काँकरभिट्टा नाकाबाट काउली र प्याज मात्रै ६ करोड बराबरको आयात


नेपाल कृषि प्रधान मुलुकका रूपमा चिनिन्छ । कूल जनसंख्याको करिब ६६ प्रतिशतले कृषि पेशा अंगालेका छन् । तर, नेपालीको भान्सामा वर्षमै ४ करोड रुपैयाँको काउली र प्याज पाक्छ । यो सबै आयातित हो । प्रत्येक नेपालीको भान्सामा तरकारीका रुपमा पाक्ने काउली र त्यसलाई स्वादिलो बनाउने प्याज भने शतप्रतिशत आयात गरिन्छ । जसका लागि वर्षेनि करोडौं रुपैयाँ बाहिरिने गरेको छ ।

क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७७/०७८मा पूर्वी काँकरभिट्टा नाका भएर ३ करोड ४३ लाख ७० रुपैयाँ मूल्य बराबरको १ हजार ७ सय ३० मेट्रिक टन प्याज आयात भएको छ । चीन, भारत, बंगलादेश, इण्डोनेशिया, बेल्जियम, मलेशिया र अमेरिकाबाट नेपालमा प्याज आयात हुने भए पनि काँकरभिट्टा नाका भएर भारत र चीनबाट प्याज आयात हुँदै आएको छ । भारत र चीनका विभिन्न प्रान्तबाट आयात हुने प्याज नेपालको संघीय राजधानीसहित मुख्य बजारसम्म पुग्ने गरेको छ ।

गत आर्थिक वर्ष २०७६/०७७मा यो नाका भएर ३ करोड ६२ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको १ हजार २ सय १० मेट्रिक टन प्याज आयात भएको थियो । यस अघिका दुई आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने प्याजको आयात निक्कै उच्च छ । जुन अघिल्लो आर्थिक वर्ष २०७५/०७६मा काँकरभिट्टा नाका भएर १३ करोड ५९ लाख ३० हजार रुपैयाँ मूल्य बराबरका ४ हजार ५ सय ३१ मेट्रिक टन प्याज भारतबाट आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७४/०७५ मा १६ करोड २७ लाख २० हजार रुपैयाँ मूल्य बराबरको ५ हजार ४ सय ५४ मेट्रिक टन प्याज भारतबाट आयात भएको कार्यालयको तथ्याङ्क छ ।

सोही अवधिमा यस नाका भएर १ करोड ६३ लाख ६८ हजार रुपैयाँ मूल्य बराबरको १ हजार २३ मेट्रिक टन काउली आयात भएको छ । काउली भारतबाट मात्रै आयात हुँदै आएको छ । माग अनुसार स्वदेशभित्रै उत्पादन नहुँदा भारतसहित अन्य मुलुकबाट काउली र प्याज आयात भएको नेपाली अधिकारीहरुको भनाइ छ । यो अवधिमा यी वस्तुको निर्यात भने शून्य रहेको कार्यालयको अभिलेखमा उल्लेख छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तरकारी विकास निर्देशनालयले आयातदर प्रतिस्थापन गर्ने उद्देश्यले ०६४ देखि ०६९ सम्म सिराहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रूपन्देही, दाङ, बाँके र बर्दिया जिल्लामा ‘प्याज मिसन’ कार्यक्रम सञ्चालन गरेको थियो । आयात घटाउने र निर्यात बृद्धि गर्ने उद्देश्यसहित सरकारले प्याज विशेष कार्यक्रम ल्याएको भए पनि अहिलेसम्म नेपालीको भान्सामा पुग्ने प्याजका लागि आयातकै भर पर्नु परेको छ ।

सरकारले प्याज आयात प्रतिस्थापन गर्न अभियान सञ्चालन गरे पनि पर्याप्त रूपमा प्रविधि र भौतिक पूर्वाधारको तयारी नगरिएका कारण यो अभियान असफल बनेको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का हाल अवकाश प्राप्त वरिष्ठ तरकारी तथा प्याज वैज्ञानिक डा. कृष्णप्रसाद पौडेलको भनाइ सापटी लिने हो भने अनुसन्धान अथवा प्रविधि विकासलाई समावेश नगरिएको, उत्पादन सामग्री खरिद, वितरण, अन्य अनुदान र सेवामा व्यापक अनियमितता भएका कारण यो परियोजना पूर्ण असफल बनेको थियो ।