हात्तीसँग पर्यटनलाई जोड्ने ‘अर्जुनदृष्टि’


बाहुनडाँगी । मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्तीसँग पर्यटनलाई जोड्ने योजना अनुरुप प्रकृति पार्कको निर्माणलाई तिव्रता दिएका छन् । उनले हात्तीलाई मेची खोलाको बगरमै छेक्ने र त्यहिबाट फिर्ता पठाउने योजना सहित मेची बगरमा प्रकृति पार्क निर्माणलाई तिव्रता दिएका हुन् ।
भारततर्फबाट आउने जंगली हात्तीबाट प्रभावित बाहुनडाँगीलाई हात्तीको क्षतिबाट जोगाउन र पर्यटन प्रवद्र्धन गरी स्थानीयको आयआर्जन गर्न प्रकृति पार्कले सहयोगी भुमिका खेल्ने वडा अध्यक्ष कार्की बताउँछन् । हात्तीलाई पर्यटनसँग जोड्ने अभियान अनुसारनै यो पार्कको निर्माण गरिएको उनको भनाई रहेको छ । यसले हात्तीलई खोलामै रोक्ने र हात्ती हेर्न आउने पर्यटकलाई पार्कबाट हात्ती दर्शन गराउने योजना रहेको कार्कीले बताएका छन् । जनता तटबन्ध कार्यक्रम अन्र्तगत निर्माण भएको बाँधलाई आधार बनाएर पार्क निर्माण भइरहको छ । बाँधको पूर्व खोला पर्छ । खोला तर्फको बगरको निश्चित भागलाई घेराबारा गरेर पार्क निर्माण हुँदैछ ।
पार्कमा हात्तीलाई खान मन पर्ने बोट विरुवाहरु लगाउने कार्य भइरहेको कार्कीले बताएका छन् । पार्कमा अहिले हात्तीका रुचिकर विरुवाहरु बडहर, हात्तीफल, बर पिपल तथा अन्य गायो, अमला, इन्चाक, शिरिसको प्रजाती, तित्री, लिच्ची अम्बा, कुसुम, चिउरी, जमुनालगायतका बिरुवा रोपिएको छ । अहिले प्रकृति पार्कमा बृक्षारोपणलाई अभियानको रुपमा सञ्चालन गरिएको छ ।


पाँच हजार विरुवा रोप्ने लक्ष्य राखिएको प्रकृति पार्कमा अहिलेसम्म विभिन्न संघ संस्थाको सक्रियतामा तीन हजार विरुवा रोपिएको वडाअध्यक्ष कार्कीले बताए । पार्क निर्माणमा सहयोग गर्न मेचीनगरका विभिन्न संघ संस्थाहरुले पनि सहभागिता जनाइरहको छन् । यसै क्रममा वन नेपाल महिला समुह, प्रेस क्लब मेचीनगर, बाहुनडाँगी जेसीज, मेचीनगर लेडी जेसीज, धुलाबारी जेसीज, चारआली जेसीज र युवा संघ मेचीनगर, आरआरटी बाहुनडाँगी आदिवासी जनजाति महासंघ मेचीनगर लगायतका समूहले वृक्षारोपण कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
बृक्षारोपणलाई अभियानसँगै पार्कमा दुइवटा कृत्रिम हात्ती समेत बनाइएको छ । खोलाको बगरमा पाइने हुटिट्याउ प्रजातीका चराहरुको प्रतिक निर्माण गरिएको छ । पर्यटकलाई लोभ्याउन र हात्ती प्रकोपको क्षेत्रबाट हात्ती पर्यटनको क्षेत्रमा रुपान्तरण गर्न यो पार्कले ठुलो योगदान गर्ने अध्यक्ष कार्कीको दावी छ । ‘यसले बाहुण्डागीको परिचय नै बदल्ने विश्वास गरेको छु ।’ पार्क भित्र २२ वटा हात्तीका टाउका बनाएर त्यसबाट पानीको फोहोरा निकालिएको छ । उनले भने– ‘यो हात्तीका सुढबाट निस्किएको पानीमा नुहाउँदा पुण्य प्राप्ती हुने विश्वास गरिन्छ । यसलाई गणेश स्नान नाम दिएका छौं ।’ प्रकृति पार्कले बाहुनडाँगीको मुहार फेर्ने र हात्ती प्रतिको आम दृष्टिकोणलाई समेत परिवर्तन गर्न मद्दत पुग्ने कार्की बताउँछन् ।


यसका लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ठुलो सहयोग रहेको उनले बताएका छन् । कतिपय अवस्थामा विदेशी दातृनिकाय र संघसंस्थाहरुले पनि यस प्रकारका कार्यक्रममा सहयोग गर्ने गरेको उनले बताएका छन् । कार्कीको यो अभियानमा उनका वडाका जनप्रतिनिधि र स्थानीयवासीको भरपुर सहयोग रहेको छ । ‘पहिले पहिले अलिक अप्ठेरो थियो ।’ मेचीनगर वडा नम्बर ४ का वडा सदस्य पवन बराइलीले भने– ‘अचेल सबैले साथ र सहयोग गरिरहेका छन् ।’ सबैको साथ र सहयोग अनि हौसलाबाट पार्क निर्माण भइरहेको उनले बताए । यसै वर्षको दशै तिर पार्क सुरु हुने बताइएको छ ।