पर्यटन मन्त्री भट्टराईलाई साक्षी राखी प्रेस संगठन झापाको शपथग्रहण


बिर्तामोड । नेकपाको भ्रातृ संगठन प्रेस संगठन नेपालको झापा जिल्ला समितिको शपथग्रहण समारोह आज सम्पन्न भएको छ । नेकपा झापा जिल्लाको कार्यालय बिर्तामोडको सभाहलमा शपथग्रहण समारोह सम्पन्न भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमुख आथित्यमा शपथग्रहण समारोह सम्पन्न भएको थियो । जिल्ला समितिका सबै पदाधिकारी तथा सदस्यले संगठनका प्रदेश संयोजक राजन केडीबाट शपथ लिएका थिए ।


सो अवसरमा दिउँसो विर्तामोडमा सम्बोधन गर्दै मन्त्री योगेश भट्टराईले कुनै हालतमा पार्टी नफुट्ने विश्वास व्यक्त गरे । नेकपालाई हनहनी आएको ज्वरो आजदेखि मत्थर भएको बताएका छन् ।
मन्त्री एवम् नेकपाका युवा नेता भट्टराईले नेकपाको शीर्ष नेतृत्वमा चुलिएको आन्तरिक झगडालाई प्रतिकात्मक रुपमा चर्चा गर्दै यो ज्वरो सिजनल फ्लू मात्र भएको र कोरोना चाहिँ नभएको बताए ।
नेकपाको भ्रातृ संगठन प्रेस संगठन नेपालको झापा जिल्ला समितिको शपथग्रहण समारोहलाई आज दिउँसो विर्तामोडमा सम्बोधन गर्दै उनले कुनै हालतमा पार्टी नफुट्ने विश्वास व्यक्त गरे ।

‘नेकपाको स्वास्थ्य विहानसम्म राम्रो थिएन, १०४ डिग्रीको ज्वरो हनहनी आएको थियो,’ उनले भने–‘त्यो ज्वरो आज विहानदेखि मत्थर भइसकेको छ । सानोतिनो झोकाले पार्टी फुट्दैन । कार्यकर्ताको बलियो जगमा उभिएको पार्टीको संरचना भूकम्पप्रतिरोधी छ ।’
उनले भारतको फुटाउँदा फुट्ने र चीनले जोड्दा जोगिने कुरा भ्रामक भएको उल्लेख गर्दै उनले नेकपा आफ्नै विशाल कार्यकर्ता पङ्तिको विश्वास र योगदानबाट एकताबद्ध भएर समाजबादतर्फको फराकिलो मार्गमा अघि बढ्ने बताए ।
केही व्यक्तिहरु नेताको झगडामा पेट्रोल छर्किदै हिँडेको भन्दै उनले अहिले झगडा बढाउन पेट्रोल छर्किने उच्छृङ्खल र अराजक कार्यकर्ताको होइन, पानी छर्किने समझदार कार्यकर्ताको भूमिकाको आवश्यकता भएको धारणा व्यक्त गरे ।
पार्टी फुटाएर पछाडि फर्किने कसैले पनि सपना नदेख्न उनको चेतावनी थियो । उनले भने–‘केपी ओलीलाई प्रधानमन्त्री र प्रचण्डलाई अध्यक्ष बनाउन मात्र पार्टीको एकीकरण भएको होइन, अब पछाडि फर्किने बाटो छैन ।’
प्रेस सङ्गठनको झापा समितिका संयोजक मुक्ति पौडेलको अध्यक्षता र मन्त्री भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका सहसंयोजक टिकाराम उप्रेतीले सञ्चालन र प्रदेश नं. १ का सहसंयोजक गणेश पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा नेकपाका जिल्ला, प्रदेश र केन्द्रका पार्टी कमिटीका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।

सबै तस्वीर : उत्तम पौडेल