बालकृष्ण थापा वडाध्यक्ष बन्ने बलियो सम्भावना


मेचीनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट मेचीनगर–६ को वडा अध्यक्षको उम्मेद्वार बनेका बालकृष्ण थापा मतदाताको मन जित्न सफल भएका छन् । विगतमा गरेका समाजसेवाका कारण आज उनी मतदातामाझ निकै रुचाइएका व्यक्तिका रुपमा परिचय बनाएका छन् ।

थापा व्यक्तिगत स्वार्थको लागि नभएर जनता र राष्ट्र हितको लागि आफू सधैँ लागि पर्ने बताउँछन् । उनले जनता र कार्यकर्ताको मर्म अनुसार काम गर्न जनप्रतिनिधिको रुपमा आफूलाई उभ्याउन खोजेको बताए ।

काँकडभिट्टा–६ निवासी थापा दिन दुःखी, असहाय, अनाथ, वियोग तथा विपत्तिका बेला सच्चा सारथी बनेर उभिने गरेका छन् । समाजमा आइपर्ने आपतविपत तथा अभरमा उनले विना स्वार्थ सहयोग गरेर मलमपट्टी लगाइरहेका छन् ।

कसैको घरमा चामल छैन, त्यहाँ उनी चामल लिएर पुग्छन् । कसैको खर्च अभावमा उपचार हुन पाएको छैन भने त्यहाँ उनी सहयोग गर्न पुग्छन् । समाजमा आइपर्ने जस्तोसुकै अभाव टार्न उनको केही न केही सहयोग पुगेकै हुन्छ । आज त्यही सहयोगको भावनाले गर्दा उनको परिचय पनि फराकिलो बन्दै गएको छ । तिनै बालकृष्ण थापालाई समाजले खोजिरहन्छ ।

२०३३ सालमा जन्मिएका बालकृष्णको बाल अवस्था अभावबाटै गुज्रियो । ‘म कुनै धनी मानी परिवारको मान्छे होइन,’ विगत सम्झँदै उनले भने, ‘त्यो बेलाको अभाव सम्झन्छु र म जस्तै अरूको पनि अवस्था त्यही होला जस्तो लाग्छ ।’

उनले स्वास्थ्य, शिक्षा, खेलकुदलगायत सामाजिक क्षेत्रमा ठुलो मानवीय सहयोग पु¥याएका छन् । कोरोना महामारीका बेला उनले करिब १० लाख बराबरको खाद्यान्न किनेर मेचीनगरका गरिब परिवारको घरघरमा पु¥याइदिए ।

बुबा देवीराम र आमा चेतकला थापाका एक्ला छोरा बालकृष्णको सपरिवार २०४२ सालमा काँकरभिट्टा आएको हो । भारतको अरुणाचलमा सैनिकमा कार्यरत बुबाको अवकाश भएपछि काँकरभिट्टालाई स्थायी थलो बनाएर थापा परिवारले किराना पसल सुरु गरे । बाबुआमाले व्यवसाय गरेको देखेर सानै उमेरमा व्यापार गर्न सिकेको उनी बताउँछन् । उनी त्यस बेला १३ वर्षका थिए ।

पढाइसँगै व्यापार व्यवसायमा आफूलाई लगाए । आजसम्म उनले व्यवसायलाई निरन्तरता दिएका छन् । त्यही व्यापारबाट कमाएको रकमको केही हिस्सा समाजमा लगानी गर्ने गरेको उनी बताउँछन् । ‘मान्छे एक दिन मरेर जान्छ,’ उनले भने, ‘पैसा लिएर कोही जाँदैन । केही सहयोग समाजका निम्ति गर्न सकियो भने त्यसबाट अवश्य पुण्य कमाइन्छ ।’

कम्युनिस्ट विचारधाराका थापा विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय छन् । काँकरभिट्टा माविको स्कुले जीवनबाट अनेरास्ववियूमा आबद्ध थापाले २०५४ सालमा आएर नेकपा एमालेको पार्टीको सदस्यता लिए । ०६४ मा संगठित सदस्य बनेका उनले एमाले पार्टी भित्र लोकप्रिय युवा नेताको छवि बनाएका छन् ।

०६२–६३ को जनआन्दोलनका बेला युवा दस्ता मोर्चा बनाएर राजाको ‘कु’ विरुद्ध सशक्त आवाज उठाए । युवा संघ कमिटीको वडा अध्यक्ष हुँदै उनले मेचीनगर युथ फोर्सको कमान्डरको जिम्मेवारी समेत समाले । उनको क्षमता र आँटलाई देखेर पार्टीले थप माथिल्लो जिम्मेवारी दिँदै लग्यो ।

उनको आवश्यकता महसुस गरेसँगै हाल आएर मेचीनगर एमाले कमिटीले सदस्य पदको महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ । विगतमा युवा संघ प्रदेश कमिटी सदस्य बनेका थापाले खेलकुद महासंघ प्रदेश सदस्यको जिम्मेवारी कुशलतापूर्वक समालिसकेका छन् । उनले नेपाल राष्ट्रिय वाणिज्य संघको जिल्ला सदस्य तथा नगर इन्चार्जको पनि जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।

पार्टीमा मात्र होइन, उनको सामाजिक संघसंस्थामा पनि उत्तिकै आवश्यकता खड्किने गरेको छ । उनी थुप्रै संघसंस्थामा आबद्ध रहेर सामाजिक परिवर्तनमा सहयोगी बनेका छन् ।

देवकोटा पार्कको सल्लाहकार संयोजक, बाल जागरण उद्धार केन्द्रको उपाध्यक्ष, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सल्लाहकार, नाइट चेस क्लबको आजीवन सदस्य, प्रहरी सेवा केन्द्र काँकरभिट्टाको सदस्यको जिम्मेवारीमा छन् ।

सञ्चार क्षेत्रको विकासमा पनि उत्तिकै सहयोगी बनेका थापा छड्के अनुसन्धान साप्ताहिकको प्रकाशकको जिम्मेवारीमा छन् । उक्त पत्रिका निरन्तर प्रकाशित भइरहेको छ । ‘समाजका सच्चा सिपाही’ का रूपमा चिनिएका थापा समयको ख्याल र काममा विश्वास गर्छन् । स्पष्ट वक्ता र निष्पक्ष व्यक्तिको रूपमा छवि बनाएका थापा भन्छन्, ‘आइपर्ने समस्यालाई तपाईँ हामीबाटै समाधान खोज्नुपर्छ । मान्छे मान्छेलाई सहयोग गर्ने हो भने समाज आफै बन्छ ।’

‘असली समाजसेवी त त्यो हो, जसले हरेक समाजमा बसोबास गर्ने समुदायका दुःख सुखलाई नजिकबाट नियालेको हुन्छ । अनि त्यही दुःख सुखमा साथ दिन्छ र चह¥याइरहेको घाउमा मलहम पट्टीको काम गर्छ’ थापा भन्छन्– ‘जतिखेर विश्व नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रास थियो, हजारौँ मानिसको ज्यान गइसकेको थियो, लाखौँ मानिसहरू संक्रमित थिए त्यस बेला मैले विना स्वार्थ नगरका विभिन्न वडाहरूमा पुगेर वडावासीलाई गरेको योगदानले पुष्टि गर्दछ ।’