सफाइ उद्यान


हामी केही समयमा अलिक फरक अनुभूति बटुल्न चहान्थ्यौँ, नौलो स्थान घुमेर । यात्रा हाम्रो रहर र अनुभवहरुको संकलन गर्ने माध्यम हो । हामी यात्राद्वारा प्राप्त शिक्षालाई भविष्य निमार्णमा प्रयोग गर्न चाहन्छौँ । वर्तमानमा दुःख गरेर पनि सुन्दर भविष्यको कल्पना र योजना निर्माणमा रमाउनु हाम्रो धेय हो । त्यसैले हामी समय मिलाएर कहिलेकाहीँ कता–कता घुम्न निस्कन्छौँ । आज पनि हामीले अकस्मात निर्णयले एक यात्राको तय गर्यौँ । यो यात्रा यति रमणीय र फलदायी होला भन्ने हाम्रो कल्पनामा थिएन । हामी यस्तो ठाउँमा छौँ, जहाँको सुन्दरताको अगाडि अनुपम सौन्दर्यले भरिएको कुञ्जवनको सौन्दर्य पनि मिथ्या प्रतिक हुन्छ । साच्चै भन्नपर्दा यो ठाउँ कर्मशील किसानको शिरबिन्दुमा निस्किएको पसिना जत्तिकै सुन्दर छ ।
पश्चिममा एक नदी छ, जसलाई व्यवस्थित अवतरण गराइएको छ । ढुंगाका पर्खाल छन् तारले बुनेका । पर्खालको तह तह तरेली ढंग छ । माथिको तहमा सडक छ जहाँ मान्छे हिँड्ने बाटामो दुवैदुवोको मुलायम प्राकृतिक गलैँचा बिछ्याइएको छ । अहो ! बाटोको दुबै किनारमा घण्टी, लिली, निरकमल, लालुपाते, कागजी, बाह्रमासे, गुलाफ लगायतका फूलहरु छन् । धुपीका बान्की परेका बोट समेत छन् ।
कतै बस्नलाई खरले छाएको टुंसी त कतै चौतारी छन् र कतै–कतै नानीहरुलाई रमाउन पिङ र चिप्लेटी पनि छन् । छेउमा माछा पोखरी र पौडी पोखरी छन् । तिनका डिलैभरी खुर्सानी, लौका, काँक्रा, फर्सी लगायतका सागसब्जीहरु छन् । त्यसैगरी कुनै डिलमा केराको झाँङ र मेवा लटरम्म फलेको देखिन्छ त कतै–कतै आँप र लिचीहरु पनि देखिन्छन् । पूर्वपट्टीको फाँटभरी अन्न झुलेका छन् ।
प्रवेशद्वारमै बोर्डमा लेखिएको छ “पत्रु खाना र तिनका खोल भित्र लान सक्त मनाही छ ।” लु अब परो फसाद ! पत्रुमा पल्केका हामीलाई । आफै बोकेर पत्रु नै लान्थ्यौँ हामी सबै ठाउँमा खानलाई तर आज भने झोलाका यी खाद्यबस्तु फर्काएर लान पर्ने भयो । तर, हामी अन्योलमा पर्यौँ, भोक कसरी मार्ने ? झन् म त छिन्छिनमा खान पर्ने स्वभावको मान्छे हुँ नि । एक्कासी गलेको महसुस भयो ।
गोठ रहेछन्, बाख्राका खोर पनि रहेछन् शिरान तिर । खाजा खाने ठाउँ देखेर हतार–हतार सोध्यौँ के खान पाइन्छ ? उताबाट उत्तर आयो तपाईंहरुको इच्छा । यहाँ माछा मारेर पोलेर खान सक्नु हुन्छ, मकै भाँचेर पोलेर खान सक्नु हुन्छ, फलफूल टिपेर खान सक्नु हुन्छ, खसीको सेकुवा, कोदो, फापर वा मकैको रोटी र चाम्रे भात के खाने ? तपाईहरुका लागि स्पेसियल तरुल खाए पनि हुन्छ । लोकल कुखुराको परिकार पनि पाइन्छ । के खाने नि ? हामीले भोकको शोकलाई श्रम र पे्रम मिसिएको अर्गानिक मकैलाई पोलेर पन्साउने निर्णय गर्यौँ । खाजाको वास्तविक स्वाद त उतिबेला मात्र मिल्यो जब कोल्ड ड्रिंग्समा पल्केका हामीले मोही र कागतीको सर्बत रोज्जी खायौँ ।
नयाँ अनुभव बटुल्दै हामी यात्रारत छौँ । “उ.. त्यहाँ अगाडि सफाइ उद्यान छ” एक साथीले भन्नुभयो । यही हो यो नगरको सबै फोहोर बिसाउने ठाउँ । अहिलेसम्मको आनन्द स्वाटै खोसिएको महसुस भयो । अनायसै नाक खुम्चियो, अघि भर्खरै खाएको मीठो खाजाले पनि वान्ता होला जस्तो भयो । माक्स नाकमा थपियो अतर बट्टा खोलियो तर अच्चम त यो भयो कि, त्यो फोहोर फाल्ने ठाउँ थिएन सफाइ उद्यान थियो । नगरभरिको फोहोर आउने ठाउँ भएर के भो त ? फोहोरको कुनै अनुभूति थिएन । मैले त एक खिचिक सेल्फी हानी हाले ।
त्यहाँ गाडीबाट भर्खरै कटिङ मेसिनमा झारिएको फोहोरमा पानी मिसाउँदै कर्मचारीले भन्नुभयो, “यो कुहिने फोहोर हो, यहाँ काटिन्छ र ऊ.. परको खाल्डोमा रिजर्ब हुन्छ गड्यौलाको खानाको रुपमा । (त्यस खाल्डोलाई अध्याँरो पारिएको छ ।) करीब बाह्र हप्ता भित्र यो मल तयार भइसक्छ । उत्पादित मल करोडौँमा बिक्री हुन्छ नि हजुर यहाँबाट ।”
सबै फोहोर कुहिन्छन् त ? अनि नकुहिने फोहोरको व्यवस्थापन चाहिँ कसरी हुन्छ नि ? एकै ठाउँमा कसरी सम्भव होला ? हामीले सोध्यौँ । कर्मचारीले बताउनुभयो, “नगरबासीले फोहोर आफै सफा गरेर फरक–फरक सफाइ गाडीमा दिन पर्छ नि त । प्लाष्टिकको फोहोर, धातुजन्य फाहोर, सीसाजन्य फोहोर फरक–फरक दिनमा फरक–फरक गाडीमा ल्याइन्छ । आफू सफा रहन मन लगे जस्तै फोहोरलाई सफा गरेर संकलन गर्न सघाउँदा सधैँ सफा हुन्छ भन्ने जनचेतनाको विस्तार गरिएको छ नि त यहाँ ।”
कर्मचारीले उत्साहित हुँदै बताउनुभयो, “कुहिने फोहोरको यहाँ मल बन्छ, प्लाष्टिक उद्योगहरुले किन्छन्, धातु पनि बिक्री हुन्छन् । सीसा पनि बेच्न मिलिहाल्छ अनि दुर्गन्ध कहाँ हुन्छ र ?”
सबैतिर फूलैफूलको माझमा एक अग्लो नगरको मानचित्र (नगर म्याप) सीसाका टुक्राले रेखांकन गरिएको छ । अहो ! कस्तो अद्भूत कलाकृत । हाम्रो नगरको मानचित्र कति सुन्दर । रंगीन सीसाका टुक्राबाट रेखांकित हाम्रो नगरको मानचित्र अँध्यारोमा पनि चम्की रहने । सफाइ उद्यानको प्रमुख आकर्षण नै यही मानचित्र हो ।
हामी दंग छौँ ! यति राम्रो उद्यानको कल्पना कसरी कस्को मनमा आयो होला ? कसरी यति धेरै मान्छेले जीवन निर्वाहको बाटो पाए होलान् ? कसरी वर्षात्मा सधैँ पीर बनेको यो नदी जीवनधार बन्यो होला ? कसरी यो खोलामा मुस्कानको कलाकृति मिसियो होला ? कसरी यो सफाइ उद्यानले सजिवता पायो होला ?

क्रसर उद्योगको कर्कसले झल्याँस् भो… अलिखित सपनामा बद्लियो सफाइ उद्यान ।