मेचीनगरलाई शिक्षासँग जोडेर हेर्दा


सामान्य पृष्ठभूमिः
मानव समाजको सबैभन्दा सानो इकाइ व्यक्ति हो र विश्व ब्रम्हान्ड सबैभन्दा ठुलो मानव समाज हो । दुई वा दुई भन्दा बढी व्यक्ति मिलेर बनेको संगठन परिवार हो । समुदाय, समाजलगायत विभिन्न संरचनागत संगठनहरु, देश महादेश हुँदै विश्वजगतसम्म समाजको विस्तार हुन्छ । व्यक्तिले आफुलाई सकारात्मक परिवर्तन गर्छ, प्रगतिशील रुपान्तरण गर्छ र आफुलाई निर्माण गर्दछ । यसरी व्यक्तिले आफुलाई परिवर्तन एवं रुपान्तरण गर्न समाज र संगठनका विभिन्न गतिविधिहरुमा भाग लिन्छ । कहिले औपचारिक रुपमा सहभागी हुन्छ त कहिले अनौपचारिक रुपमा गतिविधि गर्छ । जसरी परिवार, समुदाय, समाज राज्य सञ्चालनका संरचनाहरु लगायतका संगठनहरुमा हुने अनौपचारिक गतिविधिहरुमा व्यक्ति संलग्न हुन्छ, त्यसैगरी स्कुल लगायतका औपचारिक संगठनहरुका गतिविधिहरुमा व्यक्तिको प्रत्यक्ष सहभागिता रहन्छ ।
परिवारमा अनुभवी अग्रजहरु, समुदाय एवं समाजका धामी झाँक्री, हात तथा ग्रहदशा हेर्ने ज्योतिषहरु, पुजारीहरु, विभिन्न संगठनात्मक नेतृत्वहरु, तालिम केन्द्रका प्रशिक्षकहरु, संचार क्षेत्रहरु आदिले चलाएका अनौपचारिक गतिविधिहरुमा सहभागी भएर मानिसले ज्ञान लिन्छ । सँगसंगै विद्यालयहरु, क्याम्पसहरु अनि विश्वविद्यालयहरुले चलाएका औपचारिक गतिविधिहरुमा व्यक्ति सहभागी भएर ज्ञान प्राप्त गर्छ, सामाजिक मूल्यमान्यता ग्रहण गर्दछ र प्राप्त गरेको ज्ञानलाई रुपान्तरण गर्दै समय सापेक्ष दक्षताको विकास गर्दछ । आनिबानी र स्वभावमा सकारात्मक र प्रगतिशील परिवर्तन गर्दछ, आफ्नो व्यवहारमा परिवर्तन गर्छ । व्यक्तिको जीवनका स्वस्थ्य, शैक्षिक, आर्थिक लगायतका आयामहरुमा सकारात्मक र प्रगतिशील परिवर्तन गर्न गराउन माथिका गतिविधिहरुले काम गरेको हुन्छ ।
यसरी व्यक्तिले केही न केही सिक्छ र सिक्ने प्रकृयालाई शिक्षा भनिन्छ । व्यक्तिको व्यवहारमा परिवर्तन ल्याउने प्रकृया शिक्षा हो । व्यक्तिको चारित्रिक गुणको निर्माण गर्ने प्रकृया शिक्षा हो । ज्ञान र सिप अनि दक्षताको विकास गर्दै व्यक्तिलाई जिम्मेवारी लिन सक्ने र लिएको जिम्मेवारी सम्हाल्न सक्ने बनाउने प्रकृया शिक्षा हो । व्यक्तिलाई समजदार बनाउने, विवेकशील र इमान्दार बनाउने, बफादार र उद्यमशील बनाउने, रचनात्मक र लगनशील बनाउने प्रकृया शिक्षा हो । आफ्नो वातावरणमा प्राप्त स्रोत र साधनको पहिचान, प्रयोग र परिचालन गरी व्यक्तिलाई गरिखान सक्ने बनाउने प्रकृया शिक्षा हो ।

डम्बर रुचाल, अध्यक्ष : प्याब्सन मेचीनगर

के हुँदै आयो त ?
मेचीनगरलाई शिक्षासँग जोडेर हेर्नु भन्दा पहिला नेपालमा शिक्षा के हुँदै आयो ? बुझ्न जरुरी छ । दक्षिण एसियाको खासगरी भारत र नेपालमा शिक्षाको औपचारिक र अनौपचारिक गतिविधिहरुलाई पूर्वीय दर्शनले गाइड गरेको पाइन्छ । नेपालको शिक्षालाई हेर्ने हो भने विद्यार्थीलाई भाग्यवादी, पुनः जन्मवादी, स्वर्ग र नर्कवादी बनाउँदै ल्याएको पाइन्छ । जसले समाजलाई पनि गाइड गर्यो । दया र भिक्षा लिने आदतको विकास गराइँदै आएबाट व्यक्तिलाई सृजनात्मक, मेहनती, साहसी ,उद्यमशील र युग हाँक्ने एक सफल मान्छे बन्न बनाउन नेपालको शिक्षा असफलप्राय भएको पाइन्छ । दैवी शक्ति, मनुवाद, दास मानसिक्ता, सामन्तवाद जस्ता मनोबिज्ञानले नेपालको शैक्षिक योजना गाइडेड हुँदै आएको कारण आजको अनुत्पादक र अवैज्ञानिक समाजको निर्माण भएको सत्य स्वीकार गर्नुपर्छ । यहाँ शिक्षाको ऐतिहासिक पक्ष खासै नकोट्याई मेचीनगर केन्द्रित बनाउन खोजिएको हुँदा शिक्षाको आधारभुत बिषय मात्र उठान गरिएको छ । व्यक्ति कस्तो बनाउने ? समाज कस्तो बनाउने ? राज्य कस्तो बनाउने ? भन्ने कुरा राज्यले आत्मासाथ गरेको राज्य सञ्चालनको नीतिगत दर्शनमा भर पर्दछ । देशको संविधान एवं कानुनले आत्मासाथ गरेको राजनीतिक दर्शनका आधारमा व्यक्ति र समाजलाई गाइड गर्ने शैक्षिक योजना बन्छ । हुनत राज्यले बिभिन्न कालखण्डमा शैक्षिक योजना परिवर्तन नगरेको होइन, तर त्यो वैज्ञानिक भने हुन नसकेको सत्य हामीसँग विदितै छ । खासगरी नेपालको राजनीतिक परिवर्तन हुनेक्रममा जब राज्य पुन संरचनाको बहस शुरु भयो तब वैज्ञानिक शिक्षाको बहस पनि बढी हुन थालेको पाइन्छ । विभिन्न समयको राजनीतिक परिवर्तनसँगै जब नेपाल पुनः संरचनामा गयो तब शिक्षामा आमुल परिवर्तनको मागको आवाज दन्किन थाल्यो । शिक्षा बैज्ञानिक हुनुपर्छ, शिक्षा व्यावहारिक हुनुपर्छ, शिक्षा गरिखान सक्ने किसिमको हुनुपर्छ, शिक्षाले मानवीय मूल्यमान्यता र पर्यावरणलाई सुरक्षित राख्न सक्ने किसिमको हुनुपर्छ भन्ने माग शुरु भएको पान्छ । रुढीवादी, भाग्यवादी, पूर्वजन्मको फलवादी, लेखान्तवादी शैक्षिक योजना र गतिविधिको बद्लामा सृजनात्मक, खोज अनुसन्धानमूलक, आत्मनिर्भर, उद्यमशील र उत्पादनमुखी शैक्षिक योजना र गतिविधि हुनुपर्ने माग घनीभूत रुपमा बढ्यो । जसले गर्दा देशको शैक्षिक योजनाको रुपमा लिइने पाठ्यक्रम परिवर्तन र परिमार्जन हुन थालेको पाइन्छ । शिक्षा पद्धती, शैक्षिक नीति नियमहरु, पाठ्यपुस्तकहरु, शिक्षण विधिहरु, मूल्यांकन विधिहरु परिमार्जन र परिवर्तन हुन थालेको पाइन्छ । राज्यले राष्ट्र शैक्षिक योजनाको रुपमा राष्ट्र पाठ्यक्रम परिमार्जन गर्दै निर्माण गरिरहेको अवस्था छ । राज्य पुनरसंरचना अनुुसार तीन तहको सरकार बनेसँगै स्थानीय तहको सरकारलाई माध्यमिक तहसम्मको शिक्षा हेर्ने संबैधानिक अधिकार दिएपछि स्थानीय तहमा आवश्यक स्थानीय शैक्षिक योजनाको रुपमा स्थानीय पाठ्यक्रम निर्माण गर्ने अधिकार छ । संघीय शिक्षा ऐनसँग नबाझ्ने गरी स्थानीय शिक्षा ऐन तथा नियमावली बनाउने अधिकार समेत छ । स्थानीय सरकारको नीति तथा कार्यक्रम र संघीय शिक्षा ऐन तथा नियमावलीका आधारमा स्थानीय सरकारले आफ्नो पालिकाको शैक्षिक योजना निर्माण गर्ने अधिकार छ ।

अब हुनुपर्ने के त ?
भोलिका दिनमा जुनसुकै र जतिसुकै तहको सरकार होस् मेचीनगर नगरपालिका स्थानीय सरकारको संरचनाको रुपमा रहिरहन्छ । व्यवस्था परिवर्तन होस् नहोस्, स्थानीय सरकार अधिकार प्राप्त इकाइको रुपमा रहने निश्चित प्राय छ । त्यसैले मेचीनगर नगर सरकारले आफ्नो पालिकामा सञ्चालित स्कुलहरुलाई भौतिक रुपले रुपान्तरण गर्न आवश्यक छ ।
आर्थिक रुपले सहजीकरण गर्ने किसिमको नीति तथा कार्यक्रम निर्माण गर्न आवश्यक छ । शैक्षिक व्यवस्थापन र जनशक्ति व्यवस्थापनलाई क्रियाशील बनाउन बृहत छलफल चलाउन आवश्यक देखिन्छ । शैक्षिक क्षेत्रको भौतिक रुपान्तरण भन्दा भवन निर्माण, पर्खाल निर्माण मात्र बुझ्ने हो भने त्यो बैज्ञानिक नहुन सक्छ । हरेक स्कुल भित्रका भौतिक संरचनाले के को नेतृत्व गर्छ ? ती संरचनाहरुले व्यक्ति र समाजको मनस्थितिलाई कस्तो बनाउछ ? के ती निर्मित भौतिक संरचनाहरुले व्यक्ति र समाजलाई वैज्ञानिक बनाउन दिशाबोध गर्छ ? यी विषयहरुलाई दिगो विकासको अवधारणा भित्र राखेर छलफल गरी भौतिक संरचनाहरु निर्माण गर्नुपर्छ, भएकालाई पुनर्निर्माण गर्नुपर्छ, रुपान्तरण गर्नुपर्छ भन्ने मनोविज्ञान तीब्र गतिमा विकास भइरहेको कुरालाई नजरअन्दाज गर्नु बेठिक हुन्छ । मेचीनगर नगरपालिकाको समाजमा सञ्चालित सबैखाले शैक्षिक क्षेत्रहरुलाई अब कसरी गाइड गर्नु पर्ला त भन्ने बारेमा केही बिषयहरु बुँदागत रुपमा उल्लेख गरिएको छ ।
१) शैक्षिक क्षेत्रलाई कसैको भागबण्डा भित्र नराखी स्वतन्त्र रुपले जनशक्ति उत्पादन गर्ने उद्योगको रुपमा लिनुपर्छ ।
२) नगर क्षेत्र भित्रका सबैखाले शैक्षिक संस्थाहरु राज्यले स्थापना गरेका शैक्षिक संस्थाहरु हुन भन्ने स्पष्ट सन्देश प्रवाह गर्नुपर्छ । शैक्षिक उद्देश्यको मनोविज्ञानलाई नकारात्मक असर गर्ने, शैक्षिक क्षेत्र भित्रका भाषागत सामन्तबाद अन्त्य गर्न क्रियाशील हुन आवश्यक छ ।
३) सबैखाले शैक्षिक संस्थाहरुलाई मेचीनगरको भूगोल सुहाउँदो हुनेगरी समाजका सबै आयामहरुको साझा थलोको रुपमा रुपान्तरण, निर्माण एवं पुनर्निर्माण गर्न ढिला गर्नु हुन्न ।
४) मेचीनगरको भूबनोट, सामाजिक बनोट, जनशक्ति र जनसंख्याको बनोट, आर्थिक सम्भावना आदिका आधारमा वैज्ञानिक शैक्षिक योजना निर्माण गर्न कन्जुस्याइँ गर्नु हुन्न ।
५) मेचीनगरको शैक्षिक नीति तथा कार्यक्रमले व्यक्तिलाई भाग्यवादी बनाउँदैछ वा वैज्ञानिक, उद्यमशील र सृजनशील बनाउँदैछ भन्नेबारेमा नगर सरकार चनाखो हुनुपर्छ ।
६) शैक्षिक संस्थालाई आवश्यक जनशक्ति व्यवस्थापन, भागबण्डामुखी बनाउनु हुन्न, सर्टिफिकेटमुखी मात्र पनि बनाउनु हुन्न । बदलामा सर्टिफिकेटसहित सीप, जाँगर, सृजनासहितको दक्ष जनशक्तिलाई प्रयोग र परिचालन गर्नुपर्छ ।
७) शैक्षिक संस्थाहरुलाई राजनीतिक गतिविधिको अभ्यास गर्ने क्रिडास्थल बन्न दिनु भन्दा उद्यम र उत्पादनका गतिविधि गर्ने केन्द्रको रुपमा विकास गर्नुपर्छ ।
८) शैक्षिक संस्थाहरु जनशक्ति भर्ती केन्द्रमात्र बन्नु हुन्न ।
९) शैक्षिक संस्थाहरु विद्यार्थी भर्ती केन्द्र मात्र पनि बनाउनु हुन्न ।
१०) शैक्षिक संस्थाहरुमा एउटा कक्षा कोठामा सकेसम्म कम विद्यार्थी, करिब २२ देखि ३० जना भन्दा बढी नराखी सिकाउने, तालिम दिने, प्रशिक्षण गर्ने नीति लिनु पर्छ । यसो गर्दा हुन्छ के त भन्दा, सबै विद्यार्थीलाई बराबर शैक्षिक उपचार गर्न सकिन्छ र कोही कमजोर त कोही सबल हुने अवस्था बन्दैन । शैक्षिक उपचारको अवसरबाट बञ्चित भई कोही बिग्रने र कोही सप्रने सम्भावना कम रहन्छ ।
११) शैक्षिक संस्थाहरुले व्यवस्थापन गर्न सक्ने जतिमात्र विद्यार्थी भर्ना गर्ने नीति लिन सके सबै विद्यार्थीलाई समान ढंगबाट उपचार गर्न सकिन्छ भन्ने कुरामा सकारात्मक हुन आवश्यक छ ।
१२) मेचीनगर भित्र स्थापित र सञ्चालित स्कुलहरु खाद्य संस्कारको गम्भीर चपेटामा परी अस्तव्यस्त भएको अवस्था छ । यसका लागि नगर सरकारले विद्यार्थीको खाद्य संस्कार बिगार्ने सबै किसिमका सामाजिक गतिविधिहरुलाई नियन्त्रण गर्ने नीति लिन ढिला गर्नु हुन्न ।
१३) नगर भित्रका स्कुहरुमा भेला भएका विद्यार्थीहरु प्रविधिको प्रदूषणमा भएको कुरालाई पहिचान गरी विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी अभिमुखीकरण कार्यक्रम ल्याउन ढिला गर्नु हुन्न भन्ने माग पनि बढेको छ ।
१४) नगर सरकारले विज्ञान र प्रविधिको नियन्त्रित र व्यवस्थित प्रयोग गर्दै अब ‘बुकलेस’ शिक्षण विधिमा जान अभ्यास गर्नुपर्छ ।
१५) राज्यद्वारा स्थापित कुनै पनि स्कुलहरुलाई नगर सरकारले गाली गर्नु हुन्न, गाली गर्न दिनु हुन्न, सबैलाई सहजीकरण गर्दै जनशक्ति उत्पादन गर्ने शैक्षिक नीति लिन ढुलमुल गर्नु हुन्न ।
१६) नगर क्षेत्र भित्रका जुनसुकै स्कुलहरुमा सिक्न जाने विद्यार्थीलाई आफ्नो सम्पत्ती ठान्नु पर्छ र यो स्कुल पढ्ने र त्यो स्कुल पढ्ने भनी विभेद गर्ने नीति लिनु हुन्न ।
१७) नगर सरकारले वितरण गर्ने आधारभूत सेवासुविधा नगर क्षेत्र भित्रका सबै बिद्यार्थीहरु र शिक्षक कर्मचारीहरुलाई विना विभेद वितरण गर्नुपर्छ ।
१८) सम्मानजनक विकल्पको व्यवस्थापन नभएसम्म राज्यद्वारा स्थापित शैक्षिक संस्था र सञ्चालकहरुलाई कुनै राजनीतिक दर्शनका आधारमा अपमान गर्नु न्यायोचित हुँदैन ।
१९) स्कुलहरुको दैनिक कार्यक्रम र व्यवस्थापन गर्ने अधिकारलाई स्वायत्त बनाउँदै लानु पर्छ ।
२०) नगर भित्र सञ्चालित स्कुलहरु नीजि र सार्वजनिक भएकाले नीजिलाई सहजीकरण गर्ने विभाग र सार्वजनिकलाई सहजीकरण गर्ने विभाग भरसक अलग–अलग बनाउनु पर्छ । र, नगरको शैक्षिक छलफल, योजना निर्माण, कार्यान्वयन र निरीक्षण गर्न निर्माण गरिने समिति, उपसमिति, संयन्त्रहरुमा सरोकारवालाहरुको बराबर सहभागिता गराउने नीति लिन आवश्यक छ ।
२१) शैक्षिक उपलब्धीको मूल्यांकन विधि परम्परागत छ । परिमार्जन गरी निर्माणात्मक बनाउन ढिला गर्नु हुन्न ।
२२) मेचीनगरमा विज्ञान र प्रविधि निमार्ण गर्ने र शैक्षिक म्यूजियम निर्माण गरी नगरभित्रका कला र संस्कृतिको संरक्षण सम्बद्र्धन गर्न नगर गौरव प्रोजेक्ट लञ्च गर्नुपर्छ ।
२३) नगरको जम्मा बजेटको सबैभन्दा बढी खर्च नगर शिक्षाको विकासका लागि छुट्याउनु पर्छ र मनिटरिङ गर्नुपर्छ ।
२४) शैक्षिक योजना निर्माण गर्दा नगरवासीको औसत आयु बढाउने, जसलाई नगरवासीको स्वास्थ्यको स्तरका रुपमा लिन सकिन्छ, त्यसैगरी नगरवासीको प्रतिव्यक्ति आय बढाउने र साक्षारता दर वृद्धि गर्ने कुरमा केन्द्रित हुनुपर्छ ।
समग्रमा नगर सरकार, नगर भित्रका शैक्षिक सरोकारवालाहरुको अभिभावक हो, सहजकर्ता हो, हल्कारा हो । त्यसैले शैक्षिक क्षेत्रमा क्रियाशील शिक्षाकर्मीहरु, खास सरोकारवालाबाट शैक्षिक योजना माग गरी सोही बमोजिम सहजीकरण गर्ने नीति तथा कार्यक्रम नगर सरकारले लिन सके नगर सरकारको शैक्षिक उद्देश्य पूरा गर्न सबै क्रियाशील हुने देखिन्छ ।