मेचीनगरको होल्डिङ सेन्टर सञ्चालनमा आएन, संक्रमित सिधै घरतिर जान थाले


मेचीनगर ।  पूर्वी नाका काँकरभिट्टा हुँदै रुपन्देहीको सियारी गाउँपालिकाका २४ वर्षीय अजय राना नेपाल प्रवेश गरे । नाकामा राखिएको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो ।

प्रोटोकल अनुसार एन्टिजेन पोजेटिभ आएपछि शंकास्पद मानेर छुट्टै राख्दै पिसीआर जाँच गर्नुपर्ने थियो । तर, स्थानीय प्रशासनले रानालाई एम्बुलेन्स वा निजी गाडीमा रुपन्देही गएर थप जाँच गर्न निर्देशन दियो । सामान्य मजदूरी गरिरहेका रानासँग रुपन्देहीसम्म जाने खर्च थिएन । उनी भारततिरै फर्किए ।

राना जस्तै सुनसरीको इनरुवाका जनार्दन सुनुवारको पनि चार दिनअघि एन्टिजेन जाँच गर्दा पोजेटिभ रिपोर्ट आयो । उनलाई पनि स्थानीय प्रशासनले होल्ड गरेन । बरु गाडी रिजर्भ गरेर घर जान र त्यतै थप परीक्षण गर्न निर्देशन दियो । सुनुवार भन्छन्, ‘तीन दिनसम्म त घरमै आइसोलेसनमा बसेँ, तर कुनै लक्षण नदेखिएपछि बाहिर निस्किन थालिसकेको छु ।’

धनुषाको ढल्केबरका २१ वर्षीय राजेशकुमार झा बागडुग्रामा काम गर्थे । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्न थालेपछि उनी पनि स्वदेश फर्किए । काँकरभिट्टामा उनको एन्टिजेन जाँच पोजेटिभ आयो । तर, उनलाई न आइसोलेसनमा राखियो, न थप जाँच नै गरियो ।

‘प्रशासनले घर जान भन्यो, ७ हजार खर्च गरेर फर्किएँ,’ उनी भन्छन्, ‘बरु यहीँ राखिदिएको भए धेरै खर्च हुने थिएन, घरमा पनि डर हुने थिएन होला ।’ मुलुकभर सरकारले नेपाल-भारत सीमा क्षेत्रका ७ स्थानमा होल्डिङ सेन्टर बनाउने भनेको छ ।

मेचीनगरमा पनि नेपाली सेनाले भौतिक संरचना बनाइरहेको छ । तर, हालसम्म सञ्चालनमा नआउँदा एन्टिजेन जाँचमा पोजेटिभ देखिएका मजदुर महँगो खर्चमा घर फर्किन बाध्य भइरहेका छन् ।

‘चेकिङमै थामिनसक्नु भिड छ, सामाजिक दूरिको कुरै नगरौँ,’ बर्दियाको बुलरिया नगरपालिका-१ का ५८ वर्षीय बलबहादुर राना भन्छन्, ‘कोरोना नलागेकालाई पनि यहीँबाट सर्ला भन्ने जोखिम छ ।’ कोरोना संक्रमण बढेसँगै राना जस्तै रोजगारी, अध्ययन, उपचार लगायतको सिलसिलामा भारतमा गएका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् ।

नेपाल भारत सीमा मेची पुलबाट नेपालतर्फ आउनेको लर्के ।

पछिल्लो एक सातामा मात्रै काँकरभिट्टा नाकाबाट करिब १७ हजार नागरिक स्वदेश फर्किएका छन् । तीमध्ये ४९ जनामा कोरोना भाइरस पुष्टि भएको मेचीनगर नगरपालिका स्वास्थ्य शाखाकी अहेब दिब्या भट्टराई बताउँछिन् ।

काँकरभिट्टा नाकाबाट आउने कोरोना शंकास्पद मानिसहरुलाई मेचीनगर नगरपालिकाले हेल्थ डेस्क राखेर स्वास्थ्य परीक्षण गराउँदै आएको छ । तर, संक्रमण पुष्टि देखिएका व्यक्तिहरु कहाँ छन् भन्ने नगरपालिकालाई थाहा छैन ।

जनस्वास्थ्यविद्हरुका अनुसार नाकामा जाँचपछि संक्रमण देखिएकालाई पनि सिधै घर पठाउने गरिँदा गाउँगाउँमा संक्रमण फैलिने जोखिम बढ्दो छ ।

अहेब भट्टराई पनि परीक्षण पश्चात उनीहरुलाई होम आइसोलेसनमा बस्न सुझाव दिइँदै आएको स्वीकार्छिन् । घरमा पनि बसेरनबसेको निगरानी नहुँदा भने कोरोना पुष्टि भएका व्यक्ति खुलेआम हिँडिरहेका छन् । सीमा नाकाबाट आउने शंकास्पद व्यक्तिको जाँच र उपचारका लागि भन्दै सरकारले बनाउन थालेको होल्डिङ सेन्टर चाहिँ अझैसम्म बनिसकेको छैन ।

होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई छ । तर, महामारीको दोस्रो लहर सुरु हुँदा बनाउन थालिएको होल्डिङ सेन्टर तेस्रो लहर सुरु हुन लाग्दा पनि तयार भइसकेका छैनन् ।

मेचीनगर नगरपालिका-१४ दुहागढीस्थित हडिया खोलाको बगरमा निर्माणधिन होल्डिङ सेन्टर

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौड्याल बजेट अभाव र समयमा जग्गा प्राप्ति नहुँदा निर्माणमा केही ढिलाइ भएको बताउँछन् । उनी भन्छन्, ‘झापामा एक हजार जना अटाउने गरी बहुउपयोगी होल्डिङ सेन्टर निर्माणको काम ५० प्रतिशत सकिएको छ, काम तीब्र गतिमा भइरहेको छ ।’

मेचीनगर नगरपालिका-१४ दुहागढीस्थित हडिया खोलाको बगरमा गत आर्थिक वर्षको असारदेखि सेनाले होल्डिङ सेन्टर निर्माण थालेको थियो । सेनाको नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमरजंग थापाका अनुसार चार विगाह क्षेत्रफलमा २२ वटा छुट्टाछुट्टै पक्की भवन बनाएर होल्डिङ सेन्टर तयार भइरहेको छ । जसमा १४ वटामा क्वारेन्टिनसहित दुई वटा चिकित्सक र स्वाथ्यकर्मीले आवासको रुपमा प्रयोग गर्न सक्ने गरी डिजाइन गरिएको थापा बताउँछन् ।

झापास्थित सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० रमेश पाण्डे काँकरभिट्टा नाका मात्र होइन, खुला सीमाका कारण जिल्लाका हरेक सीमावर्ती क्षेत्रबाट संक्रमण भित्रिने जोखिम रहेको बताउँछन् । ‘खुला सीमाबाट आउजाउ गर्नेको तथ्यांक राख्दै कठिन छ,’ उनी भन्छन्, ‘यसमा स्थानीय तह र सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ ।’