विकासमा छलाङ मार्दै दिक्तेल नगरपालिका


दिक्तेल । प्रदेश नं. १ को पहाडी जिल्ला खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका विकासमा छलाङ मार्दै अघि बढेको छ । जनप्रतिनिधिहरुले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै यो नगरपालिकाले पनि विकासका गुरुयोजना तयार पारेर त्यसलाई मूर्तरुप दिने काम गरेको छ । यो नगरपालिकाले विकासका पूर्वाधार जस्तै सडक निर्माण तथा विस्तार, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख दिपनारायण रिजालले बताए ।
पूर्वी पहाडी भेगको करिव केन्द्रमा रहेको यस नगरपालिकाको विकासको सम्भावनालाई मध्य पहाडी राजमार्गको निर्माणले विस्तार गरिदिएको छ । कृषि, पशुपालन, नगदेबाली, व्यापार तथा लघु उद्यमको क्षेत्रमा नगरले महत्वपूर्ण सम्भावनाहरू बोकेको छ । युवा जनशक्तिको उपलव्धता, तराईसँगको सिधा सम्पर्क, प्राकृतिक स्रोत तथा नदीजन्य स्रोतले पनि विकासका लागि आवश्यक विद्युत् तथा निर्माण सामग्रीहरू सहज बनाएको छ ।
सामुद्रिक सतहबाट ७०० मिटरदेखि २२५० मिटरसम्मको उचाइमा अवस्थित रहेको यस नगरपालिका कुल २४६.५१ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । नगरपालिका भित्र मझुवागढी, देवीस्थान कालिका भगवती, रूपाकोट, भुलभुले, महुरेगढी, साप्सुधाप, मेरुङडाँडा, सहदेवगढी, गुप्तेश्वर, सिद्धेश्वर गुफा आदि ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू अवस्थित छन् ।
यस नगरपालिकाको भौगोलिक बनौट विविध छ, जहाँ पाखा, पखेरा, जंगल, खोल्सा, खोल्सी, खोंच र बेँसी आदि विविध धरातलीय स्वरूप पाइन्छ । सबै भाग पहाडी धरातल रहेकाले मूलतः यस नगरपालिकामा शीतोष्ण हावापानी पाइन्छ । मैदानी क्षेत्र कम भए पनि बसोबास तथा कृषि उपयुक्त धरातल रहेको छ । मध्यपहाडी लोकमार्ग र अन्य सडकहरूको निर्माणले यस नगरपालिकालाई यातायातका दृष्टिले क्रमशः सुगम बनाउँदै लगेको छ ।
दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेल बजार हो । १५ वटा वडा रहेको उक्त नगरपालिकाको जनसंख्या ४६ हजार ९०३ रहेको छ । यद्यपि उक्त संख्या हाल बढेको नगरपालिका स्रोतले बढाएको छ । १५ वटै वडाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ती सबै वडा कार्यालय एकै प्रकृति रहेको उपप्रमुख बिणादेवी राई बताउँछिन् । नगरपालिका कार्यालय पनि आफ्नै भवनमा सरेको छ ।


प्राकृतिक सम्पदाले धनी नगरपालिकामा लालीगुराँस, चिमाल र विभिन्न जातका लेकाली धुपी सल्लाले शोभायमान बनाएको छ । खयर, साल तथा अन्य मूल्यवान वन सम्पदाले भरिपूर्ण साथै रावा, साप्सु, तावा, मेवा र दिखुवा जस्ता जल स्रोतहरू रहेको यस नगर वास्तवमै प्राकृतिक स्रोत र जल साधनका दृष्टिले अब्बल छ ।
यस नगरपालिका भित्र धेरै जाति जनजातिहरूको बसोवास भए पनि मुख्य गरी राई, क्षत्री ब्राह्मण, दलित, नेवार, तामाङ, मगर, गुरुङ, सन्यासी, शोर्पा आदि जातिको बाहुल्य छ । यस क्षेत्रमा आदिवासी राई, नेवार, तामाङ, मगर, गुरुङ जातिको प्रमुख उपस्थिति रहेको छ भने राई र नेवारी संस्कृतिको उच्च प्रभाव परेको देखिन्छ ।
यस नगरपालिका भित्र एक बहुमुखी क्याम्पस, १८ वटा माध्यमिक विद्यालय, ७३ वटा आधारभूत विद्यालय र ६७ वटा प्रारम्भिक वाल विकास केन्द्र रहेका छन् । यसैगरी एउटा जिल्ला अस्पताल, दुईटा सामुदायिक अस्पताल, एक निजी अस्पताल, १२ वटा स्वास्थ्य चौकी, २ वटा सहरी स्वास्थ्य केन्द्र, ३९ वटा खोप केन्द्र र ग्रामीण स्वास्थ्य स्वयंसेविका १५९ जना रहेको नगरपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ । उक्त नगरपालिकाको वडा नं. ४ मा मनमाया राई खानीडाँडा विमानस्थल रहेको छ ।


नेपाल मानव विकास प्रतिवेदन २०१४ मा खोटाङ जिल्लाको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनको अनुमानित आँकडा दिएको थियो । उक्त प्रतिव्यक्ति उत्पादन, नगरपालिकाको जनसंख्या तथा २०१४–२०१८ सम्मको राष्ट्रिय औसत आर्थिक वृदिदर समेतको आधारमा यस नगरपालिकाको कुल गार्हस्थ्य उत्पादन अनुमान गरिएको छ । यस अनुमान अनुसार यस नगरपालिकाको कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा ६.४० अर्ब रुपियाँ बराबर रहेको अनुमान छ ।
उक्त कुल गार्हस्थ्य उत्पादनमध्ये करिब ७३ प्रतिशत कृषि क्षेत्रले ओगटेकोे छ भने ब्यापार र खुद्रा व्यापारले ९ प्रतिशत, निर्माणले ६ प्रतिशत र शिक्षाले ३ प्रतिशत योगदान गरेको देखिन्छ । उत्पादन मुलक क्षेत्रले करिब २ प्रतिशत मात्र योगदान गरेको देखिन्छ । यसरी यस नगरपालिकाको आर्थिक गतिविधि केलाउँदा कृषि क्षेत्रको योगदान उल्लेख्य रहेको छ ।
अनुमानित आँकडा अनुसार कृषि क्षेत्र यस नगरपालिकाको आर्थिक विकासको प्रमुख आधार हुने देखिन्छ । उत्पादन र सेवामूलक क्षेत्रले आर्थिक विकास र रोजगारी सिर्जनामा योगदान गर्न यी क्षेत्रको उल्लेख्य बृद्धि हुनुपर्ने स्थानीय जानकारहरु बताउँछन् ।