अझै भेटिएनन् पाँच दिनअघि बेपत्ता बुद्धशान्तिका सुहाङ्ग


बुद्धशान्ति । भ्रष्टाचारका विषयमा सामाजिक सञ्जालमा लेखेका एक युवक पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् । झापाको बुद्धशान्ति गाउँपालिका– ४ मा ३३ वर्षीय शेरबहादुर सुहाङ्ग वैशाख ३१ गते रातिदेखि बेपत्ता भएका हुन् । उनका बुबा खम्बबहादुरले छोराको खोजी गरिदिन इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिएका छन् । तर प्रहरीले उनलाई भेटेको छैन ।

बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा नेपाल विद्यार्थी संघ र तरुण दलले भ्रष्टाचारको विरोधमा र्‍याली निकालेको थियो । सोही र्‍यालीको समर्थनमा उनले फेसबुकमा स्टाटस लेखेका थिए । स्टाटस लेखेको विरोधमा बैशाख ३१ गते राति ८/९ जनाको समूहले हत्या गर्ने धम्कीसहित उनको घर पुगेको थियो ।

स्थानीय दिलकुमार लावाङ (करण), नवराज लिम्बू, शुक्रराज लिम्बु र सुमन लिम्बूसहित ८/९ जनाको टोलीले राति साढे ११ बजे उनको घर घेरेर ढुंगामुढा गरेको बाबु खम्बबहादुरले बताएका छन् । खम्बबहादुरलाई ‘छोरा निकाल मार्छु’ भन्दै ८/९ जनाको समूहले धम्की पनि दिएको थियो । आफ्नो घर घेराउ हुँदा शेरबहादुर भने साथी कुलबहादुर गौतमसँग बाहिर थिए । खोजी गर्दै घरमा पुगेको टोलीले उनलाई नभेटेपछि घर तोडफोड गरी फर्किएको खम्बबहादुरले प्रहरीलाई दिएको निवेदनमा उल्लेख गरेका छन् । सोही रातदेखि बेपत्ता भएका सुहाङ्ग अझै नभेटिएका हुन् ।

उनले प्रयोग गर्ने मोटरसाइकल घरदेखि केही पर खानीगौडा झोलुङ्गे पुलमा चावबीसहित वेवारिसे अवस्थामा भेटिएको छ । प्रहरीले बाइक भेटिएको स्थान नजिकै उनले लगाएको टि–सर्ट र घडी पनि भेटेको छ ।

प्रहरीले आक्रमणका लागि उनको घरमा पुगेको समूह र राति उनीसँग गएका गौतमसँग सोधपुछ गरिरहेको छ । मोटरसाइकल, घडी र लगाएको कपडा भेटेका कारण आक्रमण गरी उनलाई बेपत्ता पारेको हुनसक्ने आशंकामा खोजी तिब्र बनाइएको प्रहरीले बताएकोे छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बेपत्ता भएका व्यक्तिको खोजी भइरहेको बताए । प्रहरीको टोली शेरबहादुरको खोजीमा जुटेको बताउँदै उनले भने ‘शंकास्पद व्यक्तिलाई ल्याएर अनुसन्धान गरिरहेका छौं ।’ (अनलाइन खबरवाट)