हेल्दुबारीका स्थानीय गठबन्धनको भरोसामा


मेचीनगर । मेचीनगर–१५ को हेल्दुबारीका स्थानीयले उम्मेद्वारसँग स्वास्थ्य चौकी स्थापनाको माग गरेका छन् ।
बुधबार घरदैलो अभियानका क्रममा त्यहाँ पुगेका लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङसमक्ष स्थानीयले स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । ‘मेचीनगरको हेल्दुबारी विकासमा पछि परेको छ,’ स्थानीय वृखलाल राजवंशीले भने, ‘यसका लागि गठबन्धनका उम्मेद्वारसँग समस्या राखेका छौँ, उहाँले पहल गरिदिने वाचा हामीसँग गर्नु भएको छ ।’ उनले विगतमा जितेर गएका उम्मेद्वार फर्केर नआएकाले यसपाली गठबन्धनलाई भोट दिएर जिताउने बताए ।
स्थानीयका मागलाई आफूले गम्भीर रुपमा लिएको बताउँदै प्रदेशका उम्मेद्वार तामाङले जितेर गएपछि यस क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर योजना बनाउने बताए । साविक ज्यामिगरगढी गाविस हाल मेचीनगर–१५ वडाको विकासको खाका बनाएर तत्कालै स्वास्थ्य, शिक्षा, रोजगारीसँगै सुकुम्बासी समुदायको उत्थानका लागि कार्यक्रम ल्याइने उनले बताए ।
घरदैलो अभियानका क्रममा उम्मेद्वार तामाङले निलकोठी, लालझोडा, खवास गाउँ, गाइनबारी, रघुविरबारीका मतदाताको गुनासो सुनेका थिए । अभियानमा काँग्रेस नेता ताराविर कटुवाल, दुर्गा खतिवडा लगायतका गठबन्धनका नेता तथा कार्यकर्ताले साथ दिएका थिए ।
यस्तै, मेचीनगर–१० धुलाबारी क्षेत्रमा बुधबार नै प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङले मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटका क्रममा मतदाताले उम्मेद्वार तामाङसँग भरोसा गरेको बताएका छन् । मेचीनगर–१० को निन्दा बस्ती, धुलाबारी बजार, टिकापुर लगायतका क्षेत्रमा नेताहरु विना तामाङ, चन्द्र तिवारीले गठबन्धनका उम्मेद्वारलाई जिताउन घरदैलो गरेका हुन् ।
यस्तै, झापा क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेद्वार विश्वप्रकाश शर्मा र प्रदेश ‘ख’ का उम्मेद्वार श्यामविर लिम्बूले भद्रपुर–१०, मेचीनगर–१४, मेचीनगर–१०, मेचीनगर–९, मेचीनगर–११ का मतदातासँग भेटघाट गरेका छन् । भद्रपुर–१० मा उम्मेद्वारसँगै नेपाली काँग्रेसका पूर्व जिल्ला उपसभापति राम कट्टेल, मीरा अधिकारी, ज्ञानु चौहान, विष्णु काफ्ले, नरेश सन्जेल, भरतसिंह राजवंशीले मतदातासँग भेटघाट गरेका हुन् ।
त्यस क्रममा मतदाताले विश्वप्रकाश शर्मा जस्ता आशालाग्दा युवालाई जिताएरै छाड्ने बताए । सँगै परिवर्तनको पक्षमा संघर्ष गरेका लिम्बूसहितको गठबन्धन दलका उम्मेद्वालाई साथ दिने वचन दिएका छन् ।