घर–घरमा पुगेर नगरबासीको स्वास्थ्य बुझ्दै मेचीनगर


मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई मध्यनजर गर्दै नगर सरकारले आवश्यक बजेट विनियोजन गरेर नगरबासीको स्वास्थ्य हितमा काम गरिरहेको हो ।
हरेक वडामा रहेका स्वास्थ्य चौकी सञ्चालनमा छन् । त्यहाँ प्राथमिक उपचार हुने गर्दछ । धुलाबारी तथा काँकरभिट्टामा सञ्चालित स्वास्थ्य केन्द्रको उपचार सेवा भरपर्दो बनेको छ । हिजोका दिनमा ती स्वास्थ्य केन्द्रमा उपचार गर्न जान सेवाग्राही डराउँथे । तर, आज ती स्वास्थ्य संस्थाहरुमा अत्याधुनिक प्रविधिमार्फत उपचार हुन थालेपछि सेवा लिनेहरुको संख्या पनि थपिन थालेको छ । नगरपालिकाको लगानी तथा पहलमा उपचार सेवालाई समयानूकुल थप सुविधायुक्त बनाइएको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।
यी त भए स्वास्थ्य केन्द्रहरुको सेवा । यसबाहेक नगरले घरघरमा गएर विभिन्न सर्ने तथा नसर्ने रोगहरुको पहिचान र सेवाहरु पनि प्रवाह गरिरहेको छ । क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तर्गत मेचीनगर नगरपालिकाले घर–घरमा गएर विरामीको उपचार र लगत संकलनलाई मूर्तरुप दिने काम गरेको छ ।

नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगरलाई पाँच वर्षभित्र क्षयरोग मुक्त पालिका घोषणा अभियानलाई सार्थकता दिन घर–घरमा पुगेर विरामीको स्वास्थ्य र लगत संकलन गरिरहेको बताइन् । ‘आगामी २०८३ सालमा मेचीनगरलाई क्षयरोग मुक्त पालिका घोषणा गर्नु पर्नेछ’, सापकोटाले भनिन्, ‘३ वर्ष भइसक्यो । अब २ वर्षभित्र अभियान सफल बनाउने गरी काममा लागेका छौँ ।’
स्वास्थ्य शाखाका अनुसार आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि माघसम्ममा ११४ जना क्षयरोगका विरामी भेटिएका थिए । त्यस्तै, गत वर्ष २०८०/०८१ मा २०५ जना क्षयरोगका विरामी भेटिएका थिए । यसैगरी, २०७९÷०८० मा २०० जना क्षयरोगका विरामी भेटिएको थियो । क्षयरोगका विरामीलाई विगतमा मेची आम्दा अस्पतालमा उपचार गरिएको थियो भने अहिले मेचीनगर आधारभूत अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ । गत माघमा कोशी प्रदेश सरकारको सहयोगमा एआई प्रविधिबाट क्षयरोग रोगका शंकास्पद ५०० जना विरामीलाई छातीको एक्सरे लगायतका उपचार निःशुल्क गरिएको शाखा प्रमुख सापकोटाले जानकारी दिइन् ।

उनका अनुसार क्षयरोग रोगका प्रत्येक विरामीलाई बर्षेनी पोसिलो खानेकुरा प्याकेजमा दिने गरिएको छ । जसमा एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल दिने गरिएको छ । लगत संकलन गरिएका क्षयरोग रोगका विरामीलाई निगरानीमा राखेर उपचारमा फलोअप गरिरहेको पनि उनको भनाई छ ।
पछिल्लो समय मानिसहरुको अव्यवस्थित खानपानका कारण दीर्घरोगहरुको संक्रमण बढ्दो क्रममा छ । यसबाट मेचीनगर पनि अछुतो छैन । मेचीनगरले पनि विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै दीर्घरोग निवारणका निम्ति कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । मेचीनगरमा नसर्ने रोगको जोखिम भएका ४० वर्षमाथिका उमेर समूहका बासिन्दाको मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सोसम्बन्धी रोगको, जाँच र जोखिम कम गर्न स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मिर्गौला, उच्च रक्तचाप, मधुमेह, मुटुरोग नियन्त्रणमा क्रियाशील सामुदायिक संस्था केएचडिसी नेपाल र मेचीनगर नगरपालिका बीच स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि गत भदौमा त्रिपक्षीय सम्झौता भई काम भइरहेको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् ।


सम्झौता पत्रमा मेचीनगर नगरपालिकाका तर्फबाट नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र केएचडिसी अध्यक्ष डा. राजेन्द्रप्रसाद पोखरेलले हस्ताक्षर गरेका थिए ।
कार्यक्रमअनुसार प्रतिष्ठान र केएचडिसी नेपालले मेचीनगरका घरघरमा पुगेर मुटुरोग, मधुमेह, उच्च रक्तचाप र दीर्घकालीन मिर्गौला रोगको उच्च जोखिम भएका बिरामी खोजेर स्थानीय स्वास्थ्यकर्मीलाई प्राविधिक उपकरण उपलब्ध गराउँदै सीप र क्षमता अभिवृद्धिमा सहयोग पुर्याउनेछ । नगर क्षेत्रमा घरदैलो गरेर फेला परेका नसर्ने रोगका बिरामीको विशेषज्ञ चिकित्सक र आवश्यकतानुसार टेलिमेडिसिनको माध्यमबाट उपचार भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।


नगरले स्वास्थ्य क्षेत्रमा गरिरहेको काम समग्रमा उल्लेखनीय मान्न सकिन्छ । तर पनि यसलाई पर्याप्त मान्न सकिन्न । स्वास्थ्य क्षेत्रमा बढिरहेको जोखिमलाई न्युनीकरण गर्न जनचेतामूलक कार्यक्रमहरु थप सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । ‘रोग लाग्न दिनुभन्दा रोग लाग्न नदिनु नै वेश’ भने झैँ नगरका हरेक नागरिकले आफ्नो स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्नुपर्ने देखिन्छ ।