‘मलाई जित्न पुग्ने मत आउँछ’


मेचीनगर । नेकपा एकीकृत समाजवादीका तर्फबाट झापाको मेचीनगर नगरपालिकाको उपप्रमुखको उम्मेद्वार रहेकी शारदा शर्मा घिमिरेले आफुले चुनाव जित्ने दाबी गरेकी छन् । नेकपा एसकी केन्द्रिय सदस्यसमेत रहेकी घिमिरेले आफु लामो समय शिक्षण पेशामा आबद्ध भएको र मेचीनगरका सबै जसो भुगोलमा परिचित रहेका कारणले पनि आफुले चुनाव जित्ने दाबी गरेकी हुन् ।

‘मेरो पुरानो घर मेचीनगर–४ को आमडाँगी हो,’ घिमिरेले भनिन्,–‘मेचीनगर–२ को भानु माविमा ७ बर्ष शिक्षक भएर काम गरे । त्यस पछि मेचीनगर–१३ को शहिद दशरथचन्द माविमा २५ बर्ष शिक्षकका रुपमा बिताएको छु । अहिले हाम्रो बसाई मेचीनगर–१० धुलाबारीमा छ त्यसैले नगरका सबै भुगोल मेरो लागि नौलो छैन ।’

शिक्षक भित्र पनि पेशागत राजनितिमा सक्रिय रहेकै कारण आम मानिसको समस्यासँग जानकार रहेको र नगर उपप्रमुख भएर जनताको सारोगारोमा सघाउन सक्ने योजना आफुसँग रहेका कारण पनि आफुलाई नगरबासीले मतदान गर्नेमा आफु ढुक्क रहेको घिमिरेले बताइन् ।

‘सहकारी प्रशिक्षकको रुपमा पनि काम गरिरहेको छु,’ उनले भनिन्,–‘आफ्नै नेतृत्वमा सहकारी संस्था चलाएर त्यसमार्फत मानिसको स्वास्थ्यलाई केन्द्रमा राखेर अर्गानिक तोरीको तेल उत्पादन गरिरहेका छौं, म हरेक क्षेत्रबाट प्रत्यक्ष नगरबासीसंग जोडिएको छु । त्यसैले मलाई जित्न पुग्ने मत आउँछ ।’
स्थानीय सरकार बलियो भयो भने मात्रै जनताको साथि बन्न सक्ने भन्दै उपप्रमुखका उम्मेद्वार घिमिरेले आफु सेवा गर्न स्थानीय सरकारमा जान लागेको बताइन् । ‘म शासक बन्न होईन सेवक बन्न चुनावी मैदानमा छु’ घिमिरेले भनिन्, ‘नगरबासीको मतको सुरक्षा र सम्मान गर्छु र पुरा अवधी सेवामा नै तल्लीन हुन्छु ।’
पार्टी निर्माणको अभियानमा रहेको बताउँदै घिमिरेले सबै नगरबासीलाई नेकपा एसको घोषणा पत्र अध्ययन गरिदिन आव्हान समेत गरिन् । ‘हामी जे भन्छौं त्यही मात्रै गर्छौ,’ उनले भनिन्, ‘मान्छे कस्तो हो भन्नेकुरा व्यवहार र अध्ययनले मात्रै देखिने भएकाले नगरमा अन्य दलबाट उम्मेद्वारहरुको बारेमा नगरबासी राम्रो जानकार छन् ।’ जनताको मतको सम्मान गर्न नसक्नेलाई पटक पटक जनताले मत नदिने र आफुलाई यस पालि सेवा गर्ने मौका मेचीनगरबासीले दिने शर्माले बताइन् ।