जनताले चाहे जस्तै विकासको लहर ल्याउँछु : सबिना बजगाई


दुहागढी । झापा–१ को प्रदेश–१ मा प्रदेश सांसद्की उम्मेद्वार सबिना बजगाईले अब जनताले चाहेजस्तो विकासको लहर ल्याउने बताएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हलो चुनाव चिह्न लिएर उम्मेद्वार बनेकी उनलाई सो क्षेत्रमा एक्लै जित्नलायक जनमत भएको नेकपा एमालेले सघाउँदैछ ।

आज विहान मेचीनगर–१४ को रंगिया बस्तीमा मत माग्दै घरदैलोमा पुगेकी बजगाईसमक्ष स्थानीयबासीले आफ्नो गाउँको सडक कालोपत्रे नभएको लगायतका समस्या सुनाएका थिए ।

‘तपाईहरुकी गाउँकी छोरी हुँ, यहाँको सडकलाई कालोपत्रे गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ’–उनले स्थानीयबासीसमक्ष प्रतिवद्धता व्यक्त गरेकी छन् ।

 

सरल र शालीन स्वाभावकी बजगाई दुहागढी निवासी हुन् । उनले गाउँका समस्याहरु बारे आफु अवगत रहेको हुँदा प्रदेश सांसद् बनेपछि कहाँ कसरी विकास गर्नुपर्ने भन्ने विषयमा सहज हुने स्थानीयबासीलाई आश्वस्त बनाइन् ।

स्थानीय ८० वर्षीय देबजित चौहानले नागरडुब्बाबाट दक्षिण जाने सडकहरुमा ध्यान दिन आवश्यक रहेको बताउँदै कच्ची सडकका कारण धुलो खानु परेको गुनासो सुनाए । उम्मेद्वार बजगाईले आफ्नो गाउँको विकासमा ध्यान दिनेमा आफु आश्वस्त भएको चौहानले बताएका छन् ।

घरदैलो कार्यक्रमको नेतृत्व नेकपा एमालेका केन्द्रीय सल्लाहकार विष्णु प्रसाईले गरिरहेका छन् । प्रसाईले नेकपा एमालेको एक्लै बहुमत रहेको यस क्षेत्रमा राप्रपालाई एमालेका समर्थन रहेको हुँदा सबिना बजगाईको जित सुनिश्चित रहेको बताए ।