झापा क्षेत्र १ : गठबन्धन हुँदा पनि एमाले पहिलो


झापा । स्थानीय तह निर्वाचनको मतले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई प्रतिनिधि सभा निर्वाचन विजय हासिल गर्न सहज वातावरण देखाउँदैन । शर्माको निर्वाचन क्षेत्र झापा १ मा मेचीनगर नगरपालिकाको सबै वडा, भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १० तथा बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ नम्बर वडा पर्दछ ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले शर्माको निर्वाचन क्षेत्रमा एमालेलाई पहिलो पार्टीको रूपमा मत आएको छ । शर्मामाथि आफ्नै गृह पालिका मेचीनगरमा पनि कांग्रेसलाई जिताउन नसकेको आरोप छ । अन्तिम समयमा टिकट खोसेर आफ्नो टिमको उमेदवारलाई दिलाउन सफल भए पनि उनले चुनाव भने जिताउन सकेनन् ।

वडा अध्यक्षले पाएको मत जोड्दा शर्माको पार्टीले गृह नगरमा २० हजार १४६ मत पाएको छ । जबकी एमालेले २४ हजार ६३६ मत ल्याउँदा माओवादीसँग ३ हजार ४७५ मत छ । यता राप्रपासहित अन्य दलहरूले ५ हजार ३३३ मत ल्याएका छन् । यहाँ स्वतन्त्र उमेदवारले १ हजार ८७८ मत ल्याएका छन् ।

यस्तै शर्माकै निर्वाचन क्षेत्रमा पर्ने बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४, ५, ६ र ७ बाट उनको पार्टीलाई ४ हजार १६५ मत आएको देखिन्छ । एमालेले भने ३ हजार ७४६ मत ल्याउँदा माओवादीसँग ३५४ मत मात्र छ । शर्माको निर्वाचन क्षेत्रमा पर्ने भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १० बाट शर्माको पार्टी कांग्रेसले १ हजार १७१ मत ल्याउँदा एमालेले भने २ हजार ८४१ र नेकपा (एकिकृत समाजवादी) ले ७८६ मत ल्याएको छ ।

झापा क्षेत्र नम्बर १ मा गएको स्थानीय तह निर्वाचनबाट वडागत हिसाव गर्दा कांग्रेससँग २५ हजार ४८२ मत देखिन्छ । यस्तै एमालेसँग ३१ हजार २२० मत छ । नेकपा (माओवादी केन्द्र) सँग ३ हजार ४७५ मत छ भने नेकपा (एकिकृत) १ हजार २३७, लोकतान्त्रिक समाजवादी पार्टीसँग १४३ तथा जनता समाजवादी पार्टीसँग ६९ मत छ । शर्माको निर्वाचन क्षेत्रमा राप्रपालगायत अन्य दलसँग ७ हजार ७८९ मत छ भने स्वतन्त्र उमेदवारको मत ४ हजार २७ छ ।

दलहरू एक्लाएक्लै लड्ने हो भने झापा क्षेत्र नम्बर १ मा एमाले बलियो छ । स्थानीय तह निर्वाचनजस्तै सत्ता गठबन्धन भए पनि शर्मालाई जित्न कठिन देखिन्छ । वडागत मतलाई जोड्दा गठबन्धनसँग ३० हजार २६३ मत हुन आउँछ । जबकी यो मत एमालेभन्दा ९७५ ले कम हो । यहाँ शर्मालाई जिताउन राप्रपालगायत साना दल र स्वतन्त्र उमेदवारलाई आएको मत निर्णायक हुनेछ । शर्माले गठबन्धन र राप्रपालगायत अन्य दलको मत लिन सके जित निश्चित छ । यस्तै स्वतन्त्र उमेदवारसँग पनि ४ हजार २७ मत छ ।

तर, राप्रपाले यहाँ कांग्रेसलाई मत दिन्छ या दिँदैन भन्ने निर्णय झापा ३ र झापा ५ को गठबन्धनमा पनि भर पर्छ । क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई एमालेले सहयोग गरे झापा क्षेत्र नम्बर ५ र क्षेत्र नम्बर १ मा राप्रपाको भोट एमालेलाई जाने निश्चित छ ।

२०७४ सालको निर्वाचनमा पनि झापामा वाम गठबन्धनमा राप्रपा पनि मिसिएकाले शर्मा र सिटौला र झापा क्षेत्र नम्बर २ मा उद्धव थापा कांग्रेसबाट पराजित हुनुपरेको थियो । ०७४ मा राम कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्माले ३३ हजार ३१० मत ल्याएका थिए । यसअघि उक्त निर्वाचन क्षेत्र माओवादीले जितेको हुँदा त्यहाँ कांग्रेस उमेदवारले टिकट पाउँछन् या पाउँदैनन् भन्ने चुनौती भने कायमै छ ।

त्यसैले गठबन्धनबाट सम्भावित उम्मेद्वार राम कार्की हुनेछन् । एमालेको भोटले अघिल्लो चुनावमा विश्वप्रकाशलाई जितेका उनले उनै विश्वप्रकाशको भोटले रबिन कोईरालालाई हराउनु पर्ने छ, तर त्यो कठिन छ । माओवादीले आफ्नो दावि छाडेर झापाको अन्य क्षेत्रमा दावि गर्दा भने झापा १ मा विश्वप्रकाश नै उम्मेद्वार हुनेछन र त्यहा उनले ०७० सालमा आफैलाई पराजित गराएका रबिन कोईरालासँग भिड्नु पर्ने छ ।

झापामा एमाले र राप्रपा गठबन्धन गर्ने चरणमा छलफल भईरहेको स्रोतले जनाएको छ । यसो भएमा झापा १ मा राप्रपाको भोटले एमालेको जित अझ सुनिश्चित देखिन्छ ।