स्वाभिमान कहिल्यै नझुकोस्


कोरोना महामारीबाट सिर्जित चौतर्फी संकटले पत्रकारिता जगतमा हलचल ल्याएको छ । छापा सञ्चारमाध्यमहरु पाठकको हातसम्म पुग्न नपाउँदा छटपटाइरहेका छन् । रेडियो र टेलिभिजन माध्यमहरु तिलमिलाइरहेका देखिन्छन् । यही कहरका बीच अनलाइन माध्यमहरु भने फस्टाएका छन्, संख्यात्मक र गुणात्मक दुबै दृष्टिले ।
एक पछि अर्को भेरियन्ट आइरहेको हुँदा कोरोनाको कहर कहिले सिद्धिने हो, वैज्ञानिकहरुले समेत ठोकुवा गर्न सकिरहेका छैनन् । पर्याप्त मात्रामा खोप लगाइसकेपछि महामारी रोकिन्छ भन्ने सबैको आँकलन छ । कोरोना सँगसँगै जिउनु पर्ने सुझावहरु पनि आइरहेका छन् । हजारौँको संख्यामा पत्रकारहरुले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनु परेको छ विश्वमा । हिजोसम्म सँगै समाचार संकलनमा हिँडेको आफ्नै साथी अहिले कोरोनाले चुडेर लगेपछि सामाजिक सञ्जालहरुमा श्रद्धाञ्जलिको पात्र बनिरहेको छ ।
समय एकनासको हुँदैन । अँध्यारोपछि उज्यालो आए झैं मानव समुदाय कोरोना कहर सकिए पछिको विहानीको व्यग्र प्रतीक्षामा छ । यो कहर सकिदै गर्दा पत्रकारिताको अनुहार चाहिँ कस्तो बाँकी रहँला ? धेरैले अनेक अनुमान गरेका छन् । कोरानापछिको युगमा पत्रकारिताको महत्व कदापि घट्ने छैन । सञ्चार माध्यमहरुको आआफ्नै विशेषता भएकाले कसैको पाठक वा दर्शक बढ्लान् वा घट्लान् । तर, पत्रकारिताको आवश्यकता बरु बढ्नेछ, घट्ने छैन ।


कोरोना अवधिमै हेरियो भने सञ्चारमाध्यमहरु विस्तारै अनलाइन प्लेटफर्मतिर रुपान्तरित भइरहेका छन् । हात हातमा इन्टरनेट र मोवाइल सेटको उपलब्धताका कारण पाठक वा दर्शक आकर्षित गर्न अनलाइन माध्यमा नगई कुनै मिडियालाई अब सुखै छैन । दैनिक, साप्ताहिक, रेडियो र टेलिभिजन मिडियाहरु अनलाइन संस्करणलाई दर्बिलो बनाउन लागिपरेका छन् । पत्रकारहरु पनि आफुलाई अनलाइनमा अभ्यस्त तुल्याउन प्रतिबद्ध हुँदै गएका छन् । हिजोअस्तिसम्म कम्प्युटर चलाउन नजान्ने पत्रकारहरु अहिले मोवाइल सेटमै अनलाइन समाचार पोस्ट गर्न र भिडियो सम्पादन गर्न जान्ने भइसकेका छन् ।
सहरमा अनलाइन मिडियाको संख्या निकै बढेको छ । एक पत्रकार, एक अनलाइन जस्तै हुन लागिसक्यो । अनलाइनको संख्या र प्रभाव बढ्दै जाँदा पत्रकारिताको मूल मन्त्रको रुपमा रहेको विश्वसनीयता, निष्पक्षता र सन्तुलन भने खस्कदै गएको छ । कुनै पनि समाचारको भाषा शिष्ट, शैली पढँु पढँु लाग्ने र सन्देश सकारात्मक हुन जरुरी छ । व्यक्तिगत स्वार्थ, पूर्वाग्रह र राजनीतिक आस्था पालेर व्यावसायिक पत्रकारिता सम्भव हुँदैन । जे सत्य हो त्यो लेख्नका लागि हरेक पत्रकार तयार हुनैपर्छ । राजनीतिक दलसँगको आवद्धता र कर्पोरेट हाउसहरुसँगको साँठगाँठले समाचारहरुको गर्भपतन हुने गरेको छ । यो अहिलेको ठूलो चुनौतिमध्येको एक हो ।
अनलाइन माध्यमहरु अचेल गेटकिपरविहीन हुन थालेका छन् । गेटकिपर नहुँदा कसैले गलत समाचार पठायो भने पनि सहजै समाचारको रुपमा पोस्ट हुने समस्या छ । हरेक मिडियामा सम्पादक हुन्छन् । पत्रकारिताको योग्यता र अनुभव बिना सम्पादक पदमा जोकोही पुगिदिँदा अनलाइनहरु डुप्लिकेट समाचार उत्पादन गर्ने कारखाना जस्ता भइरहेका छन् । एउटा अनलाइनमा कुनै नयाँ समाचार छापियो भने केहीबेरमै सबै अनलाइनले समाचार अनाधिकृत कपीपेस्ट गर्दै आएका छन् । बिना अनुमति अर्काको समाचार प्रकाशित गर्नु एकातिर गलत हुँदै हो भने आफ्नो सिर्जना देखाउन नसक्नु मिडियाको कमजोरी हो ।

मोहन काजी

भाइरल बनिहाल्नु पर्ने रोगबाट नेपाली अनलाइन मिडिया ग्रस्त छ । आवाजविहीनहरुको आवाज बन्नु पर्ने मिडियाहरु कहिलेकाहीँ आफ्नै मिडियाको सम्पादकको बिहेको खबर हेडलाइनमा छापिरहेका हुन्छन् । पत्रकारहरु भाइरल बन्नका लागि आफै न्यायाधीश र पुलिस जस्तो बन्छन् र फैसला पनि सुनाइहाल्छन् । अर्कालाई बढी गाली गरियो भने ठूलो पत्रकार बनिन्छ भन्ने गलत सोचबाट बाहिर निस्कन जरुरी छ । पत्रकारले पुरस्कार पाएनन् भने रिसाएर समाचार बन्छ । पुरस्कार पाउँदा फुर्किएर समाचार बन्छ । मुलुकमा जतिसुकै ठूलो महत्वको घटना होस् आफ्नै फोटो हेडलाइनमा छाप्न पत्रकारहरु लजाउँदैनन् । धेरैजसो मिडियाहरु सम्पादकीय अयोग्यताका कारण सम्पादककै मुखपत्र बनिरहेका भेटिन्छन् । यो विकृति हो ।
भ्रष्टाचार अहिलेको सबैभन्दा ठूलो समस्या हो । यत्र, तत्र र सर्वत्र भ्रष्टाचार छ । हामीले नमस्कार गरिरहेका र वरपरकै कथित नेता तथा समाजसेवी चरम भ्रष्ट हुन सक्छन् । त्यतातिर कलम सोझिएकै छैन । खोप लगाउन नपाएर र स्वास्थ्य उपचार नपाएर कैयन नागरिक जीवनमरणको हालतबाट गुज्रिरहेका छन् । स्वास्थ्य, कृषि, पर्यटन जस्ता विषयहरु पत्रकारको सोधीखोजीबाट टाढा बनेका छन् । जातीय विभेद, घरेलु हिंसा, दाइजो प्रथा, अन्धविश्वास जस्ता सामाजिक विकृतिका विरुद्ध मिडियाले भिड्नै सकेको छैन ।
यी त भए, पत्रकारिताको अवस्था, चुनौति र समस्याका विषय । अब अलिकति खबर मञ्च साप्ताहिकका बारेमा पनि ।
नेपालमा पत्रकारिता विषयमा उच्च तहको पढाइ हुन थालेको दशकौं लामो इतिहास भए तापनि पढाउने कलेज काठमाडौँमा सीमित थिए । भर्खरै देशभरि पत्रकारिताको पढाइ हुन थालेको हो । पत्रकारिता गर्नेहरु अहिलेसम्म अभ्यासबाट आएकाहरु नै धेरै छन् । अरु विषयमा अध्ययन पूरा गरेर मिडियामा काम सिकेपछि अनुभवका आधारमा पत्रकार बन्नेहरु धेरै छन् भन्न खोजिएको हो । विस्तारै पत्रकारिता नै पढेको जनशक्ति पनि मिडियाको नेतृत्वमा आउन थालेको छ । यो सुखद् विषय हो ।
हो, पत्रकारिता पढेरै पत्रकारितामा समर्पित एक पत्रकारको नाम हो प्रकाश पौडेल । खबर मञ्च साप्ताहिक उहाँले सम्पादन गरिरहनु भएको छ । उच्च तहमा पत्रकारिता पढिसकेपछि पत्रकारिताका आधारभूत सीप र ज्ञान प्राप्त हुन्छ । जसले गर्दा पत्रकारिताको अभ्यास सहज र मर्यादित हुन्छ । जो पत्रकारिताको ज्ञानले भरिएको छ, उ जहिल्यै नम्र र नुहेको हुन्छ । उसले पत्रकारितालाई समाजको सेवा र रुपान्तरणको क्षेत्र ठानिरहेको हुन्छ । क्षणिक आर्जनको माध्यम बनाउनेहरु नभएका होइनन् । तर खबर मञ्च र यसको समग्र टिम कहिल्यै पत्रकारिताको धर्म विपरीत गएको छैन ।
लगाम योग्य व्यक्तिको हातमा गयो भने गल्ती हुँदैन भनिन्छ । स्थानीय घटना र विषयवस्तुलाई प्राथमिकतामा राख्नु खबर मञ्चको अर्को राम्रो विशेषता हो । राजनीतिक दाउपेचबाट यो पत्रिका टाढा छ । हतियार हातमा भए पछि त्यसको दुरुपयोग गर्नेहरु पनि पत्रकारिता जगतमा छन् । तर सम्पादक प्रकाश पौडेलले आफ्नो मिडियाको कहिल्यै दुरुपयोग गर्नुभएको छैन । कसैको चाकरी नगर्ने व्यक्तिगत स्वभाव उहाँको मिडियामा पनि प्रतिबिम्बित भएको छ । यो स्वाभिमान कहिल्यै नझुकोस् ।
असजिलो अवस्थाबाट छापा पत्रकारिता गुज्रिरहेको बेला खबर मञ्चले पनि विज्ञापन र वितरणको ठूलो सकस अवश्य भोगिरहेको छ । स्थानीय सरकारको लोगो देखाउँदै आएका पालिकाहरुले साना मिडियाको प्रवर्धनका लागि गरिरहेको कञ्जुस्याइँबाट खबर मञ्च जस्ता जनआवाज बोल्ने मिडियाहरु मर्माहत छन् । स्थानीय विज्ञापन स्थानीय मिडियाको अधिकार हो भन्ने स्थानीय सरकारहरुले नबुझेसम्म यो संकट हट्ने छैन । अनलाइन माध्यमलाई पनि कुशलतापूर्वक सञ्चालन गरिरहनु भएको खबर मञ्चका सम्पादक प्रकाश पौडेललाई पत्रिकाको आगामी यात्रा सुखद्, जनमैत्री र लोकप्रिय बनोस् हार्दिक शुभकामना व्यक्त गर्दछु ।
…………………….