जागृत बाल उद्धार केन्द्रको नयाँ समिति


मेचीनगर । अनाथ तथा असहाय बालबालिकालाई संरक्षण गर्दै आएको मेचीनगरको जागृत बाल उद्धार केन्द्र मेचीनगर–७ मा नयाँ सञ्चालक समिति गठन गरिएको छ ।

संस्थाको हालै सम्पन्न पाँचौ वार्षिक साधारण सभाबाट संस्था सञ्चालन समितिको अध्यक्षमा समाजसेवी बीना तामाङ चयन भएकी छिन् । त्यस्तै, समितिको उपाध्यक्षमा युवा समाजसेवी बालकृष्ण थापा, सचिवमा शिक्षासेवी रेवन्तराज पोखरेल, कोषाध्यक्षमा राधा प्रधान कार्की तथा सदस्यमा सीता गुरुङ, मोहन कटुवाल, प्रल्हाद श्रेष्ठ चयन भएका छन् । अन्य सदस्य पछि थप गरिने बताइएको छ ।

नयाँ समिति बनेसँगै मंगलबार संस्थाको कार्यालयमा पत्रकारसँग परिचयात्मक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा संस्थाकी नवनिर्वाचित अध्यक्ष बीना तामाङले आश्रित बालबालिकालाई नयाँ जीवन दिन सबैको सहयोगको खाँचो रहेको बताइन् ।

कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष बालकृष्ण थापा, सचिव रेवन्तराज पोखरेल, पूर्व उपाध्यक्ष राजेश गहतराज, सीता गुरुङ, पत्रकार जिआर धिताललगायतले निस्वार्थ सेवाभावले आश्रित बालबालिकाको निम्ति काम गर्नुपर्नेमा जोड दिए ।

संस्थाका विकास देवकोटाले सञ्चालन गरेको कार्यक्रममा संरक्षक गीता खड्काले आश्रित बालबालिकालाई असल शिक्षा दिन सकियो भने मात्रै असल समाज बन्ने बताइन् ।

स्थानीय संघसंस्था तथा सामाजिक व्यक्तित्वको सहयोगबाट चल्दै आएको उक्त संस्थालाई सरकारी तवरबाट भने सहयोग हुन सकेको छैन । संस्थामा हाल १६ जना अनाथ बालबालिका आश्रित छन् । उनीहरुका निम्ति संस्थाले खानबस्न तथा पढाइको व्यवस्थापन गरिदिएको छ ।