नेपालमै पहिलो पटक मेचीनगरमा भेटियो ‘हरियो परेवा’

मेचीनगर । नेपालमा पाइने चराको सूचीमा ‘हरित परेवा’ थपिएको छ । चराविद् देबेन्द्र खरेलले मेचीनगर–७ सतिघट्टामा नेपालमै पहिलोपल्ट ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका हुन् ।
‘मङ्सिर ९ गते विहान ८ः३० बजेतिर चराहरुको खोजी गर्दै जाँदा सिमलको रुखमा चार वटा अनौठा परेवा जस्ता चरा देखें’, खरेलले भने–‘ती चरा ‘हरित परेवा’ भएको पुष्टि भएको छ ।’
‘हरित परेवा’को वैज्ञानिक नाम ‘डुकुला एनिया’ हो र यसलाई अङ्ग्रेजी ‘ग्रीन इम्पेरियल पिजन’ भनिन्छ ।
खरेलले अनौठा चरा भेटेपछि तिनका फोटोहरु पंक्षी संरक्षण संघ नेपाल र चराहरुको बारेमा किताब लेखक डा. हेमसागर बराललाई पठाए । उनले दक्षिण एसियाको चराहरुको बारेमा किताब लेखेका बेलायतका क्यारोल इन्स्कीपलाई समेत ती फोटो पठाए ।
बरालले ती चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गरिदिएका छन् । पंक्षी संरक्षण संघले नेपालमा अब चराको एउटा प्रजाति थपिएको जानकारी गराएको खरेलले बताए । बेलायती खोजकर्ता क्यारोलले समेत नेपालमा पहिलोपल्ट यो चरा भेटिएको पुष्टि गरेको बताइएको छ ।
घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुबै पखेटामा चम्किलो आकर्षक हरियो रङ हुने भएको हुँदा हरित परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुने खरेल बताउँछन् ।
नेपालमा हाल ८८६ प्रजातिका चरा भएको मानिन्छ । हरित परेवालाई अहिलेसम्म नेपालमा पाइने चराको सूचीमा राखिएको थिएन । अब नेपालमा चराहरुको प्रजाति ८८७ पुगेको मान्नु पर्ने खरेलले बताए ।
चराहरुको खोजी र संरक्षणमा विगत पाँच वर्षदेखि अनवरत लागिरहेका खरेल मेचीनगर–६ मा बस्छन् । उनले झापा, इलाम, सुनसरी, चितवन र भारतको विभिन्न स्थानमा पुगेर पंक्षीहरुको फोटो खिच्ने र तिनको संरक्षणका लागि जनचेतना जगाउने कार्य गर्दै आएका छन् ।
हरित परेवा नेपालमा पाइनु चरा संरक्षण र चरा पर्यटनका दृष्टिले ठूलो उपलब्धि भएको उनी बताउँछन् ।
खरेलले झापाको मेचीनगरको मेची र नन्दा नदीको किनारको दलदले क्षेत्र र इलामसँगको सीमानामा रहेको चुरे जंगल क्षेत्रमा ३०० प्रजातिका चराहरुको बासस्थान भएको उल्लेख गर्दै चरा संरक्षण गरेर नेपालमा पर्यटक आकर्षित गर्न सकिनेतर्फ राज्यको ध्यान जान आवश्यक रहेको बताए ।

झापा । झापाको काँकरभिट्टास्थित मेची भन्सार नाकामा आज स्थानीय...

मेचीनगर । कोशी प्रदेश सभा सदस्य गोपाल विश्वकर्माले...

धुलाबारी । नेपाल पूर्व प्रहरी संगठन मेचीनगर अध्यक्षमा...

ईटाभट्टा । झापाको मेचीनगरमा सक्रिय मेची अभियानको आर्थिक र...

मेचीनगर । अत्याधिक गर्मीका कारण मेचीनगर नगरपाकिका भित्र...

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. काँकडभिट्टाले...