मेचीनगर गोल्डकपकाे तयारी पुरा


मेचीनगर । काँकरभिट्टामा भोलिदेखि पाँचौँ मेचीनगर गोल्डकप सुरु हुँदैछ । आज साँझ काँकरभिट्टा स्थित खेल मैदानमा मेचीनगर गोल्डकप मुल आयोजक समितिले पत्रकार सम्मेलन गरेर गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।

मेचीनगर गोल्डकप मुल आयोजक समितिका संयोजक एवम् कोशी प्रदेशका पूर्व सांसद श्रीप्रसाद मैनालीले गोल्डकप भोलि शनिबारदेखि आगामी चैत २ गतेसम्म सञ्चालन हुने बताए ।

उनका अनुसार गोल्डकप सफल बनाउन ३०० जनाले आजिवन सदस्य लिएका छन् । ६ हजार दर्शक अट्ने गरीको प्यारापिट निर्माण गरिएको छ । प्रतियोगिता सम्पन्न भएको एक महिनामा गोल्डकपको हिसाव किताव सार्वजनिक गरिने उनले बताए ।

आर्थिक संयोजक समेत रहेका मुल आयोजक समितिका सहसंयोजक एवम् मेचीनगरका पूर्व नगरप्रमुख विमल आचार्यले छोटो समयको मेहेनतपछि ऐतिहासिक मेचीनगर गोल्डकप हुन लागेकोले सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

‘राजनीतिक दलमा जो जता भएपनि गोल्डकप सफल बनाउनु छ’, आचार्यले भने–‘पार्टी भन्दामाथि उठेर मेचीनगर गोल्डकप गराउन सबै राजनीतिक दल एक ठाउँमा लागेका छौँ । गोल्डकप सफल बनाउन सञ्चारकर्मीहरुले राम्रो भूमिका खेल्दिनु पर्छ ।’

गोल्डकपमा ए डिभिजनका ३ वटामा एपिएफ फुटबल एफसी काठमाडौँ, मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड ललितपुर, विदेशी टिममा भारतको जर्जीयन एफसी कालिम्पोङ र व्ल्याक बुल्स् एफसी उजेवकिस्तान, धरान फुटबल क्लब, झापा एफसी (एनएसएल) र आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर गरी ८ वटा टिम प्रतियोगितामा सहभागी हुने बताइएको छ ।

उद्घाटन खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जीयन एफसी कालिम्पोङबीच प्रतिस्पर्धा हुने छ ।

उद्घाटन खेलको प्रमुख अतिथि कोशी प्रदेशका सांसद गोपाल तामाङ र विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी रहनेछन् ।

प्रतियोगिता समापनको प्रमुख अतिथिमा कोशी प्रदेश सरकार मुख्यमन्त्री हिक्मतकुमार कार्की र विशिष्ट अतिथि झापा क्षेत्र–१ का प्रतिनिधि सभाका सांसद विश्वप्रकाश शर्मा रहने आयोजकले जनाएको छ ।

भोलि उद्घाटनका दिन अन्तराष्ट्रिय नारी दिवस भएकाले महिलाहरुलाई टिकट निःशुल्क गरिने आयोजक समितिका सचिव राजु कार्कीले बताए । गोल्डकप सम्पन्न गर्न करिव ८० लाख अनुमानित खर्च लाग्ने बताइएको छ ।

खेल मैदानलाई आकर्षक बनाइएको छ भने सुरक्षा, स्वास्थ्य र सवारी पार्किङको व्यवस्थालाई मजवुत पारिएको बताइएको छ ।

पत्रकार सम्मेलनमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओली (दिनेश), पूर्व अध्यक्ष मिनबहादुर वस्नेत, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर (मामा) लगायतका फुटबल प्रेमीहरुको उपस्थिति रहेको थियो ।