खबरमञ्च साप्ताहिक : जस्तो नाम, उस्तै काम


छापा पत्रकारिताको दुनियाँमा आधा दशकदेखि अनवरत् रुपमा प्रकाशनमा आएको झापाको मेचीनगरबाट प्रकाशित साप्ताहिक पत्रिका खबरमञ्चले आजबाट पाचौँ वर्ष पुरा गरी छैठौँ वर्षमा प्रवेश गरेको छ । नेपाली पत्रकारिता क्षेत्र चौतर्फी अभाव र चुनौतिलाई सामना गर्दै व्यावसायिक सफलताका लागि अगाडि बढिरहेका बेला झापाको मेचीनगर–७ मा मुख्य कार्यालय रहेको खबरमञ्च साप्ताहिक छैठौँ वर्षमा प्रवेश गरेको जानकारी पाउँदा मलाई ज्यादै खुशी लागेको छ ।
सबैभन्दा पहिला म एउटा सञ्चारकर्मी भएका नाताले पत्रिकालाई शुभकामना व्यक्त गर्न चाहन्छु । किनकि हरेक सञ्चारकर्मीका लागि कुनै एउटा सञ्चारमाध्यमले सहजरुपमा सफलतापूर्वक आफ्नो यात्रा अघि बढाउनु यो भन्दा अरु कुनै सुखद समाचार हुनै सक्दैन । अनि त्यो भन्दा अरु ठूलो खुशी र उत्साह केही हुन सक्दैन सञ्चारकर्म गर्ने सञ्चारकर्मीहरुका लागि । जिल्ला प्रशासन कार्यालय झापामा २०७३÷२०७४ दर्ता नम्बर प्राप्त गरे लगत्तै २०७३ सालको पहिलो विहीबारबाट प्रकाशन आरम्भ गरेको यस पत्रिकाले अहिलेसम्म आफ्नो प्रकाशनलाई निरन्तरता दिदै हरेक पाठकहरुलाई समाचार सूचना प्रदान गर्दै आएको छ ।

मोफसलमा पत्रकारिता गर्नु र सञ्चार माध्यम सञ्चालन गर्नु आफैंमा चुनौतिपूर्ण भए पनि यो कठिन परिस्थितिमा अनेक आरोह अवरोह पार गर्दै मोफसलको सञ्चार माध्यमले सहजरुपमा छैठौँ वर्षमा प्रवेश गर्नुले पनि पत्रकारहरुमा खुशी र उमंग प्रदान गर्दछ । खबरमञ्च साप्ताहिक प्रकाशनको छैठौँ वर्ष प्रवेश गरेको सुखद सन्देशले धेरै खुशी लागेको छ । झापाको मेचीनगर–७ मा मुख्य कार्यालय रही सम्पादक प्रकाशक प्रकाश पौडेलबाट प्रकाशन हुँदै आएको खबरमञ्च साप्ताहिक पत्रिका साउन ७ गतेदेखि पाचौँ वर्ष पूरा गरी छैठौँ बर्षमा प्रवेश गरेको हो ।

मोफसलमा रहेर विभिन्न चुनौतिका बीच पत्रकारितालाई नियमित गरेका कारण पनि खबरमञ्च साप्ताहिक पत्रिकाको म खुलेरै उच्च प्रशंसा गर्दछु । विगत आधा दशकदेखि झापाको आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरणमा खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको छ । आगामी दिनमा झापालाई आधार क्षेत्र बनाएर सामाजिक उत्तरदायित्वका साथै आवाज विहीनको आवाजको रुपमा सदैव खबरमञ्च साप्ताहिक पत्रिका स्थापित हुनेमा म विश्वास व्यक्त गर्दछु । पत्रकारिताको माध्यमबाट यस पत्रिकाले समाजलाई सुसुचित गरेको छ । आगामी दिनमा जस्तोसुकै विषम परिस्थितिमा पनि पत्रिकाले आफ्नो व्यावसायिक धर्म निर्वाह गर्दै र विकृति विसंगतिलाई चिर्दै समाजको ऐनाको रुपमा भूमिका निर्वाह गरेर अघि बढन् सकोस् । म पत्रिकाको उत्तरोत्तर प्रगतिको शुभकामना गर्दछु । पत्रिका छैठौँ वसन्तमा प्रवेश गर्दै गर्दा पत्रकारितामा थप परिपक्व र अझै बढी जिम्मेवार बन्न सकोस् त्यसलाई पत्रकारिता मार्फत पत्रिकाले आगामी दिनहरूमा प्रमाणित गर्दै जान सकोस् ।

पत्रिका प्रकाशन गर्नु ठूलो कुरा होइन । सही, यथार्थ र तथ्यपरक समाचार सम्प्रेषणले मात्र ठूलो महत्व राख्दछ भन्ने मेरो बुझाइ हो । मोफसलमा दैनिक वा साप्ताहिक पत्रिका सञ्चालन गर्नु निक्कै चुनौतिपूर्ण काम हो । तर, खबरमञ्च साप्ताहिक पत्रिकाले यो चुनौति सहजै पार गर्दै छैठौँ वर्षको यात्रा तय गरेको छ । अहिलेको विषम परिस्थितिमा पनि पत्रिका प्रकाशनलाई निरन्तरता गर्ने आँट गर्नु चानचुने कुरा होइन । यो साहस र अग्रसरताका लागि प्रकाशजी र उहाँको टिमप्रति सम्मान प्रकट गर्दछु । प्रकाशनको छोटो अवधिमा पत्रिका छुट्टै पहिचान र परिचय स्थापित गर्दै अघि बढेको छ । झापा जिल्लामा साप्ताहिक पत्रिकाको संख्या निक्कै भए पनि धेरै नियमितरुपमा प्रकाशन भइरहेका छैनन् । तर, खबरमञ्च सप्तााहिकले पत्रकारिताको आफुलाई निरन्तरता दिइहेको छ ।


प्रविधिको विकाससँगै सञ्चार माध्यममा आएको प्रगतिले जनताका हक र अधिकार स्थापित गर्न सहज भएको छ । यसमा पनि खबर मञ्च साप्ताहिक पत्रिका अग्रमोर्चामा छ । प्रविधिको विकाससँगै अनलाइन संस्करण खबर मञ्च अनलाइनमार्फत पनि सूचना, समाचार सम्प्रेषण गर्दै आएको छ । अनलाइन पोर्टलमार्फत विश्वभरका पाठकमाझ आफ्नो पहुँच कायम गर्न सफल भएकोमा पनि म यस पत्रिकालाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।

पत्रकारितालाई समाजको ऐनाको रुपमा चित्रण गरिएको र यसले समाजको वास्तविकतालाई उजागर गर्दै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरालाई कसैले पनि भुल्न हुँदैन । समाज विकास र समृद्धिको अभियान पूरा गर्न राज्यको चौथो अंगका रुपमा लिइने सञ्चार जगतको भूमिका अझ महत्वपूर्ण हुने हुँदा यसमा खबरमञ्च साप्ताहिक पत्रिकाले एउटा इँटा थप्ने काम गरेको छ । यस पत्रिकाले आगामी दिनमा पनि स्वतन्त्र, निष्पक्ष र निर्भिक ढंगबाट सूचना सम्प्रेषणमा सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न सकोस् ।

आगामी दिनमा समेत आम पाठकमाझ तथ्यपरक सूचना, ज्ञान र मनोरञ्जन तथा देशको आर्थिक र सामाजिक विकासलाई समेत महत्वपूर्ण स्थान दिने अपेक्षासहित पत्रकारिताको आधारभूत सिद्धान्त एवम् पत्रकार आचारसंहिताको मूल मर्म बमोजिम सत्यतथ्य, वस्तुनिष्ठ, सन्तुलित, खोजमुलक समाचार सामाग्री सम्प्रेषण गरी राष्ट्र र समाजलाई गतिशील बनाउँदै लैजाने कार्यमा थप सफलता प्राप्त होस् । साथै, यस पत्रिकाले मुलुकको समग्र राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा अझ सशक्त ढंगले आफूलाई उभ्याउन सफल होस् । पत्रकारिताको मूल्य, मान्यता र सिद्धान्तलाई अंगीकार गर्दै भयरहित र निष्पक्ष रुपले समाजलाई सूचनाहरुको सम्प्रेषण गर्न खबरमञ्च साप्ताहिक पत्रिका अझ बढी जिम्मेवार हुनेछ भन्ने कुरामा मैले विश्वास लिएको छु ।

२०७३ सालबाट आफ्नो प्रकाशनको यात्रा शुरु गरेको खबरमञ्च साप्ताहिक पत्रिका छैठौँ वर्षमा प्रवेश गरेको यस खुशीका अवसरमा पत्रिकासँग आबद्ध प्रकाशक, सम्पादकीय टिम, कर्मचारी तथा सम्पूर्ण पाठक वर्गहरुलाई हार्दिक शुभकामना र पत्रिकाको सफलता र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
अध्यक्ष : प्रेस क्लब मेचीनगर