युवाको आन्दोलन :  टेन्डर खारेज नभए नगरसभा चल्न नदिने


झापा  । बिर्तामोड नगरपालिकाले निषेधाज्ञाको समयमा अपारदर्शी र प्रक्रिया नपुर्याई ठेक्का लगाएको भन्दै त्यस्ता ठेक्का खारेजलगायतका मागसहित स्थानीय जागरुक युवाहरुले आफ्ना माग संबोधन नभए नगरपरिषद चल्न नदिने बताएका छन् ।

निषेधाज्ञाको समयमा ठेक्का लगाइएका स्वास्थ्य बिमा र फोहोर मैला व्यवस्थापनको टेन्डर खारेज गरिनुपर्ने उनीहरुको माग छ । बिर्तामोड नगरपालिकाको सातौं नगरपरिषद बिहीबारदेखि शुरु हुँदैछ । नगरपरिषदको अघिल्लो दिन आज पत्रकार सम्मेलन गर्दै उनीहरुले नगरपरिषदमा आफ्ना माग प्रस्तुत गर्ने जनाउँदै ती माग संबोधन नभए परिषद चल्न नदिने बताएका हुन् । उनीहरुले स्वास्थ्य बिमा र फोहोर मैला व्यवस्थापनको टेन्डर खारेज हुनुपर्ने , सार्वजनिक सरोकार र महत्वका हरेक सूचनाको जानकारी सम्पूर्ण वडा कार्यालय ,संचारमाध्यमलाई गराउनुपर्ने ,नगरपालिकाका प्रत्येक सूचना नगरपालिका र वडा कार्यालयको सूचना पाटीमा अनिवार्य राख्नुपर्ने ,नगरपालिकाले प्रकाशन र प्रसारण गर्ने सार्वजनिक महत्वका सम्पूर्ण सूचनाहरु स्थानीय संचारमाध्यममा समेत प्रकाशन र प्रसारण गरिनुपर्ने लगायतका सूचना अधिकारका कुराहरु उठाएका छन् । ‘टेन्डर खोल्ने , ठेक्का लगाउने , कर्मचारी भर्नालगायतका सार्वजनिक महत्वका काममा पारदर्शिता छैन’ स्थानीय कपिल न्यौपाने भने, ‘ कतिपय कामका बारेमा जनप्रतिनिधिसमेतलाई जानकारी हुँदैन ।’ टेन्डर प्रक्रियामा मनोमानी भइरहेको धेरैले गुनासो गरेपछि आफूहरुले चासो राखेको उनले बताए । ‘ हामी सौहार्द ढंगले आफ्ना माग नगरपरिषदमा प्रस्तुत गर्नेछौं’ न्यौपानेले भने , ‘माग संबोधन भएन भने परिषद चल्न दिदैनौं ।’

सूचना पाउनुपर्ने अधिकार खोज्दै आफूहरुले दवाव दिएपछि दुई दिनअघि मात्र नगरपालिकाले सूचना पार्टी राखेको अर्का स्थानीय युवा गणेश मैनालीले बताए । औषधी वितरणको लागि फार्मेसी सञ्चालन गर्न आव्हान गरिएको टेण्डरमा अपारदर्शी र भ्रष्टाचार भएको भन्दै स्थानीय युवाहरुले गत जेठ २० गते प्रेस विज्ञप्तिमार्फत नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । बिर्तामोड नगरपालिकाले नगर अस्पतालमा सञ्चालन गर्ने फार्मेसीको टेण्डर खुलाउँदा स्थानीय सञ्चारमाध्यम र नगर अस्पतालको सूचना पाटीलगायतमा बोलपत्र आव्हानको सूचना प्रकाशन र प्रसारण नगरी आन्तरिक रुपमा सेटिङ्ग गरेर टेन्डर दिएको उनीहरुले दावी गरेका थिए ।

टेन्डर प्रक्रिया सही नभएको भन्दै आफूहरुले एक महिना अघिदेखि आवाज उठाएपनि नगरपालिकाले बेवास्ता गरेपछि नगरपरिषदमै सबै जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउन खोजेको अर्का युवा कैलाश प्रसाईले बताए । पत्रकार सम्मेलनमा विष्णु चुडाल , पुष्प पाठक , आकाश उप्रेती , मधु सिटौला , गोपाल बुढाथोकी ,शंकर चम्लागाई , सुन्दर लिम्बू , डम्बर नेम्बाङ , मिलन खड्का , श्याम गुरुङलगायतले बिर्तामोड नगरपालिकामा देखिएका बेथितिका बारेमा गुनासो गरेका थिए । उनीहरुले दुवै टेन्डर खारेज गरी प्रक्रियागत रुपमा प्रतिष्पर्धामार्फत स्थानीय तथा अनुभवीहरुलाई प्राथमिकतामा राख्दै पुनः टेन्डर लगाई स्थानीयबासीको माग संबोधन गरी सुशासनलाई कार्यान्वयन गर्न माग गरेका छन् ।