मेचीनगरमा कर्मचारीको दादागिरी : हाकिमबाटै मेयरमाथि दुर्व्यवहार


मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीमाथि प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले दुर्व्यवहार गरेका छन् । नगरप्रमुख बुढाथोकीमाथि सोमबार कार्यालय परिसरमा नै प्रमुख प्रशासकीय अधिकृत रेग्मीले आफ्नो पद र मर्यादाको समेत ख्याल नराखी अपशब्द बोल्दै दुर्व्यवहार गरेका हुन् ।

नगर प्रमुख बुढाथोकीमाथि दुर्व्यवहार गरेको भन्दै स्थानीय युवा विद्यार्थी आन्दोलित भएका छन् । आज विहान रेग्मीले नगरप्रमुख बुढाथोकीमाथि दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै मेचीनगर दिनभर तनावपूर्ण बनेको थियो । नगर प्रमुख बुढाथोकीलाई अभद्र व्यवहार गरेपछि स्थानीय आक्रोसित बनेका थिए । माहोल तनावपूर्ण बनेपछि प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई प्रहरीले आफ्नै गाडिमा राखेर नगर बाहिर लगेको थियो । प्रत्यक्षदर्शीका अनुसार रेग्मीलाई तत्कालै जिल्ला प्रशासन कार्यालय लगिएको थियो ।

दिनअघिदेखि नै मेचीनगरमा नगरभित्र भएर बहने हडिया, टिमाई, निन्दा तथा मेची खोलाबाट नदीजन्य पदार्थ उत्खनन संकलन बिक्री शुल्क असुलीका लागि मेचीनगर नगरपालिकाको, आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) को बिषयमा छलफल भइरहेको थियो । त्यसले निकास नपाउँदा मेचीनगरमा नदीजन्य वस्तुको उत्खनन् विषयले तनाव भइरहेको छ । असोज १ गतेबाट खोला खोल्नुपर्नेमा प्रमुख प्रशासकीय अधिकृतका कारण खुल्न नसकेको व्यवसायीहरुको आरोप छ ।

आर्थिक वर्ष ०७९ र ८० मा नगरले ठेक्का लगाउन नसक्दा करिव ७ करोड घाटा व्यहोर्नु परेको थियो । ०७८ र ७९ मा ठेक्का लिने कम्पनीहरुले समेत बाहिर स्टक गरेको नदीजन्य सामग्री विक्री गर्न नपाएको निर्माण व्यवसायीको भनाई छ । जनताको सहजतासंगै नगरको आन्तरिक राजस्व संकलनमा समेत थप टेवा पुर्याउने नदिजन्य पदार्थ उत्खनन संकलन बिक्री शुल्क असुलीलाई कार्यपालिकाले समेत सहजीकरण गर्नुपर्ने बताइरहेको बेला त्यसलाई सफल बनाउन नदिने नियतले प्रमुख प्रशासकीय अधिकृत रेग्मीले विभिन्न बहाना गर्दै आइरहेका थिए ।

अघिल्लो जनप्रतिनिधिको पालामा नै भएको नदिजन्य पदार्थ उत्खनन संकलन बिक्री शुल्क असुलीलाई समस्याको रूपमा नभई छलफल र समाधानको बाटो बाट त्यसलाई निकास दिनुपर्ने जनप्रतिनिधिको भनाइलाई समेत बेवास्ता गर्दै प्रमुख प्रशासकीय अधिकृत रेग्मीले नगरप्रमुख बुढाथोकीमाथि जाइलागेका हुन् ।

कर्मचारीको कारण नदिजन्य पदार्थ उत्खनन संकलन बिक्री शुल्क असुली कार्यन्वयन नहुँदा व्यवसायीहरूको करोडौं रकम जोखिममा पर्नुका साथै सयौं ट्याक्टर व्यवसायी तथा हजारौं मजदुरको रासन पानी बन्द हुने अवस्था सृजना भएको दुखेसो उनीहरूको छ ।