उत्कृष्ट डाक्टर, कृषक र गृहिणी पुरस्कृत


मेचीनगर । ‘आफ्नै बुवाको सामू मैले आफ्नै गाउँमा सम्मानित हुन पाएँ, यो मेरो जीवनको सबैभन्दा ठूलो खुशीको विषय हो ।’

काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पतालका सहप्राध्यापक एवम् प्रसिद्ध न्यूरो सर्जन डा। गोपाल सेढाईले आज मेचीनगर–११ धाइजनमा उत्कृष्ट प्रतिभा पुरस्कार ग्रहण गर्दैगर्दा दिएको भावुक अभिव्यक्ति हो यो ।

जन्मी हुर्की गरेको आफ्नै गाउँमा उनलाई लाल भागिरथा बानियाँ प्रतिष्ठानले रु। ३१ हजार नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गरेको हो ।

आइएस्सीमा सिद्धार्थ बनस्थली विद्यालयबाट नेपाल प्रथम गरेका उनी ग्रान्डी इन्टरनेसनल हस्पिटलमा पनि कार्यरत छन् । उनका ६० भन्दा बढी शोधहरु अमेरिका, जापान, कोरिया लगायतका मुलुकका जर्नलमा प्रकाशित भइसकेका छन् ।

हेमोफिलियाका बिरामीमा भएको मस्तिष्क घातको पहिलो शल्यक्रिया गरेका उनैले श्रेय पाउने गरेका छन् । प्रतिष्ठानले आज सोही समारोहमा उत्कृष्ट कृषि पुरस्कारबाट मेचीनगर–३ का प्रधान किसान र उत्कृष्ट गृहिणी पुरस्कारबाट मेचीनगर–७ की ज्ञानु खड्कालाई पुरस्कृत गर्यो । दुबैलाई नगद रु। ३१ हजार पुरस्कार प्रदान गरिएको थियो ।

धाइजनस्थित प्रतिष्ठानको कार्यालय परिसरमा भएको पुरस्कार वितरण समारोहको प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्की थिए । प्रतिष्ठानको तेस्रो वार्षिक उत्सव तथा दोस्रो अधिवेशन समेत सोही अवसरमा आयोजना गरिएको थियो ।

उनले प्रतिष्ठानले स्थापनाकालदेखि नै समाजका उदाहरणीय प्रतिभाहरुलाई प्रोत्साहित गर्दै आएकोमा खुशी ब्यक्त गरे ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा भएको सो कार्यक्रममा बागमती प्रदेशका निवर्त्तमान प्रदेश प्रमुख विष्णु प्रसाई, मेची अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। टंक बाराकोटी, पुरस्कृत प्रतिभा डा। गोपाल सेढाई, बलभद्र जनता माविका प्रअ तुलसी सुबेदी, पाउँ पाथिभरा मन्दिरका वरिष्ठ उपाध्यक्ष यामनाथ मिश्र, तेराख प्रतिष्ठानका जय भण्डारी, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिष्ठानका सचिव मनोज बानियाँले स्वागत र उपाध्यक्ष डम्बर देउजाले सञ्चालन गरेको उक्त कार्यक्रमा प्रतिष्ठानको अधिवेशनले सर्वसम्मत निर्वाचित गरेको कार्य समितिको नाम घोषणा गरेका थिए । अध्यक्ष हरिचरण बानियाँले सोही अवसरमा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको बारेमा जानकारी दिएका थिए । अधिवेशनले हरिचरण बानियाँ अध्यक्ष, मनोज बानियाँ उपाध्यक्ष र डम्बर बहादुर देउयजा सचिव रहेका नयाँ कार्य समिति चयन गरेको छ ।

सो कार्यक्रममा पुरस्कृत प्रतिभा डा। गोपाल सेढाइका पिता दाताराम सेढाई, प्रधान किसानकी छोरी पुष्पिता किसान र ज्ञानु खड्काका पति सोमराज खड्काको उपस्थिति रहेको थियो ।

झापाको लाल भागिरथा बानियाँ प्रतिष्ठानले यसवर्ष चिकित्सा, कृषि र गृहिणी क्षेत्रमा विशिष्ट योगदान पुर्याउने तीन जना प्रतिभालाई हरेक वर्ष पुरस्कार दिने गरेको छ ।

दुई वर्ष अघि शिक्षासेवी हरिचरण बानियाँ र उनको दाजुभाईहरुको संयुक्त पहलमा स्वर्गवासी मातापिताको स्मृतिमा लाल भागिरथा बानियाँ प्रतिष्ठान स्थापना गरिएको थियो । संस्थाले समाजमा विशिष्ट योगदान पुर्याउनु भएका प्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले रु। १० लाखको सुरुवाती अक्षय कोष खडा गरेको छ ।

को हुन् डा. गोपाल सेडाई ?

डा. सेडाई झापाको मेचीनगर नगरपालिका वडा नं। ११ निवासी प्रसिद्ध न्यूरोसर्जन चिकित्सक हुन् । उनले हेमोफिलिया भएका बिरामीको मस्तिष्कघातको नेपालमै पहिलोपटक सफल शल्यक्रिया गरेका थिए । उनले भारतको नयाँ दिल्लीस्थित एम्सबाट एमएस एमसीएच डिग्री हासिल गरेका थिए ।

उनी हाल त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा सहप्राध्यापक छन् भने ग्रान्डी इन्टरनेसनल हस्पिटल लगायतका अस्पतालमा समेत उपचार सेवा प्रदान गरिरहेका छन् ।

आइएस्सी अध्ययनका क्रममा उनले सिद्धार्थ बनस्थलीबाट नेपाल प्रथम स्थान हासिल गरेका थिए । उनका ६० भन्दा बढी शोधहरु अमेरिका, चीन, कोरिया, जापान लगायतका मुलुकका जर्नलमा प्रकाशित भइसकेका छन् ।

को हुन् प्रधान किसान ?

उनी नेपालकै लोपोन्मूख एवम् झापामा मात्र पाइने किसान समुदायका अगुवा हुन् । नेपालमा आदिबासी वर्गमा पर्ने किसान समुदायको जनसङ्ख्या पाँच सयको हाराहारीमा रहेको मानिएको छ । उनी किसान समुदायमा छोराछोरीलाई शिक्षादीक्षा दिनुपर्छ र परम्परागत निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाएर आर्थिक उन्नतिको खुड्किलो उक्लिनुपर्छ भन्ने मान्यता राख्छन् ।

उनकी जेठी छोरी रेणुका किसान आफ्नो समुदायमा एसएलसी उत्तीर्ण गर्ने प्रथम महिला हुन् । अधियाँ र ठेक्का जग्गा कमाउँदै व्यावसायिक एवम् अग्ग्र्यानिक तरकारी खेतीबाट आर्थिक समृद्धि हासिल गरेको उनको संघर्षशील एवम् उदाहरणीय कर्मलाई पुरस्कृत गरिएको हो ।

को हुन् ज्ञानु खड्का ?

मेचीनगर–७ मा ८६ वर्षीया सासु रत्नमाया र ९४ वर्षीय ससुरा मानबहादुर खड्काको स्याहार र पारिवारिक व्यवस्थापनमा असल बुहारीको रुपमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुकी ३७ वर्षीया बुहारी ज्ञानु खड्कालाई यसवर्षको उत्कृष्ट गृहिणी पुरस्कार प्रदान गरिएको हो ।

बुहारी ज्ञानु खड्काले बुढ्यौली र अनेक रोगले थलिएकी सासु र प्रोस्टेटको शल्यक्रियापश्चात पिसाबको थैली शरीर बाहिर बोकेर हिँड्नु पर्ने अवस्थाका ससुराको नियमित स्वास्थ्य हेरचाह र पालनपोषणमा कुनै गुनासो आउन नदिई सेवा गरिरहेकी छन् ।