मेचीनगरमा भेटियो अर्जुनले तपस्या गरेको बृक्ष, स्थानीय जुटे मोक्षधाम निर्माणमा


मेचीनगर । मेचीनगर– १ स्थित पाटापुर क्षेत्रमा महाभारतकालिन इतिहाँससँग जोडिएका बिभिन अलौकिक बस्तुहरु भेटिन थालेपछि सो क्षेत्रलाई मोक्ष धामको रुपमा विकास गर्न स्थानीयहरु जुटेका छन् । तिरिङ खोलाको किनारमा अवस्थित विशाल बटबृक्ष र त्यसको ५ सय मिटर दक्षिणमा अवस्थित नागदेवताको प्रतिमाले यस क्षेत्रको पहिचान बदल्ने भएको हो ।
यहाँ विशाल एउटै बृक्षमा पाँच प्रजातिका रुख देख्न सकिन्छ, यो बृक्ष महाभारत कालिन इतिहाससँग जोडिएको किँम्बदन्ती रहँदै आएको छ । स्थानीयले यो बृक्षलाई सिंघदेवीको रुपमा पूजा आरधना समेत गर्दै आएका छन् । महाभारतकालिन इतिहासमा स्वर्ग जानु भन्दा अघि दिब्यास्त्र प्राप्तिकोलागि अर्जुनले सोही बृक्षमा महादेवको तपस्या गरेको धार्मिक किम्बदन्ती रहँदै आएको छ ।
सो विशाल बटबृक्षमा छतिवनलाई लावर, कुर्शीलो, काब्रो, र पिपलले घेरेर एउटै विशाल बृक्षको रुप दिएको छ । सो बृक्षलाई यहाँ धार्मिक आस्थाको रुपमा हेरिएको छ । सो क्षेत्रका मानिसहरुले सिंह देविको रुपमा यसलाई मान्दै आएका छन् । सो विक्षमा पूजा आजा गर्न र जल चढउन टाढा– टाढाबाट मानिसहरु आउने गरेको स्थानीय धनबहादुर कटुवालले बताए । मैले देख्दा र जान्दा यो बृक्ष यस्तै थियो । यहाँ देवीको बास छ उनले भने, ‘मानिसहरु विमारी हुँदा होस या कुनै भाकल गर्नु पर्दा यहाँ आएर जल चढाउने र सिंहदेवीको आरधाना गर्ने गर्छन त्यसो गर्दा सबैको मनोकामना पुरा हुन्छ ।’


सो बृक्षबाट ५ सय मिटर दक्षिणमा सानो कुवा छ जहाँ नागदेवताको बास रहेको स्थानीय भक्तबहादुर निरौलाको भनाई छ । कुवामा नागको आकृतिका शिलाहरु रहेका छन् । हालै अलौकिक खालको पत्थर समेत भेटिएको उनले बताए । यहाँ जोडी नागको बास छ, उनले भने ,‘ यहाँका मानिसहरु नागपञ्चमीमा नागको पूजा गर्न ठूलो संख्यामा सहभागि हुन्छन् । धानरोप्दा समेत यहाँ पहिला धानको विउ चढाउने चलन छ । विशेष पर्वहरुमा यहाँ नाग देख्न सकिने उनको भनाइ छ ।
यस ठाउँलाई बृहत धार्मिक क्षेत्र तथा मोक्षधाम निर्माणकोलागि स्थानीयहरु एक जुट भएसँगै समिति निर्माण गरेर अघि बढेका छन् । बृहत धार्मिक क्षेत्र तथा मोक्ष धाम निर्माणको लागि स्थानीय सञ्जय निरौलाको अध्यक्षतामा त्रिऋण गांगा धाम समिति निर्माण गरी डिपिआरको काम समेत अघिबढाएको र आर्थिक श्रोतकोलागि स्थानीय प्रदेश र संघीय सरकारसँग छलफल सुरु गरिएको समितिका अध्यक्ष निरौलाले बताए ।
समितिले सो कामकोलागि २१ बुँदे कार्ययोजना समेत बनाएको छ । अवधारणामा समितिले तृऋण गंगा र मेची खोलाको संगम स्थललाई मोक्ष घाटको रुपमा विकास गर्ने योजना अघिसारेको छ । हालको तिरिङ नदी प्राचिन कालमा तृऋण गांगाको नामले परिचित थियो पछि अपभ्रम्स भएर यसको नाम तिरिङ भन्न थालिएको र अव तृऋण गांगाकै नाम स्थापित गर्नु पर्ने अध्यक्ष निरौलाले बताए ।। तृऋण अर्थात तिरिङ र मेची नदीको संगम स्थलमा पहिलेदेखिनै दाहासंस्कार गरिँदै आएको थियो, उनले भने,‘ हामीले यसलाई व्यवस्थित गरेर मोक्ष घाटको रुपमा विकास गर्ने छौं ।’ सो क्षेत्रमा शव दहन स्थल, पितृ स्तब्ब र मलामी घर निर्माण गरिने भएको छ ।


नागदेवीको बासस्थान भएको स्थानमा हरेक वर्ष नाग पञ्चमीको दिन ठूलो संख्यामा मानिसहरु भेला भएर पुजा अर्चना गर्ने, दुध चढाउने परम्परा छ । यहाँ धानरोप्ने समयमा गोवरको कुन्ड बनाएर रोपो चढाउने समेत गरिन्छ । यहाँका मानिसहरुमा नागदेवता प्रति असिम आस्था छ । नागदेवताको बास भएको ठाउँमा समितिले ठूलो पोखरी निर्माण गरेर शेष नागमा सुतिरहनु भएका भगवान विष्णुको आकृति निर्माण गरेर त्यसको वरिरपरी पदमार्ग निर्माण गर्ने योजना अघि सारेको छ ।
पोखरीदेखि सिंह देवीसम्मको दुरीमा पदमार्ग बनाउने र मोक्ष घाटदेखि कृष्ण थुम्कीसम्म ५ किमिको सडक निर्माण गर्ने गरि कार्ययोजना अघि सारिएको अध्यक्ष निरौलाले बताए । निरौलाका अनुसार मोक्ष धामदेखि कृष्णथुम्की सम्मको क्षेत्रमा गणेशको तथा भगवान विष्णुका १० अवतारका मन्दिर निर्माण गरिने छ । उनले भने हामी ५ किमि सडको आसपास भगवान विष्णुका १० अवतारका मन्दिर बनाउने छौं, मत्स्य अवतार , कुर्म अवतार, बराह अवतार, नरंिसंह अवतार, बामन अवतार, पर्शराम अवतार, राम अवतार, कृष्ण अवतार, बुद्ध र कल्की अवतार समेतको मुत्र्ति स्थापना गरिने छ ।


समितिले सो क्षेत्रमा ज्येष्ठ नागरिक भवन तथा अनाथ वाल आश्रम समेत निर्माण गर्ने भएको छ । युवाजनशक्ति विदेश पलायन हुनथालेपछि ज्येष्ठ मातापिता साहारा बिहिन बन्ने अवस्था शिर्जना भएकोले उहाँहरुको संरक्षणकोलागि बृहत ज्येष्ठ नागरिक आश्रम निर्माण गरिने र अनाथ बालबालिकाको संरक्षणकोलागि वाल आश्रम निर्माण गरिने उनको भनाइ छ । ज्येष्ठ नागरिक यहाँ भेला हुनु हुन्छ उहाँ हरुलाई खानपानको व्यवस्था यहाँ हुन्छ, उहाँहरु दिनभर भजन किर्तन गर्ने र त्यसैमा रमाउने बतावरण बन्छ । अनाथ बालबालिकाहरुले समेत हजुरबुवा हजुर आमा पाउने छन् । उनले भने-हामी बालबालिका र ज्येष्ठ नागरिकलाई जोडने छौं ।


मन्दिरै मन्दिरको शहरको रुपमा विकास गर्ने योजना बनाएको समितिले बिभिन्न धर्मावलम्बीहरुको आस्थालाई समेत जोडने भएको छ । समितिले सो क्षेत्रमा धर्म सभा भवन, सुङ्निमा पारुहाङको मुत्ती तथा कृष्ण थुम्कीदेखि केहीपर निन्दा टारमा विशाल गुम्बा निर्माण कार्ययोजना बनाएको छ । नेपाल बहुजातीय बहुमासिक र बहुसंस्कृतिक मुलुक भएको बाताउँदै मोक्ष धामलाई सबैको साझा धामको रुपमा विकास गरिने उनको भनाइ छ ।
समितिले केही दिनदेखि सो क्षेत्रको सरसफाइलाई तीब्र पार्दै लगेको छ । आफनो ठाउँको विकास आफैबाट सुरुवात गर्नु पर्छ भन्ने मान्तयाका साथ उनीहरु स्वतस्फूर्त रुपमा श्रमदान गरिरहेका छन् । मेचीनगरको इटाभट्टाबाट १३ किमीको दुरीमा सो क्षेत्रमा पुग्न सकिन्छ । हाल सो धार्मिक क्षेत्रको नजिक मदन भण्डारी राजमार्ग पुगेको छ। राजमार्ग पुगेपछि सो क्षेत्रका नागरिक उत्साहित बनेका छन् ।