बुद्ध माविमा आँखा शिविर, विद्यार्थी–अभिभावक लाभान्वित

झापा । इलामको सूर्योदय नगरपालिका, वडा नं १४ को बर्दुस्थिति सरकारी विद्यालय बुद्ध माविमा शुक्रबार निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । सुर्योदय नगरपालिकाको अलि विकट मानिने सो क्षेत्रमा रहेको होराइजन बर्दु भ्याली टी इण्डष्ट्रिजको आयोजना र विर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।
शिविरबाट झण्डै दुई सय विद्यार्थी र डेढ सयजति अभिभावक लाभान्वित भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तामाङको अध्यक्षतामा आयोजित संंक्षिप्त समारोहका बीच सूर्योदय नगरपालिका वडा नं १४ का वडाध्यक्ष नरबहादुर सुवेदीले शिविरको उद्घाटन गरेका थिए । कक्षा ५ सम्म अंग्रेजी माध्यम र कक्षा ६ देखि १० सम्म नेपाली माध्यममा पठनपाठन भइरहेको सो विद्यालय परिसरमा आँखा जँचाउन दुई घण्टासम्मको पैदल यात्रा गरेर अभिभावकहरु आएको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद पौडेलले बताए ।
लामो समयपछि विद्यालयमा पहिलो पटक यस किसिमको स्वास्थ्य शिविर आयोजना भएको बताउँदै प्रधानाध्यापक पौडेलले त्यसका लागि आयोजक संस्था र विर्तामोड आँखा अस्पताललाई धन्यवाद दिए । आँखा परीक्षण गर्नेक्रममा ३ जना विद्यार्थी र १२ जना अभिभावकमा मोतियाविन्दू देखिएको र थप उपचारका लागि विर्तामोड आँखा अस्पतालमा आउन सुझाव दिइएको सो अस्पतालका दृष्टि विशेषज्ञ रजक खानले जानकारी दिए । औषधिसमेत वितरण गरिएको थियो ।
सोही अवसरमा विद्यार्थीको ब्लड ग्रुप पनि छुट्याइएको प्रधानाध्यापक पौडेलले बताए । शिक्षक ओमभक्त अधिकारीले सञ्चालन गरेको उद्घाटन समारोहमा शिक्षक गुरुप्रसाद पाठकले स्वागत गरेका थिए । सोही अवसरमा सामाजिक संस्था वीरता जेसीजले त्यहाँका विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो । वीरता जेसीजले अंग्रेजी सिकाइका पाठ्यसामग्री र कपी–कलम, पेन्सिललगायतका शैक्षिक सामग्री हस्तान्तरण गरेको थियो । वीरता जेसीजका अध्यक्ष राजिव धिमालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
शिविरमा नेत्र अधिकृत भरत सापकोटाको नेतृत्वमा १० जना स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको विद्यालयका अध्यक्ष तामाङले जानकारी दिए । २०४१ सालमा स्थापित उक्त विद्यालयमा दूर–दराजका विपन्न परिवारका विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । विद्यालयले विद्यार्थीको पोशाक निजी विद्यालयको जस्तै बनाएको र साना कक्षाका विद्यार्थीलाई दिवा खाजासमेतको व्यवस्था गरेका कारण विद्यार्थीको आकर्षण बढ्दै गएको प्रधानाध्यापक पौडेलको भनाइ छ ।

मेचीनगर । मेचीनगर नगरपालिका–१४ को हडिया खोलामा झोलुङ्गे...

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यकताको आधारमा...

बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था लि....

बिर्तामोड । व्यापारिक सहर बिर्तामोडमा असोज ४ गतेबाट...

काँकडभिट्टा । नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशनका...