प्रथम वडाध्यक्ष कप : उद्घाटन खेलमा माथिल्लो मागुरमाडी विजयी


मेचीनगर । झापाको मेचीनगर-९ मा शुक्रबारबाट प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा वडा खेलकुद विकास समिति मेचीनगर-९ ले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा माथिल्लो मागुरमाडी क्षेत्र विजयी भएको हो ।

उद्घाटन खेलमा थोप्लेविरान क्षेत्रलाई २-० गोल अन्तरले पराजित गर्दै माथिल्लो मागुरमाडी क्षेत्रले शुखद् सुरुवात गरेको छ । माथिल्लो मागुरमाडीको तर्फबाट दिपेन रम्तेल र सौगात गोम्देनले एक एक गोल गरे । थोप्लेविरानको तर्फबाट बासुदेब तिम्सिनाले एक गोल फर्काए ।

खेलको म्यान अफ द म्याच उपविजेता टिमका बासुदेब तिम्सिना घोषित भए । उनलाई मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले नगद एक हजारसहित ट्रफि र मेडल प्रदान गरे ।

प्रतियोगितामा नगर प्रमुख बुढाथोकीले प्रतियोगिताका प्रत्येक खेलको म्यान अफ द म्याच घोषित खेलाडीलाई नगद एक हजार उपलब्ध गराउने घोषणा गरे । त्यस्थै ट्रफि र मेडल धुलाबारी जेसिसले उपलब्ध गराउने भएको आयोजकले जनाएको छ । शनिबारको खेल मागुरमाडी क्षेत्र र खुट्टीडाँगी क्षेत्र बिच प्रतिष्पर्धा हुने छ ।

प्रतियोगिताको उद्घाटन शत्रमा प्रेस क्लब मेचीनगरका पत्रकार र मेचीनगर नगरपालिकाका जनप्रतिनिधि बिच मैत्रिपूर्ण खेल भएको थियो जसमा पत्रकारको टिमले २ १ गोल अन्तरले जनप्रतिनिधिलाई पराजित गरेको थियो ।

प्रतियोगिताको उद्घाटन सत्रमा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै उपप्रमुख मीना पोखरेल उप्रेतीको बिशेष आतिथ्यता रहेको कार्यक्रममा मेचीनगर-९ का वडाध्यक्ष कञ्चन तामाङ, मेचीनगर-१० का वडाध्यक्ष नारायण खनाललगायतको आतिथ्यता रहेको थियो ।

वडा खेलकुद विकास समिति मेचीनगर-९ का संयोजक एवम् वडा सदस्य राजन खड्काको अध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रको कार्यक्रम सञ्चालन सचिव राजु धिमालले गरेका थिए ।फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा माथिल्लो मागुरमाडी क्षेत्र, थोप्लेविरान क्षेत्र, हिमालयन झरना क्षेत्र, झापा लिलाबस्ती क्षेत्र, चियावाल्नी गाउँ क्षेत्र, मागुरमाडी क्षेत्र, खुट्टीडाँगी क्षेत्र, फाराम सातपाखे क्षेत्र र बजार क्षेत्र गरी ९ टिमबीच सहभागीता रहेको छ । प्रतियोगिताका विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।