टाइब्रेकरमा तुर्केनीलाई स्तब्ध पार्दै धुलाबारी फाइनलमा


नकलबन्दा । धुलाबारी फुटबल क्लब दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । फाइनल प्रवेश गरेसँगै धुलाबारीले नगद ३० हजार सुरक्षित गरेको छ । मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा धुलाबारीले टाइब्रेकरमा तुर्केनी फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो ।
निर्धारित ३०–३० मिनेटको खेलमा गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । धुलाबारीका आदित्य ढुंगेल, सञ्जोक भुजेल र रञ्जित लिम्बूले गोल गरेका थिए । तुर्केनीका अभिषेक गुरुङ, रोशन धिमालले गरेको पेनाल्टी गोलमा परिणत भएको थियो भने मनिष लिम्बूको प्रहार धुलाबारीका गोलरक्षक युवराज डाँगीले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको म्यान अफ दि म्याच धुलाबारीका गोलरक्षक युवराज डाँगी घोषित भए । उनले नगद १ हजारसहित ट्रफी प्राप्त गरे । दोश्रो सेमिफाइनल खेल बिहीबार आदर्श युवा क्लब र आयोजकबीच हुनेछ ।
मेची आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन भएको फुटबल प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्‌ ।
प्रतियोगिताको प्रथम पुरस्कार स्वर्गीय कार्गिल विजयवीर सहिद सुरेश क्षेत्रीको परिवारबाट प्राप्त भएको छ भने दोश्रो पुरस्कार स्व। टंक बहादुर देवकोटाको स्मृतिमा देवकोटा परिवारबाट प्राप्त भएको छ । प्रतियोगिताको प्रायोजकमा नकलबन्दा बचत तथा ऋण सहकारी संस्था लि। रहेको छ भने सहयोगी संस्थाहरुमा गंगा मेमोरियल इङ्लिस स्कुल र मेची आधारभूत विद्यालय रहेका छन्‌रु ।
प्रतियोगिता अन्तर्गत विभिन्न विधामा समेत खेलाडीहरुलाई अवार्ड प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १ हजार, उत्कृष्ट गोलकिपरलाई ३ हजार १ सय, प्लेयर अफ द टुर्नामेन्टलाई २ हजार १ सय र सर्वाधिक गोलकर्तालाई २ हजार १ सयसँगै मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।