झापा क्षेत्र नं. १ को चुनावी चर्चा : प्रदेश र संघमा दर्जनवढी आकांक्षी


काँकरभिट्टा । नेपालको पूर्वी सीमानामा रहेको झापाको क्षेत्र नं. १ मा सदैब भारी चुनावी प्रतिस्पर्धा हुने गरेको छ । संघीय संसद तथा प्रदेश संसदको निर्वाचनका लागि झापा क्षेत्र नं. १ का कतिपय आकांक्षी उमेद्वारहरुले सामाजिक संजालमा आफैं वा निकटहरूबाट उम्मेद्वारी घोषणा गराएर आफ्नो तौल जाँच्न थालेका छन् भने कतिपयले पार्टी नेतृत्वसँग आफ्नो योगदानको गुणगान गाउन सुरू गरेका छन् ।
यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट दुई पटक चुनाव हारेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, मेचीगरका निवर्तमान नगर प्रमुख विमल आचार्य र २०७४ को निर्वाचनमा शर्मालाई पराजित गराएका नेकपा माओवादीका नेता सुरेन्द्र कार्की (राम) को चर्चा रहेको छ ।  कांग्रेसका विशेष स्रोतले केन्द्र महामन्त्री विश्वप्रकाश शर्मा, निवर्तमान नगर प्रमुख विमल आचार्य र सुरेन्द्र कार्की मध्ये एक जनाको उम्मेद्वारी हुने पक्का भएको बताएका छन् ।
त्यसैगरि, नेकपा एमालेका तर्फबाट संविधान सभा सदस्य तथा एमाले केन्द्रीय कमिटी सदस्य रविन कोइरालाको चर्चा देखिन्छ । तर हालका प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीको पनि चर्चा उत्तिकै रहेको छ । स्थानीय चुनावको अंक गणितलाई ख्याल गर्ने हो भने यस क्षेत्रमा नेकमा एमालेको जित लगभग सुनिश्चित देखिन्छ । तर एमालेका एक स्रोतले यो पटक पनि पार्टीले बाहुनडाँगीलाई सम्बोधन नगर्ने हो भने जित हासिल गर्न फलामको चिउरा चपाउनु सरह हुने बताएका छन् ।
केन्द्रको लागि मात्र हैन यहाँ प्रदेश सभाका लागि पनि उत्तिकै प्रतिस्पर्दा हुने देखिएको छ । सत्ता गठबन्धका तर्फबाट क्षेत्र नं. १ ‘क’ मा काङ्ग्रेसका झापा जिल्ला उप–सभापति केशवराज पाण्डे, गोपाल तामाङ र माओवादी नेता माधव अर्यालको चर्चा रहेको छ । जिल्ला उप–सभापति पाण्डे ०७४ को निर्वाचनमा प्रदेश सभाका लागि एमालेका उम्मेद्वार श्रीप्रसाद मैनालीद्वारा पराजित भएका थिए भने यसै पटकको स्थानीय निर्वाचनमा पनि नगर प्रमुख पदका लागि सशक्त दाबेदार थिए । काङ्ग्रेस स्रोतका अनुसार यस क्षेत्रबाट प्रदेश सभाका लागि केशवराज पाण्डे कै प्रबल सम्भावना रहेको छ ।
त्यसै गरि एमालेका तर्फबाट प्रदेश कमिटी सदस्य निलकण्ठा तिवारी, राजु कार्की र जिल्ला कमिटी सदस्य रमा भण्डारी र एमाले मेचीनगर अध्यक्ष राजु पोखरेलको नाम चर्चामा रहेको छ । चर्चामा रहेका नामहरु मध्ये निलकण्ठ तिवारी स्थानीय निर्वाचनमा नगर प्रमुख पदको सशक्त दाबेदार थिए भने रमा भण्डारी उप–प्रमुख पदको दाबेदार थिइन् । तिवारी र भण्डारी दुबै साविक बाहुनडाँगी भू–भागका हुन् । एमाले स्रोतले निलकण्ठा तिवारीले टिकट पाउने संभावना प्रबल रहेको बताए । साथै, रमा भण्डारीले उप–प्रमुख पदमा पार्टी भित्र भएको आन्तरिक निर्वाचनमा सर्वाधिक मत ल्याउदा पनि पार्टीले टिकट नदिएर अन्याय गरेकाले स–सम्मान भणरीलाई प्रदेश सभाको उम्मेद्वार बनाउनु पर्ने बताएका छन् ।
झापा क्षेत्र नं. १ ‘क’ मा जस्तै ‘ख’ मा पनि भारी चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । सत्तागठबन्धनका तर्फबाट क्षेत्र नं. १ ‘ख’ बाट खासै धैरै जनाको चर्चा सुनिएको छैन । यस क्षेत्रबाट उम्मेद्वार हुनका लागि काङ्ग्रेसको पूर्व जिल्ला सचिव प्रेम सम्बाहाम्फेको मात्र नाम चर्चामा रहेको काङ्ग्रेस स्रोतले बताएको छ भने माओवादीका एक नेताले भने राजन चिमरीयाको पनि नाम चर्चामा रहेको बताएका छन् ।
त्यसै गरि एमालेका तर्फबाट प्रदेश कमिटी सदस्य घनश्याम अधिकारी, जिल्ला कमिटी सदस्य रेणुका डाँगी र अग्रज महिला नेत्री लता प्रसाईंको नाम चर्चामा रहेको छ । एमाले स्रोतका अनुसार यस क्षेत्रबाट प्रदेश सभाका निम्ति घनश्याम अधिकारीको उम्मेद्वारी लगभग पक्का भएको बताएका छन् ।
निर्वाचन नजिकिदै जाँदा क्षेत्र नं. १ मा सत्ता गठाबन्धन र एमाले दुबै पक्षले अप्रत्यासित निर्णय गर्न सक्ने संभावना पनि प्रबल रहेको छ ।

गठबन्धन हुँदा पनि एमाले पहिलो
स्थानीय तह निर्वाचनको मतले सत्ता गठबन्धन का तर्फबाट प्रतिनिधि सभा निर्वाचन विजय हासिल गर्न सहज वातावरण देखाउँदैन । निर्वाचन क्षेत्र झापा १ मा मेचीनगर नगरपालिकाको सबै वडा, भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १० तथा बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ नम्बर वडा पर्दछ ।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले यो निर्वाचन क्षेत्रमा एमालेलाई पहिलो पार्टीको रूपमा मत आएको छ । वडा अध्यक्षले पाएको मत जोड्दा कांग्रेसले मेचीनगरमा २० हजार १४६ मत पाएको छ । जबकी एमालेले २४ हजार ६३६ मत ल्याउँदा माओवादीसँग ३ हजार ४७५ मत छ । यता राप्रपासहित अन्य दलहरूले ५ हजार ३३३ मत ल्याएका छन् । यहाँ स्वतन्त्र उमेदवारले १ हजार ८७८ मत ल्याएका छन् ।
यस्तै, बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४, ५, ६ र ७ बाट कांग्रेसलाई ४ हजार १६५ मत आएको देखिन्छ । एमालेले भने ३ हजार ७४६ मत ल्याउँदा माओवादीसँग ३५४ मत मात्र छ । भद्रपुर नगरपालिकाको वडा नम्बर ९ र १० बाट कांग्रेसले १ हजार १७१ मत ल्याउँदा एमालेले भने २ हजार ८४१ र नेकपा (एकिकृत समाजवादी) ले ७८६ मत ल्याएको छ ।
झापा क्षेत्र नम्बर १ मा गएको स्थानीय तह निर्वाचनबाट वडागत हिसाव गर्दा कांग्रेससँग २५ हजार ४८२ मत देखिन्छ । यस्तै एमालेसँग ३१ हजार २२० मत छ । नेकपा (माओवादी केन्द्र) सँग ३ हजार ४७५ मत छ भने नेकपा (एकिकृत) १ हजार २३७, लोकतान्त्रिक समाजवादी पार्टीसँग १४३ तथा जनता समाजवादी पार्टीसँग ६९ मत छ । शर्माको निर्वाचन क्षेत्रमा राप्रपालगायत अन्य दलसँग ७ हजार ७८९ मत छ भने स्वतन्त्र उमेदवारको मत ४ हजार २७ छ ।
दलहरू एक्लाएक्लै लड्ने हो भने झापा क्षेत्र नम्बर १ मा एमाले बलियो छ । स्थानीय तह निर्वाचनजस्तै सत्ता गठबन्धन भए पनि कांग्रेसलाई जित्न कठिन देखिन्छ । वडागत मतलाई जोड्दा गठबन्धनसँग ३० हजार २६३ मत हुन आउँछ । जबकी यो मत एमालेभन्दा ९७५ ले कम हो ।