बाहुनडाँगी जेसीजको अध्यक्षमा बानियाँ, बराल र भण्डारीको चर्चा


काँकरभिट्टा । बाहुनडाँगी जेसीजको २०२१ को नेतृत्वका लागि ३ जनाको नाम चर्चामा छ । जेसीजको विधान अनुसार एक पद, एक कार्यकाल र एक वर्षे अवधी रहेको छ । सोही अनुसार २०२० को कार्य अवधी सकिँदै जाँदा बाहुनडाँगी जेसीजमा नयाँ नेतृत्वको तयारी भइरहेको छ । जसका लागि देबु बानियाँ, दिपक बराल र प्रविण भण्डारी अध्यक्षका प्रत्यासीका रुपमा चर्चामा रहेका छन् ।

२०१० मा स्थापना भएको बाहुनडाँगी जेसीजले १० औँ शाखा अधिवेशनको तयारीमा रहँदा बानियाँ, बराल र भण्डारी अध्यक्षका प्रत्यासीका रुपमा देखिएका हुन् । २०१५ मा बाहुनडाँगी जेसीजमा प्रवेश गरेका बराल भेटनरी व्यवसायी हुन् । बरालले शाखाममा यस अघि उपाध्यक्ष र महासचिव पदमा रहेर आफ्नो जिम्मेवारी पुरा गरिसकेका छन् ।


राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय बराल आधा दर्जन संघ संस्थाका कुशल नेतृत्व गरिसकेका अनुभवी व्यक्ति पनि हुन् । भृकुटी खानेपानी संस्थाको अध्यक्ष बराल प्रखर वक्ता तथा युवा राजनीतिककर्मीसमेत हुन् । बराल नेकपा मेचीनगर कमिटीको सचिवालय सदस्य तथा युवा संघ नेपालको प्रदेश सदस्य पनि हुन् ।

बरालले आफु अध्यक्ष प्रत्यासी भन्दा पनि सस्थाले आवश्यकता महसुस गनुपर्नेमा जोड दिए । कुराकानीका क्रममा बरालले भने–‘सस्थाले मलाई आवश्यकता सम्झिए सर्बसम्मत रुपमा नेतृत्व लिन तयार छु । निर्वाचनले संस्थालाई असर पर्ने भएकाले सहमतिको विकल्प छैन ।’

अर्का प्रत्यासी बानियाँ २०१३ मा बाहुनडाँगी जेसीजमा प्रवेश गरेका हुन् । पेशाले सरकारी विद्यालयका शिक्षक बानियाँले बाहुनडाँगी जेसीजमा जनसम्पर्क अधिकारी, सञ्चार संयोजक, तालिम संयोजक, उपाध्यक्ष, महासचिव र कार्यकारिणी उपाध्यक्ष पदमा रहेर जिम्मेवारी पुरा गरिसकेका छन् । बानियाँ नेपाल जेसीजबाट २०१८ मा उत्कृष्ट सदस्य अवार्ड तथा २०१९ मा रत्ननगर महाधिवेशनमा जेसीजको राष्ट्रिय वक्तृत्वकला प्रतियोगिताका विजेता समेत हुन् । उनी जेसीज अभियान भित्र सबैका प्रिय पात्र मानिन्छन् ।

व्यवसायलाई समेत अँगालेका बानियाँले सभ्यता कृषि फर्म सञ्चालन गरी व्यवसायिक बाख्रा पालन गर्दै आएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यसमिति समेत रहेका बानियाँ स्पष्ट तथा प्रखर वक्ताका रुपमा चिनिन्छन् । उनी भन्छन्, ‘अरु शाखाको अनुभव र क्षमतालाई बुझेर मेरो कार्यकालमा उत्कृष्ट कार्य गर्दै शाखाले देखेको सपना पूरा गर्नेछु ।’

यस्तै, २०१६ मा जेसीजमा प्रवेश गरेका भण्डारी उपाध्यक्ष, कार्यकारिणी उपाध्यक्ष, कोषाध्यक्ष, कानुनी सल्लाहकार र कार्यक्रम संयोजकको रुपमा रहेर काम गरिसकेका छन् । होटल व्यवसायी भण्डारी युवा राजनीतिककर्मी समेत हुन् । उनी नेकपा मेचीनगर ४ को सहसंयोजक तथा विभिन्न संघ संस्थामा रहेर काम गरिसकेका छन् । भण्डारीले भने– ‘अब मेरो पालो आएको छ । निरन्तर शाखामा रहेर काम गरेका अनुभबलाई आफ्नो कार्यकालमा उत्कृष्ट बनाएर अघि बढ्ने योजना रहेको छ ।’ बाहुनडाँगी जेसीजलाई देशकै उत्कृष्ट शाखाको रुपामा स्थापित गर्ने उनको योजना रहेको छ ।

अध्यक्षका प्रत्यासी बराल र बानियाँ गत वर्ष पनि अध्यक्षका प्रत्यासीका रुपमा रहेका थिए भने भण्डारीले यो साल अध्यक्षका लागि आफुलाई अघि सारेका छन् । लामो समय शाखामा रहेर काम गरेका अध्यक्षका प्रत्यासी तीनै जना नेतृत्व लिन तम्तयार भएर अघि सरेका छन् ।
नविन बरालको नेतृत्वमा स्थापना भएको शाखामा यस अघि बद्री निरौला, उत्तम सिठुङ, सन्तोष सुवेदी, पुष्कर ढकाल, किरण नेपाल, जीवन मोते र कञ्चन उप्रेतीले नेतृत्व गरिसकेका छन् भने २०२० लाई सागर कार्कीले हाँकिरहेका छन् ।