कसैले उत्तर दिन नचाहेका विषयमा प्रश्न सोध्न हिच्किचाउनु हुन्न


‘पत्रकारहरु अप्ठेरो समूहका सदस्य हुन् । उनीहरु माया गरिन वा प्रसिद्ध हुन कहीं गएका होइनन् । तर कसैले उत्तर दिन नचाहेका विषयमा प्रश्न सोध्न गएका हुन्’–वीवीसी पत्रकार जेरेमी प्याक्सम्यानको यो भनाइले पुष्टि गर्छ कि– पत्रकारिता पेशा सम्मानित तर जोखिम र चुनौतिपूर्ण छ । त्यसमा पनि छापा सञ्चार माध्यमका समस्या धेरै छन् । नेपालको सन्दर्भमा प्रकाशन नियमित हुन सक्नुलाई नै सफलता मान्ने गरिएको छ । नेपाली पत्रकारिताले कैयौं समस्या र चुनौति झेलिरहहेको सन्दर्भमा झापाको मेचीनगरबाट ०७३ साउनको पहिलो विहीबार प्रकाशन शुभारम्भ भएको खबर मञ्च साप्ताहिक पाँच वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेकोमा पत्रिकाका प्रकाशक तथा सम्पादक प्रकाश पौडेलसहित सिंगो टिमलाई हाार्दिक बधाई तथा अझ सफलताको शुभकामना व्यक्त  गर्दछु ।

प्रकाशन टिमले प्रविधिमा पत्रिकालाई अपडेट गर्दै  खबरमञ्च अनलाइन डटकम समेत सञ्चालनमा ल्याएको छ । खबरमञ्चमा सिर्जनशील र परिश्रमी  युवा पत्रकारहरु हुनुहुन्छ । समय र सन्दर्भमा  यसको विशेषांक बुलेटिन पनि प्रकाशन भएको पाइएको छ । गाउँबाट कठोर संघर्ष गरेर आजको स्थितिमा आइपुग्दा उहाँहरुले आफ्नो यात्रामा थुप्रै उकाली ओराली पार गर्नुभएको छ । समाज परिवर्तनका लागि पत्रकारिता नै गर्ने अठोटका साथ उहाँहरुले जारी राखेको यात्रा सफल र प्रशंसनीय छ । यो यात्रामा साथ दिने सवैको भूमिका महत्वपूर्ण छ ।   पत्रकारिताका विविध पाटो, विधा र क्षेत्रलाई स्थान दिएर पत्रकारितामा नयाँ स्वाद समेत चखाइरहेको छ खबरमञ्च । यस पत्रिकाको हरेक सफलता, संकट र अभावमा हामी साक्षी बनेका छौं । सहकार्य र सहयोग आदान प्रदान भइरहेको छ ।

एकराज गिरी

नेपालमा अझ मोफसलमा पत्रकारिता धेरै चुनौति झेल्दै आएको छ । छापा माधयम अर्थात पत्रिकाले अझ धेरै चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने अहिलेको अवस्था छ । यसबीचमा ०७७ बाट कोरोना महामारीको चपेटामा  नेपालको सञ्चार क्षेत्र नराम्रोसँग प्रभावित बन्न पुगेको छ । त्यसमा पनि बढी असर छापा माध्यमलाई परेको देखिन्छ । कोरोना संक्रमणको दोस्रो भेरियन्ट जारी रहदा धेरै पत्रिका बन्द हुन पुगेका छन् । कतिपय कार्यालय कपीमा सीमित छन् , थोरै माात्र नियमित छन् । धेरै पत्रकारले रोजगारी गुमाएका छन्  । यो बेलामा  सञ्चारमाध्यमको संरक्षण, विकासमा तीनै तहका सरकारको भूमिका महत्वपूर्ण हुन्छ । कोरोनाले थलिएको नेपाली सञ्चार क्षेत्रलाई  पूर्ववत् अवस्थाामा फर्काउन सरकारले अवस्था र समस्याको अध्ययन गरी आववश्यक  सम्वोधन गर्नुपर्छ ।  स्थानीय सञ्चारमाध्यमको संरक्षण र विकासमा स्थानीय सरकारको  अझ बढी भूमिका र जिम्मेवारी हुन्छ । स्थानीय सरकार स्थानीय सञ्चारमाध्यम र पालिका क्षेत्रका पत्रकारको व्यावसायिक हितको दायित्वबाट विमुख हुन मिल्दैन, जिम्मेवाार बन्नुपर्छ । सञ्चार माध्यमले पनि महामारीका बेला होस् या त अरु बेला सही, सत्य तथ्य र सन्तुलित सूचना सम्प्रेषणमा चुक्नु हुन्न । पत्रकारिताको गरिमा, मूल्य मान्यता, व्यवसायिकता, निष्ठा र आदर्श कायम राख्न सक्नुपर्छ, यो नै पत्रकारिता र पत्रकारको धर्म हो । वीवीसी पत्रकार जेरेमी प्याक्सम्यानले भने झैं कसैले उत्तर दिन नचाहेका विषयमा प्रश्न सोध्न हिच्किचाउनु हुन्न । समाजमा पछाडि पारिएका वर्ग, समुदायको बुलन्द आावाज बन्न सक्नु आजको पत्रकारिताको मुख्य कर्म हुन  आउँछ ।

विकसित नयाँ प्रविधि र सामाजिक सञ्जालका कारण अझ चुनौति बनेका छन् । सामाजिक सञ्जालमा समाचार ब्रेक भएपछि मात्र पत्रकारले थाह पाउने गरेका छन् । अर्थात सामाजिक सञ्जाललाई पछ्याउनुपर्ने बाध्यतामा छन् पत्रकार । पत्रकारको पहुँच सूचनाको स्रोतमा छैन । सञ्चार क्षेत्रमा चरम राजनीतिकरण र आर्थिक संकट विद्यमान छ । दक्ष जनशक्तिको उत्तिकै अभाव । नयाँ पुस्तालाई सिकाउँदै काम लगाउनुपर्ने, अलि जान्ने भएपछि कि अन्तै काम गर्ने कि विदेशिने प्रबृत्ति छ । भौतिक पूर्वाधार पर्याप्त छैन । विधिको शासन उत्तिकै खड्किएको विषय हो । पेशागत असुरक्षा छ । कुनै विषयमा खोज, अनुसन्धान गरेको तथा लेखेकै आधारमा गाली, धम्की, आक्रमणको शिकार हुनु परेको छ । पूर्ण व्यावसायिकता ग्रहण गर्न सकेको छैन अझै हाम्रा कामले । अधिकांश सञ्चारमाध्यम शहरमै केन्द्रित र रमाएका छन् । गाउँबारे ती सञ्चारमाध्यम बेखबर छ । निरक्षरता र गरिबी पनि गाउँमा सञ्चार पहुँच कमीको कारण बनेको छ । सरकारको पनि उत्तिकै जिम्मेवारी छ । स्पष्ट नीति, भएका व्यवस्थाको कार्यान्वयन नहुनु हामीले झेलिरहेका यथार्थ हुन् । यी चुनौतिकाबीच आफूलाई अब्बल सावित गरेर समाज र राष्ट्रप्रतिको गहन दायित्व निर्वाह गर्न चुक्नु हुन्न । चुनौति सामना गर्दै जानुपर्छ । विगतभन्दा बर्तमान सन्तोषनजनक छ । भविष्यलाई सुखद् बनाउनुपर्छ । यस अभियानमा खबरमञ्च  साप्ताहिकको पनि योगदान छ, यात्रा अविराम रहोस् ।

सञ्चारमाध्यम खुल्ने र बन्द हुने क्रम निरन्तर नै चलिरहेको छ । खुलेको सञ्चारमाध्यम बन्द हुनुहुँदैन । प्रकाशन संस्थाको दीगो विकास अहिलेको आवश्यकता हो । पत्रकार महासंघ झापाले सञ्चारमाध्यमको दीगो विकासका लागि समेत छलफल, अन्तरक्रिया सञ्चालन गर्दै आएको छ । झापामा ७० को हाराहारीमा सञ्चारमाध्यम (पत्रिका, एफएम रेडियो, टेलिभिजन, अनलाइन) छन् । सञ्चारमाध्यम समाज विकासको आधार हो । सञ्चारकर्मी पथप्रदर्शक । खबरमञ्च र आवद्ध सञ्चारकर्मी सबै पनि यो जिम्मेवारीभित्रै छन् । खबरमञ्चमा अझ धेरै सेरोफेरो, विषय, विधा समेटिन सकून् । पत्रकार आचारसंहिता, पत्रकारिताको सिद्धान्त र मूल्य–मान्यता सवै सञ्चारमाध्यम र सञ्चारकर्मीले सिरोपर गर्नुपर्ने हुन्छ, खबरमञ्च यसमै रहेर विकसित हुन सकोस् । शुद्धता, सन्तुलन, विश्वसनीयता, शिष्टता, नैतिकता, स्वच्छता जस्ता पत्रकारिताको सिद्धान्तभित्र छ– खबरमञ्च । आगामी दिनमा यी सिद्धान्तको पर्याय नै बन्न सकोस् । अझ उत्कृष्ट, अझ धेरैको रोजाई बन्न सकोस्– शुभकामना ।

(गिरी, पत्रकार महासंघ झापाका अध्यक्ष र पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक हुन् ।)