, प्यारीभिट्टाको बसपार्क, फुटफाथका पसल, नाकामा सिटी रिक्साको जाम, पार्किङ लगायत समस्याका विषयमा सराेकारहरू सँगकाे छलफल गरेका छन् ।

छलफलमा मेयर बुढाथोकीले बसपार्कको समस्या ३० वर्ष अघिदेखिको रहेको बताए । उनका अनुसार यसको कार्यान्वयनका लागि सरोकारवालाको सहयोग आवश्यक छ । यी तमाम विषयलाई सूचिकृत गरेर अघि बढिने उनले बताए । ‘बसपार्क आसपास बहुतलिय व्यापारको अवधारणा ल्याएका छौँ’ मेयर बुढाथोकीले भने–‘बहुतलिय भवनमा गाडी पार्किङदेखि व्यापारका पसलहरु हुने छन् । त्यसका लागि लगानी वार्डमा प्रस्ताव गरेका छौँ ।’

छलफलमा प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीले काँकरभिट्टाको ट्रमिनल, प्यारीभिट्टाको बसपार्क, फुटफाथका पसल, नाकामा सिटी रिक्साको जाम, पार्किङ लगायत समस्याका विषयमा एक्सनमा काम गर्न अनुरोध गरेका छन् । नगरपालिकामा कार्यविधि बनाएर यी समस्याहरु समाधान गर्न सांसद मैनालीले सुझाव दिएका थिए ।

मेची पुलमा सिटीरिक्सा लगायतको भिडभाड, काँकरभिट्टा ट्रमिनल, फुटफाथ पसल, प्यारीभिट्टाको बसपार्क, होटल र बसमा मान्छे तान्ने, विदेशी पर्यटकलाई नाकामा गर्ने व्यवहार लगायतका विषयमा सरोकारवाला निकायसँग मेचीनगर नगरपालिकाले आयोजना गरिएको छलफलमा कसले के भने जस्ताको तस्तै  :

मेची पुल २ नम्बरीको कब्जामा : पूर्व मेयर आचार्य

मेचीनगरका पूर्व मेयर विमल आचार्यले व्यापार गर्न काँकरभिट्टा नाका सहज नभएकाले आफै पनि भारतको गलगलियाको बाटो प्रयोग गर्न थालेको बताए । लागुऔषध, चेलीबेटी बेचविखन लगायत थुप्रै खालका तस्करीका कारण नाका विग्रिएको उनको भनाई छ । गाजा, ड्रग्स्, हिरोइन लगायतका अवैध समान यो नाकाबाट सहज आउने गरेको उनले बताए ।

‘मेची पुलमा २ नम्बरीहरुले कब्जा गरेको अवस्था छ’, पूर्व मेयर आचार्यले भने–‘सार्वजनिक बाटोमा कुनैपनि गाडी पार्किङ गरेर राख्न पाइँदैन । सिटी रिक्सा लगायत साना गाडीहरुको कार्यविधि बनाएर सञ्चालन गरिनु पर्छ । यसका लागि नगरपालिकाले उच्चस्तरीय समिति बनाउन आवश्यक छ ।’

भन्सारको चेकपोष्ट कानेखुसी सेन्टर : डीएसपी महतो

काँकरभिट्टाका डीएसपी ज्ञानकुमार महतोले मेची भन्सारको चेक गर्ने ठाउँ कानेखुसी सेन्टर भएको बताए । ड्रग्स् कन्ट्रोल गर्न सेवन कर्तालाई दुहागढीको होल्डिङ सेन्टरमा राखेर उपचार गर्न आग्रह गरेका थिए ।

बसपार्कमा राखिएको यात्रु प्रतिक्षालयको बेन्च होटल र पसलतिर लगेर राखेको उनले आरोप लगाए । होटलमा राखिएको अवस्थामा बेन्च भेटिएपछि फेरि यात्रु प्रतिक्षालयमा ल्याउने काम भएको उनको भनाई छ ।

दातृ निकायबाट सहयोग मागौँ : माओवादी नगर अध्यक्ष चिमरिया

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरियाले दातृ निकायबाट अर्वको लगानी लिएर यी सबै समस्या समाधानमा लाग्न नगरपालिकालाई सुझाव दिएका थिए ।

८० प्रतिशत मान्छे बाहिरबाट आएर तस्करी : एमाले नेता आचार्य

नेकपा एमालेका नेता शुशिल आचार्यले यस नगरमा ८० प्रतिशत मान्छे बाहिरबाट आएर यहाँ व्यापारका नाममा तस्करी गरिरहेको दावी गरेका छन् । अवैध धन्दा सञ्चालन गर्नेहरुलाई निरुसाहित गर्न काँकरभिट्टाबासीहरु जागरुक हुनुपर्ने उनले बताए ।

बसपार्कमा फेरि थपिए फुटफाथ पसल : मजदुर संघ अध्यक्ष तामाङ

नेपाल यातायात मजदुर संघका नगर सभापति विशाल तामाङले बसपार्कमा फेरि फुटफाथ पसलहरु थपिन थालेकोमा चिन्ता व्यक्त गर्दै यसमा नगरपालिकाले ध्यान दिन जरुरी रहेको बताए ।

बसपार्कमा राजनीतिक भयो : कांग्रेस नेता बुढाथोकी

नेपाली कांग्रेस क्षेत्रीय सहसचिव सुरेन्द्र बुढाथोकीले बसपार्कमा राजनीतिक भएको बताएका छन् । उनले काँकरभिट्टा ट्रमिनलको व्यावस्थापन र प्यारीभिट्टा बसपार्कलाई सञ्चालन गर्न नगरपालिकालाई अनुरोध गरेका थिए ।

अल्पकालिन र दिर्घकालिन योजना बनाउँ : समाजसेवी घिमिरे

समाजसेवी डिल्लीराम घिमिरेले यी सबै समस्याको समाधान गर्न अल्पकालिन र दिर्घकालिन योजना बनाएर अघि बढ्न नगरपालिकालाई सुझाव दिएका थिए ।

मिनी मार्केटमा व्यापारिक भवन बनाउँ : जसपा नेता गुरुङ

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङले मिनी मार्केटमा व्यापारिक भवन बनाएर त्यहि पार्किङको व्यवस्था गर्न नगरपालिकालाई सुझाए ।

लाहुरेहरु यो नाकाबाट आउन छाडे : यातायात व्यवसायी थापा

यातायात व्यवसायी प्रविण थापाले पार्किङको समस्या समाधान गर्न सबैले पहल गर्नु पर्ने बताए । बसपार्कमा एउटा पनि यात्रु प्रतिक्षालय नभएको उनले बताए । नाकामा समस्या भएकै कारण विगतमा भारतबाट विदामा हुलका हुल आउने लाहुरेहरु अहिले आउन छाडेको उनको भनाई छ ।

नाकामा झोले बैँकहरु छ्याप छ्याप्ती : मजदुर नेता तिम्सिना

मजदुर नेता एकराज तिम्सिनाले मनिचेञ्जर, होटल, ट्राभल, सिटी रिक्साहरु बसपार्कमा अव्यस्थित रुपमा सञ्चालन भएकाले नियमकारी निकायको ध्यान जान जरुरी रहेको बताए । उनले नाकामा मनिचेञ्चरहरु भन्दा पनि झोले बैँकहरु छ्याप छ्याप्ती रहेको बताए ।

सिटी तथा अटो रिक्साहरुको मापदण्ड आवश्यक : सिटी रिक्सा संघका अध्यक्ष चौहान

सिटीरिक्सा तथा अटो संघका नगर अध्यक्ष गणेश चौहानले नगरपालिकाले सिटीरिक्साको मापदण्ड बनाउन जरुरी रहेको बताए । उनले भारत र नेपालको प्रशासन तथा नगरपालिकाको सहकार्यमा समस्या समाधान गर्न सकिने धारणा राखेका थिए ।

बसपार्कमा मान्छे तान्नेको विगविगी : ट्राभल संघ अध्यक्ष कार्की

ट्राभल संघ झापाका अध्यक्ष नेत्र कार्कीले बसपार्कमा मान्छे तान्नेको विगविगी रहेको बताए । पुलमा सिटी तथा अटो रिक्साको स्टेण्ड भएकोमा दुःख व्यक्त गरे ।

सिस्टम लागु गर्नसके समाधान  : होटल व्यवसायी संघ अध्यक्ष श्रेष्ठ

होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ ९गोपाल० ले पूर्वी नाका काँकरभिट्टाको समस्यालाई सिस्टममा लानसके समाधान हुने बताए ।

मेची पुल र बसपार्क अस्तव्यस्त : मेची बस व्यवसायी संघ अध्यक्ष श्रेष्ठ

पूर्व मेची बस व्यवसायी संघका अध्यक्ष विष्णु श्रेष्ठले बसपार्क, मेची पुल र बसपार्क अस्तव्यस्त रहेको बताए । उनले यसलाई रोक्न नगरपालिकाले दण्ड, जरिवाना गरेर भएपनि समस्याको समाधान निकाल्न अब ढिलो नगर्न सुझाव दिएका थिए ।

काँकरभिट्टाको विविध विषयमा सरोकारवालासँग गरिएको छलफलको अध्यक्षता मेयर बुढाथोकीले र त्यसको सञ्चालन तथा व्यवस्थापन ६ नम्बर वडा कार्यालयका वडाध्यक्ष ललितबहादुर तामाङले गरेका थिए ।