प्रथम झापा कप : एनआरटी सेमिफाइनल प्रवेश
बिर्तामोड । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
बिहीबारको खेलसँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औँ मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान अञ्जन विष्टले विदेशी खेलाडी नेमारको क्रस पासमा सुरुवाती अग्रता दिलाए । ३६ औँ मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्याए । चित्लाङका डिफेन्डर गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गरे ।
खेलको ४२ औँ मिनेटमा चित्लाङले १ गोल फर्कायो । चित्लाङका लागि विदेशी खेलाडी फाजिलको हेडरलाई जनक कोइरालाले गरेको भली प्रहार सुन्दर गोल भएको थियो । ६५ औँ मिनेटमा अञ्जनको पासमा मैदानको मध्यभागबाट सिंगल खेल्दै नेमारले एनआरटीका लागि अर्को गोल थपे । ६८ औँ मिनेटमा शिशिर लेखीले गोल थप्दै खेललाई ४–० को अवस्थामा पुर्याए । नेमारको पासमा डिबक्समा अनमार्क रहेका लेखीले गोल गर्न सफल भएका थिए ।
८८ औँ मिनेटमा पेनाल्टीमार्फत एनआरटीले गोल थप्यो । गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टी सदुपयोग गर्दै अञ्जनले ह्याट्रिक पूरा गरेका थिए । जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उनी एक्ला खेलाडी बनेका छन् ।Nएनआरटीले विपक्षी पोस्टमा दर्जनौँ आक्रमण गरेको थियो । खेलको २१ औँ मिनेटमा अञ्जनले २५ यार्डबाट गरेको फ्रिकिक चित्लाङका गोलरक्षकले पञ्च गरेर जोगाए । एकपक्षीय जस्तो खेलमा खेल अवधिभर एनआरटी हाबी भएको थियो । २८ औँ मिनेटमा नेमारले गोल गर्न सकेनन् । २९ औँ मिनेटमा अञ्जनको प्रहार पोलमा लागेर फर्कियो ।
एनआरटीले गत वर्ष यही रंगशालामा भएको झापा गोल्डकपमा चर्च ब्वाइजसँग १–० को हार व्यहोरेको थियो । भर्खरै सम्पन्न इलाम गोल्डकपको एनआरटी च्याम्पियन हो । खेलको प्लेयर अफ द म्याच एनआरटीका कप्तान अञ्जन विष्ट भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।
शुक्रबारको पहिलो सेमिफाइनल खेल सिरहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजकले जनाएको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबसँगको भेट पक्का गरेको छ ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।
मेचीनगर । मेचीनगर – १४ स्थित बिहानी बचत...
मेचीनगर, ६ पुस । नेपाल जेसीजको उत्कृष्ट युवा...
बिर्तामोड । न्यु रोड टिम ९एनआरटी० झापाको बिर्तामोडमा...
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको...
मेचीनगर । ‘प्रथम इण्डो नेपाल अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२५’...
बिर्तामोड । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी...