सहारा नेपाल : सहकारी अभियन्ता प्रधानांग र पत्रकार न्यौपाने पुरस्कृत


बिर्तामोड । चारपाने प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एक लाख एक हजार नगदराशीको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ सहकारी विज्ञ कैलाशभक्त प्रधानांगलाई प्रदान गरेको छ । आज बिर्तामोडमा भव्यरुपमा सम्पन्न सहाराको २७ औँ वार्षिक साधारण सभामा यसवर्ष नेपाल बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष समेत रहेका भक्तपुर निवासी प्रधानांगलाई सो राशीको पुरस्कार प्रदान गरिएको हो ।

सो पुरस्कार हरेक दुई वर्षमा सहाराले प्रदान गर्दै आएको छ । यसअघि लघुवित्त विज्ञ शंकरमान श्रेष्ठ र सहकारी अभियन्ता केशव बडाल उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

यसैगरी ‘सहारा पत्रकारिता पुरस्कार’ बाट एभिन्युज टेलिभिजनका झापा सम्वाददाता सन्तोष न्यौपाने सम्मानित भएका छन् । उनले २५ हजार राशीको पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा सम्मानित सहकारी विज्ञ प्रधानांगले एक–दुईवटा खराव सहकारीका कारण अहिले सहकारीमा विकृति बढेको दावी गरे ।

कार्यक्रमका प्रमुख अतिथि संघिय संसदका सभामुख देवराज घिमिरेले असहायहरुका लागि वरदान सावित भएको भन्दै सहाराको प्रशंसा गरेका थिए । उनले भारतमा अमुल कम्पनीले अर्थतन्त्रमा प्रभाव राख्छ, त्यसरी नै नेपालमा सहारा नेपालले काम गर्दै गएको बताए । कार्यक्रममा नेस्फुनका केन्द्रीय सञ्चालक सदस्य घनश्याम अधिकारी, जिल्ला सहकारी संघ झापा अध्यक्ष गणेश ढकाल, नेपाल रेडक्रस सोसाइटी झापा सभापति लोकराज ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहारा नेपाल साकोसका अध्यक्ष हरि राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केशव भट्टराईले गरेका थिए ।