काँकरभिट्टा खानेपानीमा १२ पदका लागि ४ अध्यक्षसहित ३३ जनाको उम्मेद्वारी


मेचीनगर । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको आगामी चैत २१ गते हुने निर्वाचनका लागि दलहरुले प्यानल खडा गरेर विहीबार उम्मेद्वारी दर्ता गराएका छन् । संस्थाको ९ जना कार्यसमिति र ३ जना लेखा समितिसहित १२ पदका लागि ३३ जनाले उम्मेद्वारी दर्ता गराएका हुन ।

अध्यक्ष पदमा ४ जनाको उम्मेद्वारी परेको छ । लोकतान्त्रीक प्यानलबाट अध्यक्ष पदमा हर्कबहादुर लिम्बू फ्याक, नेकपा एमाले र राप्रपाको संयुक्त प्यानलबाट राजकुमार पराजुलीको उम्मेद्वारी छ भने संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चले अध्यक्षमा लिलानाथ आङदेम्वेलाई अघि सारेको छ ।

अध्यक्ष पदका उम्मेद्वार गणेशकुमार खरेल

त्यसैगरी स्वतन्त्र उम्मेद्वारीको रुपमा गणेशकुमार खरेलले अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । स्वतन्त्र उम्मेद्वारको रुपमा अध्यक्ष पदमा उम्मेद्वारी दिएका खरेल सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्ति हुन । उपाध्यक्षको रुपमा कृष्ण सुवेदी र सचिव पदमा पत्रकार लक्ष्मी उप्रेतीले मनोनयन दर्ता गराएका छन् ।

वर्षोदेखि अध्यक्ष पदमा आफ्नो अस्तित्व जमाउदै आएको नेपाली काँग्रेसले, माओवादी केन्द्र र जसपासँग चुनावी तालमेल गरेर लोकतान्त्रीक प्यानल खडा गरिएको छ । उनिहरु लोकतान्त्रीक प्यानल खडागरी चुनावी मैदानमा होमिएको छ ।

लोकतान्त्रीक प्यानल

लोकतान्त्रीक प्यानलबाट अध्यक्षमा उम्मेद्वारी दिएका फ्याक नेपाली काँग्रेसबाट उम्मेद्वारी भएका छन् । अध्यक्षका उम्मेद्वार खानेपानीका वर्तमान अध्यक्ष हुन ।

लोकतान्त्रीक प्यानलको तर्फबाट उपाध्यक्ष पदमा माओवादी केन्द्रकी रिमादेवी खरेल, सचिव पदमा जनता समाजवादी पार्टीका दिलीपजंग सुब्बा, कोषाध्यक्षमा काँगेसको तर्फबाट मीना कटुवाल छन् ।

त्यसैगरी खुल्ला महिला सदस्य तर्फ काँग्रेसबाट पार्वती खड्का, जसपाबाट जसना राजबंशी, क्षेत्रगत उम्मेद्वारीमा वडा नम्बर ३, ४ र ५ बाट काँग्रेसका केदारजंग भट्टराई , ६ नम्बर वडाबाट माओवादी केन्द्रका तर्फबाट शेरबहादुर थापा (शेखर काजी) तथा वडा नम्बर ७ र ८ बाट काँग्रेसका सुरेश भट्टराईको उम्मेद्वारी परेको छ ।

अध्यक्ष पदका उम्मेद्वार पराजुली र फ्याक

त्यस्तै लोकतान्त्रीक प्यानलबाट लेखा संयोजकमा जसपाबाट कृष्ण कट्टेल, महिला सदस्यमा जसपाबाट मिरा कार्की र खुल्ला सदस्यतर्फ इन्दिरा बुढाथोकी अधिकारीले उम्मेद्वारी दिएका छन् ।

यता संयुक्त गठबन्धनका तर्फबाट अध्यक्ष पदमा राजकुमार पराजुलीले उम्मेद्वारी दिएका छन् । गठवन्धनका तर्फबाट उपाध्यक्ष पदमा गोबिन्द गिरी, सचिवमा चन्द्रप्रसाद निरौला र कोषाध्यक्षमा हेमा सिटौलाले उमेद्वारी दिएका छन् । त्यस्तै खुल्ला महिला सदस्य पदमा दुर्गादेवी भेटवाल, मिनमाया लिम्बू सुब्बा, सदस्यहरुमा रविन राउत, प्रितम काफ्ले र नारायण काफ्ले छन् । लेखा समिति संयोजकमा जीवन थापा तथा सदस्यहरुमा सीता राई र टोलबहादुर सुनार ‘नारायण’ उम्मेद्वारी दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहका अध्यक्षका उम्मेद्वार पराजुली काँकरभिट्टा खानेपानीका बर्तमान सचिव हुन । उपाध्यक्षका उम्मेद्वर गिरी र कोषाध्यक्षका उम्मेद्वार सिटौला एमाले माधव नेपाल समुहका हुन भने सचिवका उम्मेद्वार निरौला राप्रपाका हुन ।

यस्तै संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका तर्फबाट अध्यक्षमा लिलानाथ आङदेम्वे, उपाध्यक्ष पदमा राजु चेम्जोङ, सचिवमा चन्द्रकुमार राई र कोषाध्यक्षमा भवानी महत तथा सदस्यहरुमा प्रकाश गुरुङ र भवानी विक्रम तुम्वाहाम्फेले उम्मेद्वारी दिएका छन् ।

खानेपानी संस्थाको आगामी तीनवर्षे कार्यकालका लागि ९ जनाको कार्यसमिति र ३ जनाको लेखा समिति सदस्य पदमा ३३ जनाको उम्मेद्वारी परेको निर्वाचन समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।

संयुक्त प्यानलको प्रचारप्रसार समितिको संयोजक देवकुमार राई र लोकतान्त्रीक प्यानलको प्रचारप्रसार समितिको संयोजकमा सुयप्रकाश उप्रेती छन् ।