महामारीमा जनताको नायक बने मेचीनगरका वडाध्यक्षहरु


झापा  (रासस) । कोरोना सङ्क्रमण पुष्टि भएलगत्तै मेचीनगर–१३ की १७ वर्षीया कञ्चन रिजाललाई घरधनीले डेराबाट निकालिदिए । गाडीमा मजदुरी गर्दै आएका पतिका साथमा उनी कपडाको पोको बोकेर माइत पुगिन् । त्यहाँ पनि आश्रय मिलेन । निर्दयी पतिले ‘पानी लिन जान्छु’ भन्ने निहुँ पारेर चारआली बजारको खाली टहरामा उनलाई छाडेर भागे ।

मेचीनगर वडा नं= ६ का अध्यक्ष ललित तामाङ

एक सय चार डिग्री ज्वरोले बेहोश अवस्थाकी गर्भवती कञ्चनलाई टहरामा अलपत्र देखेपछि गाउँलेले टाढैबाट रमिता मात्र हेरे । वडाध्यक्ष कृष्णराज सिग्देलले यो घटना थाहा पाएपछि एम्बुलेन्स तत्काल बोलाए । आफैले विरामीलाई बोकेर एम्बुलेन्समा राखे र अस्पताल पुर्याए ।

मेचीनगरकै वडा नं. ६ का अध्यक्ष ललित तामाङ हरेक दिन स्प्रे ट्याङ्की बोकेर कोरोना सङ्क्रमितको घरघर पुग्छन् । ट्याङ्कीमा निसङ्क्रमणका लागि स्यानिटाइज गर्ने केमिकल राखिएको हुन्छ । सङ्क्रमण फैलिन नदिन पीपीई लगाएर उनी आफै स्प्रे गर्छन् । सङ्क्रमितको घरमा औषधि पुर्याउन होस् वा विरामीलाई अस्पताल लैजान एम्बुलेन्स चाहिएका बेला होस्, उनी दिनरात नभनी वडाबासीको सेवामा हाजिर छन् ।

मेचीनगर वडा नं १२ का अध्यक्ष नरेन्द्र धिमाल

धाइजन स्वास्थ्य चौकीमा मेचीनगर नगरपालिकाले ३० बेडको आइसोलेसन वार्ड बनाएको छ । अक्सिजन सुविधासहितको सो वार्डमा चिकित्सकको सेवा उपलब्ध छ । निजी अस्पतालमा खर्च गर्न नसक्ने सङ्क्रमितहरु प्रायः यहाँ उपचारका लागि भर्ना हुन्छन् । मेचीनगर–११ का वडाध्यक्ष सन्तोष मेचे आइसोलेसन सञ्चालनमा आएदेखि निरन्तर यही वार्डमा आउने विरामीको सेवामा जुटिरहेका छन् । विरामीको कुरुवा बसिदिने, घरमा खानेकुरा छैन भने होटलबाट खाना ल्याइदिने, उपचारमा कुनै अभाव छ कि भनेर सोधिरहने अभिभावकीय जिम्मेवारी उनले पूरा गरिरहेका छन् ।

कोरोना कहरका बेला वडाध्यक्षहरुले गरेका सराहनीय कार्यहरुको केही नमुना हुन् यी । मेचीनगरमा १५ वटा वडा छन् । सबै वडाध्यक्षले यसरी नै वडाबासीलाई मदत पुर्याइरहेका छन् । होम आइसोलेसनमा बसेकालाई मात्र होइन अस्पताल पुर्याउने अवस्था आएमा वडाध्यक्षहरु सङ्क्रमितको सेवामा अग्रपङ्तिमा खटिने गरेका छन् ।

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले मेचीनगरमा कोरोना सङ्क्रमणको उच्च जोखिम छ । नगरपालिकाले नाकामा हेल्थ डेस्क राखेको छ भने सुरक्षा निकायसँगको सहकार्यमा स्वास्थ्यकर्मीहरुले होल्डिङ सेन्टर सञ्चालन गरिरहेका छन् । भारतमा आन्तरिक हवाई यातायात खुला रहेको हुँदा नजिकैको बागडुग्रा एयरपोर्टबाट नेपालको विभिन्न जिल्लामा जाने नेपालीहरु मेचीनगर आइपुग्छन् । उनीहरुलाई नाकामै एन्टिजेन परीक्षण गराएर घरसम्म पुग्ने व्यवस्था नगरपालिकाले मिलाएको छ ।

जनसङ्ख्या समेत अधिक रहेको कारण मेचीनगरमा कोरोना सङ्क्रमितको सङ्ख्या धेरै छ । यहीकारण नगरपालिकाले १५ वटै वडाध्यक्षलाई आफ्नो वडाको कोरोना नियन्त्रण र सङ्क्रमितको उपचारको व्यवस्था मिलाउने निर्णायक जिम्मेवारी दिइएको नगरका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा बताउँछन् ।

प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा

 

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सँगसँगै वडाध्यक्षहरु सङ्क्रमितको उद्धार र उपचारमा खटिनु भएको देखेर नगरवासी समेत प्रफुल्ल छन् । ‘‘उहाँहरुको सक्रियता अनुकरणीय छ,’’ ओझा भन्छन्–‘‘निषेधाज्ञाका कारण सर्वसाधारण घर बाहिर निस्कन पाउनुहुन्न, यो बेला विरामीको उद्धार र उपचारमा सघाउनु पर्यो भने जनप्रतिनिधिहरु मध्यरात समेत नभनी खट्ने गर्नुभएको छ ।’’

मेचीनगर–६ का वडाध्यक्ष तामाङ दिनहुँ आएर स्वास्थ्य अवस्थाका बारेमा सोधीखोजी गरिदिदा कोरोना जित्नका लागि आफ्नो मनोबल उच्च भएको नेपाल पत्रकार महासङ्घ झापाका निवर्तमान सचिव सन्तोष आचार्यले बताए । ‘‘कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेका बेला कहिले स्वास्थ्यकर्मीसहित र कहिले एक्लै आउनु हुन्थ्यो,’’ सोही वडा निवासी आचार्यले भने–‘‘एक दिन आफै स्प्रे ट्याङ्की बोकेर पीपीई लगाएर आउनुभयो र तपाईको पुरै घर निःसङ्क्रमण गरिदिन्छौं भन्दै कोठाको कनाकाप्चा घुमीघुमी आफै स्प्रे गर्न थाल्नुभयो ।’’

सङ्कटकै बेला जनप्रतिनिधिको परीक्षा हुने जनाउँदै आचार्यले वडाध्यक्ष तामाङले निस्वार्थ जनसेवा गरेर वडाबासीको मन जितेको बताए । उनले सङ्क्रमित र अन्य विरामीको औषधि आफै मेडिकल गएर किनेर ल्याइदिने गरेका छन् । उनले नेपालमा नपाइने औषधि भारतबाट मगाएर भए पनि घरमै ल्याइदिने गरेका छन् ।

१३ का अध्यक्ष कृष्णराज सिग्देल

वडा नं. १३ का अध्यक्ष कृष्णराज सिग्देलले कोरोना महामारीको दोस्रो लहर बढेयता रातमा सुत्न समेत नपाएको बताए । ‘‘निदाउन र आराम गर्न पाइएन भनेर कुनै दुःख छैन मलाई,’’ युवा उमेरका वडाध्यक्ष सिग्देल भन्छन्–‘‘किनकि, हामी जनताको सेवा गर्ने बाचा गरेर जनप्रतिनिधि भएका हौं । वडाबासी विरामी भएर छटपटिदा हामीलाई पीडा हुन्छ । प्रायजसो रातिकै समयमा सङ्क्रमितको घरबाट फोन आउँछ, म‘ मोटरसाइकल लिएर दगुरिहाल्छु ।’’

आइसोलेसन वार्डमा अहोरात्र खटिएका अर्का वडाध्यक्ष सन्तोष मेचे वडाबासीको ज्यान जोगाउनु नै अहिले आफ्नो पहिलो प्राथमिकता भएको बताउँछन् । ‘‘कतिका घरभरि सङ्क्रमित छन्, तातोपानी तताएर दिने मानिस पनि हुँदैनन्,’’ उनी भन्छन्–‘‘त्यस्तो अवस्थामा विरामीलाई आइसोलेसनमा ल्याइएको हुन्छ । म उहाँहरुलाई खाना, खाजा, पानी, अक्सिजन, औषधिको जोहो गर्न सघाउँछु । कमसेकम अभिभावकको रुपमा वडाध्यक्ष छन् भनेर महसुस गर्न पाउने वातावरण हामीले बनाएका छौं ।’’

कतिपयले आइसोलेसनमा डाक्टर र नर्स पो बस्नु पर्छ, जनप्रतिनिधि किन बसेको भनेर भन्ने गर्छन् । कोरोना सङ्क्रमित भएको ठाउँमा पीपीई लगाएर स्वास्थ्यकर्मीहरु वार्डभित्र आफ्नो काम गर्छन् । तर विरामीका आफन्तसँग सम्पर्क गर्ने, चाहिएको बेला खाना ल्याइदिने र अक्सिजन सकियो भने व्यवस्था मिलाउने काम आफैले गरिरहेको उनले बताए ।

मेचीनगर नगरपालिकाले नगरभित्र होम आइसोलेसन र आइसोलेसन वार्डमा बसेका सबै सङ्क्रमितलाई अक्सिजन, औषधि, एम्बुलेन्स, एक्स रे लगायतका सुविधा निःशुल्क रुपमा व्यवस्था मिलाएको नगरकी उपप्रमुख मीना उप्रेतीले जानकारी दिइन् ।

उपमेयर मीना पोखरेल उप्रेती

‘‘निकट भविष्यमै मेची आम्दा अस्पतालमा रोटरी क्लव र मेची र उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्दैछौं,’’ उपप्रमुख उप्रेतीले भनिन्–‘‘कोरोना कहरमा हामी जनप्रतिनिधिहरु जोखिम मोलेरै नगरवासीको सेवामा जुटेका छौं । नगरको सम्पूर्ण स्रोत साधनलाई सङ्क्रमितको उपचार र कोभिड नियन्त्रणमा लगाइरहेका छौं ।’’

मेचीनगरका सक्रिय सङ्क्रमितमध्ये हाल ४५४ जना होम आइसोलेसनमा र १५ जना अस्पतालमा उपचाररत रहनुभएको नगरको कोभिड कार्यदलकी वरिष्ठ स्वास्थ्यकर्मी सविता सापकोटाले जानकारी दिएकी छन् । नगरमा १८६ जना निको भइसकेका छन् ।

नगरका १८ जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । जसमध्ये वडा नं. ७ का वडाध्यक्ष चन्दन मेचे र नगरका कर्मचारी महेन्द्र निरौला समेतको मृत्यु भयो ।