एमाले कोशी : पहिलो र बृहत विज्ञान प्रदर्शनी हुने
बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी जेठ १ गतेदेखि ३ गतेसम्म विज्ञान प्रदर्शनी हुने विभागका प्रमुख गणेश पोखरेलले जानकारी दिए ।
नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागको आयोजनामा बिर्तामोडको देवी माविको प्राङ्गणमा आयोजना गरिने विज्ञान प्रदर्शनीमा १ लाख विद्यार्थी सहभागी हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । कोशी प्रदेशका १४ वटै जिल्लाबाट विद्यार्थीहरुको सहभागिता रहने उनले बताए। ‘दैनिक ३३ हजार विद्यार्थी सहभागी हुने अनुमान छ’, उनले भने, ‘कार्यक्रम सम्पन्न गर्न ३५ लाख खर्च हुने अनुमान गरेका छौं ।’
प्रदर्शनीमा एसईईदेखि कक्षा–१२ सम्मका विद्यार्थीले सहभागिता रहने जनाइएको छ । कोशीको प्रत्येक जिल्लाबाट १० वटा र आयोजक जिल्ला झापाबाट थप १० गरी १५० वटा विद्यालय प्रदर्शनीमा सहभागी गराउने हुनेछन् । विज्ञान प्रदर्शनीमा पाँच सय विद्यार्थीले प्रतिस्पर्धात्मक सहभागिता जनाउने आयोजकले जनाएको छ ।
विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको प्रदर्शनीमा प्रथम हुने विद्यार्थीले चार लाख रुपैयाँ, दोस्रोले तीन लाख, तेस्रोले दुई लाख र चौथोले एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् भने अन्य २५ वटा विद्यालयलाई सान्त्वना पुरस्कार २५ हजारका दरले प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश इञ्चार्ज शेरधन राईले पार्टीको विज्ञान तथा प्रविधि विभागले पहिलो पटक यस प्रकारको काम गर्न लागेको बताए। उनले पार्टीका सबै विभागलाई चलायमान बनाउन पनि कार्यक्रम गर्न लागिएको बताए ।
‘आजको विज्ञान प्रविधिको युगमा आईटीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ’, उनले भने, ‘कोशी प्रदेशलाई समृद्ध बनाउनुका साथै विश्वमै प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न जरुरी छ ।’
कार्यक्रमको आयोजना एमालेले गरे पनि कार्यक्रम विचार केन्द्रित नभई सबैको साझा कार्यक्रमका रुपमा आएको विभाग प्रमुख पोखरेलको भनाई छ । सबैको सहकार्य र समन्वयमा कार्यक्रम गर्न लागिएको उनले बताए।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


