मेचीनगरमा प्रस्तुत गरियो सचेतानामुलक सडक नाटक ‘प्याड’


सत्तिघट्टा । महिलाहरुमा हुने महिनावारी र अपनाउनु पर्ने आवश्यक सावधानीमा केन्द्रित रहेर कचहरी नाटक ‘प्याड’ प्रस्तुत गरिएको छ ।

परिवर्तन थिएटरसँगको समन्वयमा रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाले शनिबार मेचीनगर–७ सत्तिघट्टास्थित बरपिपल चोकमा कचहरी नाटक प्रस्तुत गरेको हो ।

नाटकमा खास गरेर किशोरीहरुमा हुने महिनावारी र सो अवधिमा अपनाउनु पर्ने आवश्यक सावधानीलाई देखाइएको थियो । महिनावारीको समयमा थप स्वस्थ र सुरक्षीत रहन कपडा नभई सेनिटरी प्याडको अनिवार्य प्रयोग गर्नु पर्नेमा जोड दिइएको थियो ।

अझै पनि कतिपय महिला तथा किशोरीहरुले महिनावारी हुँदा घरायसी कपडाको प्रयोग गरि रहेको अवस्थालाई नाटकमा वास्तविक चित्रण गरिएको थियो ।

परिवर्तन थिएटर काँकरभिट्टाको प्रस्तुती रहेको नाटकमा थिएटरका १० जना कलाकारको प्रशंसनीय अभिनय देखिएको थियो । नाटकमा कलाकार परीक्षा लिम्बू, अस्मित आचार्य, गगन क्षेत्री, अनिसा चाँपागाईं, कविता पौडेल, मृदुल दाहाल, लोमश पौडेल, रीजु कार्की, दीक्षा मरासिनी, मन्जु संग्रौलाको अभियन रहेको नाट्यकर्मी कविता नेपाल पोर्तेलले जानकारी दिइन् ।

ग्रामिण भेग त्यसमा पनि विशेष गरी चिया बगानमा काम गर्ने श्रमिकका घरका किशोरी तथा महिलाहरुले जीविकोपार्जनमै श्रम र आर्जन खर्च गर्न बाध्य हुने र सचेतनाको अभावका अझैपनि महिनावारीको समयमा प्याड नभई अस्वस्थ कपडा प्रयोग गरि रहेको पक्षलाई नाटकमा देखाइएको थियो ।

अन्धविश्वास, चेतनाको कमी साथै कतिपय परिवारमा श्रीमान मादक पदार्थ सेवनमा लाग्नाले आफ्ना छोरीहरुलाई प्याड खरिद गर्न नसक्ने अवस्थामा आमाहरु कसरी पुग्छन् भन्ने यथार्थ झल्काइएको थियो । महिनावारीको समयमा हेलचेक्र्याई गर्नाले भविष्यमा महिलाहरुमा पाठेघरको संक्रमण तथा क्यान्सर जस्ता घातक रोगहरुको सिकार बन्न महिलाहरु बाध्य हुने गरेको समस्यालाई देखाइएको थियो ।

कलाकारहरुले प्रस्तुत गरेको नाटकमा स्थानीय आमाहरु समेत स्वतःस्फूर्तरुपमा सहभागी बनेका थिए ।

रोट्रयाक्टका १२७ क्लबले शनिबार ९सेप्टेम्बर ११० का दिन विश्वभर कार्यक्रमको आयोजना गरेका छन् । सो अवसरमा क्लबका तर्फबाट दुई सय थान प्याडसमेत वितरण गरिएको थियो ।

क्लबकी सदस्य नियोनिका श्रेष्ठले स्वागत गरेको कार्यक्रममा सहजीकरण नाटककी सुत्रधार कविता नेपाल पोर्तेलले गरेकी थिइन् । रिजु कार्कीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष पुस्कर बस्नेतले गरेका थिए ।

कार्यक्रममा क्लबका सन् २०२०र०२१ का अध्यक्ष नितेशकुमार सिंह राजपुतलगायत क्लबका वर्तमान तथा पूर्व पदाधिकारीहरुको उपस्थिति थियो ।