मेचीनगरका किरणको दुवै मिर्गौला खराब, बचाउन परिवारको अपिल


धुलाबारी । मेचीनगर वडा नंं. ९ का एक युवाको दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग गरिदिन देश–विदेशमा रहेका सहयोगी मनहरुसँग परिवारले अपिल गरेको छ ।

सामान्य आर्थिक अवस्थाको परिवारका २७ वर्षीय किरण कटुवालको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । अब मिर्गौला प्रत्यारोपण बाहेक उनीसँग अर्को विकल्प छैन । उपचारमा संलग्न चिकित्सकहरुले जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएको किरणका मामा कुलबहादुर भट्टराईले बताए ।

‘हामीले किरणलाई बचाउनु छ । तर, के गर्नु हामीसँग पैसा छैन,’ मामा कुलबहादुरले भने, ‘बिन्ती छ ! सहयोग गरिदिनोस्, किरणको ज्यान बचाइदिनोस् ।’ चिकित्सकका अनुसार किरणको मिर्गौला प्रत्यारोपण गर्न करिब १५ लाख रुपैयाँ लाग्ने बताइएको छ ।

सानैदेखि मेहनती किरण शिक्षण पेशामा आबद्ध छन् । शिक्षण पेशाको शिलशिलामा उनी काठमाडौँमा थिए । गत बैशाख २० गतेको कुरा हो, किरणलाई एक्कासी रिंगटा चल्यो र उनी भुँइमा ढले । त्यसपछि उनलाई टिचिङ अस्पताल भर्ना गरियो ।

उपचारका क्रममा सुरुमा उनलाई औषधिले ठीक हुन्छ भनियो । तर, औषधिले ठीक नभएपछि फेरि चेकजाँच गराउँदा उनको मिर्गौलाले काम गर्न छाडेको र मिर्गौला फेर्न सुझाव दिइएको मामा कुलबहादुरले बताए ।

मिर्गौला प्रत्यारोपण गर्ने खर्च नभएपछि किरण घर फर्किएका छन् । अहिले उनी घरैमा छन् । युवा अवस्थामै किरणको मिर्गौलाले काम गर्न छाडेपछि उनलाई बचाउन गाउँस्तरमा किरण कटुवाल बचाउ अभियान सुरु गरिएको छ ।

स्थानीय समाजसेवी युवा उद्धव बानियाँ संयोजक र राजु धिमाल सचिव रहेको १५ सदस्यीय किरण कटुवाल बचाउ अभियान समितिले उपचारमा सहयोग गरी किरणलाई बचाउन सबैसँग अपिल गरेको छ ।

समितिले उनको उपचारका निम्ति ३ लाख २० हजार रुपैयाँ संकलन गरिसकेको सचिव राजु धिमालले बताए । धुलाबारीको ग्लोबल आइएमई बैँकमा खाता खोली संकलित रकम जम्मा गर्ने काम सुरु गरिएको उनले बताए ।

असार पहिलो हप्तातिर काठमाडौँमा लगेर किरणको उपचार सुरु गरिने परिवारले जनाएको छ । केही दिन अघि किरणलाई घरैमा भेटेर काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सान्त्वना दिएका छन् । शर्माले किरणको उपचारमा सहयोग गर्ने वचन दिएको बिरामीका मामा कुलबहादुर भट्टराईले बताए ।