पर्यटकीय स्थल पातालगंगा कालीखोला क्षेत्रमा सरसफाई अभियान


काँकरभिट्टा । झापाको मेचीनगर-६ स्थित धार्मिक एवम् पर्यटकीय स्थल पातालगंगा कालीखोला क्षेत्रको मंगलबार बृहत् सरसफाइ गरिएको छ । श्री पातालगंगा कालीखोला धार्मिक तथा पर्यटन केन्द्रको आयोजनामा भएको बृहत् सरसफाइ कार्यक्रमको १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले विधिवत उद्घाटन गरेका थिए । केन्द्रको योजनामा उल्लेख भएको पर्यटन प्रवर्द्धनका लागि सरसफाइ अभियान सञ्चालन गर्ने योजना अनुसार सरसफाइ कार्यक्रम गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दैं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सभा सदस्य मैनालीलले धार्मिक एवम् पर्यटकीय र एतिहासिक महत्व बोकेका यस्ता क्षेत्रको पहिचान गरी संरक्षण र प्रवर्द्धन गर्नु राज्यको दायित्व भएको बताए । राज्य सँगै स्थानीय स्तरबाट समेत यसको विकासमा हातेमालो गर्नुपर्ने उाले बताए । आफ्नो गाउँ–ठाउँको विकासका लागि स्थानीयहरु एकढिक्का भएर नफुटी जुटेर अघि बढ्नुपर्नेमा जोड दिदैं यस्ता कार्यका लागि प्रदेश सरकार जहिले पनि साथ सहयोग र समन्वय गर्न तयार रहेको बताए ।

कालीखोलामा रहेको पातालगंगामा वर्षभरि निरन्तर पानी पर्वाह भइरहने र यसक्षेत्रलाई संरक्षण गरी स्थानीय वासीन्दाहरुबाट धार्मिक विश्वासका साथ पुजाआजा गर्ने गरेको श्री पातागंगा कालीखोला धार्मिक तथा पर्यटन केन्द्रका सचिव शंकर भट्टराईले बताए । उनका अनुसार यस क्षेत्रको वरिपरी रहेका रमणिय स्थानहरुबाट बोट विरुवाहरुले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकृषित गर्ने गरेको छ । यहाँ रहेका अव्यवस्थित संरचना र प्राकृतिक छटाहरुलाई व्यवस्थित गरी संरक्षण गर्न सके भारत तथा अँन्य मुलकका पर्यटकहरु लगायत धार्मिक आस्थाका साथ नेपाल घुम्न आउने पर्यटकहरलाई आर्कषित गरी यसक्षेत्रको विकास गर्न सक्ने महशुस गरेर स्थानीय जनसहभागिताको आधारमा स्थानीय तथा सरोकारवाला निकायहरुसँग समन्वय गदैं कार्य गर्नका लागि श्री पातागंगा कालीखोला धार्मिक तथा पर्यटन केन्द्रको स्थापना गरिएको अध्यक्ष ओमप्रकाश खापुङको भनाई छ ।

सरसफाई कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल बोडर आउट पोस्ट काँकरभिट्टाबाट नेपाल तथा सशस्त्र प्रहरी, जनप्रतिनिधिहरु, स्थानीय संघ संस्था, सरकारी तथा गैर सरकारी कार्यालय, राजनीतिक दलका कार्यकर्ता, सञ्चारकर्मीसहित स्थानीयवासीको उल्लेखिय उपस्थिति रहेको थियो ।