एनएमसीको वार्षिक प्रतिवेदन सार्वजनिक, बिहीवारदेखि सदस्यले पाउने


झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको २८औं वार्षिक साधारणसभाका लागि तयार पारिएको वार्षिक प्रतिवेदन पत्रकार सम्मेलन गरी आज बुधबार सार्वजनिक गरिएको छ ।

बिर्तामोडस्थित एनएमसी कार्यालयमा सञ्चालक समितिका अध्यक्षसहित पदाधिकारीहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु गौतमले आफ्ना प्रतिवेदनहरु वाचन गरेका थिए ।

कोरोना कहरको प्रभाव र प्रतिकूलताका वावजुद संस्थाको बैंकिङ्ग कारोबारतर्फ राम्रै नतिजा हासिल गरेको जानकारी दिंदै अध्यक्ष उप्रेतीले एनएमसी डेरीतर्फ पनि गत आर्थिक वर्षमा ४० लाख ७५ हजार खुद मुनाफा गरेको बताए । संस्थाले आर्थिक वर्ष २०७६र०७७ मा डेरीबाट ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्ने लक्ष्य राखेको थियो ।

एनएमसीको अर्को व्यवसाय एकीकृत नमूना कृषि फर्म अन्तरगत उत्पादनभन्दा पनि अहिले पूर्वाधार निर्माणको चरण रहेकाले ७३ लाख रुपैयाँभन्दा बढी घाटामा रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपी गत आर्थिक वर्षमा परीक्षणस्वरुप तरकारीका विरुवा बिक्री, तरकारी उत्पादन, माछापालन, कस्टम हायरिङ आदिबाट साढे २३ लाख रुपैयाँ हाराहारी आम्दानी गरेको उल्लेख छ ।

एनएमसीले चौथो व्यवसायमा रुपमा विकास गर्दै आएको एनएमसी कोपसप लोकप्रिय बन्नेक्रममा रहेको बताउँदै संस्थाका अध्यक्ष उप्रेतीले चालू आर्थिक वर्षमा १५ वटा पसल स्थापना गरिसक्ने लक्ष्य सुुनाए ।

संस्थाले २०७६र०७७ को असार मसान्तमा नौ अर्ब ४२ करौड नौ लाख ३१ हजारको वासलात बनाएको छ । अघिल्लो आर्थिक वर्षमा ६९ करोड ४१ लाख ३० हजार २०० रुपैयाँको चुक्ता शेयर पूँजीलाई बृद्धि गरी ८८ करोड १९ लाख ३ हजार ७०० रुपैयाँ पुर्याइएको छ । यसरी नै साधारण जगेडा तथा अन्य कोषमा ७२ करोड १५ लाख ७६ हजार ५०० रुपैयाँ पु्र्याइएको छ । गत आर्थिक वर्षसम्म संस्थाले सात अर्ब ५१ करोड दुई लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने एनएमसीसँग ४२ करोड दुई लाख ४७ हजार मूल्यको स्थिर सम्पत्ती रहेको प्रतिवेदनमा उल्लेख छ ।

२०७६/०७७ मा १६ हजार २६६ जना नयाँ सदस्य थप गरी ८५ हजार १३६ सदस्य संख्या पुर्याएको संस्थाले चालू आवमा २० हजार २०० सदस्य विस्तार गरी १ लाख ५ हजार पुर्याउने लक्ष्य राखेको प्रतिवेदनमा उल्लेख छ । संस्थाले समीक्षा वर्ष १२ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले कोरोनाको कहरले एनएमसीलाई पनि गहिरो प्रभाव परेको बताएका छन् । कोरोना कहरका बेला संघीय सरकार, प्रदेश सरकार र स्थनीय तहले ल्याएका स्वास्थ्य सुरक्षा र सचेतना कार्यक्रमको पालना गर्दै आफ्ना सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ । एनएमसीले लकडाउनका बेला सदस्यहरुलाई सापटी स्वरुप ३६ लाख २२ हजार ५०० रुपैयाँ वितरण गरेको अध्यक्ष उप्रेतीले बताएका छन् ।

पत्रकार सम्मेलनमा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु गौतमले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै संयोजक गौतमले सदस्यको निक्षेप खातामा रकम ऋणात्मक देखिएकोले त्यसलाई सुधार गर्न सुझाव दिएका छन् । संस्थाको गत साधारणसभाले गरेका निर्णयको कार्यान्वयनदेखि संस्थाभित्रको आन्तरिक कारोबार समेतको विश्लेषण गरी सञ्चालक समितिलाई दर्जनभन्दा बढी सुझाव दिइएको छ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले शब्दद्वारा स्वागत गरेको पत्रकार सम्मेलनको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।