सामान्य मान्छेको असामान्य बदलाको कथा


विजय सेतुपति र अनुराग कश्यपको मुख्य भूमिका रहेको तमिल फिल्म महाराजाले हलहरुमा उत्कृष्ट व्यापार ग¥यो । तमिल भाषामा रिलिज भएको २० करोडको लगानीमा बनेको फिल्मले बक्स अफिसमा सय करोडभन्दा माथिको व्यापार मात्र गरेन समीक्षकहरुको वाहवाही पनि लुट्यो । यही फिल्मले अहिले ओटिटी प्लेटफर्ममा समेत सबैको प्रशंसा समेत प्राप्त गरिरहेको छ । ओटिटीमा फिल्म हिन्दी भाषामा समेत रिलिज गरिएको छ । निथिनल स्वामीनाथन निर्देशित यो फिल्मले एउटा सामान्य व्यक्तिको असामान्य बदलाको कथा भन्छ ।

कपाल काट्ने नाई महराजा (विजय सेतुपति) आफ्नी श्रीमती र छोरीसँग खुसी खुसी जीवन बिताइरहेको छ । एकदिन अचानक दुर्घटनामा उसको श्रीमतीको मृत्यु हुन्छ र सानी छोरीलाई एउटा फोहोर फ्याक्ने भाँडाले बचाउँछ र त्यो भाँडाको नाम बाबु छोरीले ‘लक्ष्मी’ राख्छन् । एकदिन अकस्मात घरमा पसेका ३ जना चोरले महाराजालाई घाइते बनाइ लक्ष्मीलाई लिएर जान्छन् । प्राणभन्दा प्यारो लक्ष्मीको खोजीमा पुलिसलाई गुहार्न पुगेका महाराजाको कहानी त्यसपछि भने अनेकौँ मोडबाट गुज्रन्छ । महाराजाको घरमा चोरी गर्न पुगेका चोरहरुको नाइके सेल्बम (अनुराग कश्यप) को आफ्नो छुट्टै कथा छ । सेल्बम बिजुलीका सामान बेच्ने सामान्य व्यक्ति हो जो श्रीमती र एउटी छोरीसाथ जीवन बिताउँछन् । उनको पारिवारिक सामान्य परिवारबाहेक जीवनको अँध्यारो पाटो पनि छ । यी दुई महाराजा अनि सेल्बमको जीवनका संघर्ष अनि बदलाको कहानी नै फिल्मको मुख्य कथावस्तु हो ।

महाराजाको मुख्य पक्ष भनेको बेलाबेला आउने ‘ट्विस्ट’ अनि ‘क्लाइमेक्स’ हो । एकसय ४१ मिनेटसम्म दर्शकलाई बाँध्न फिल्म सफल भएको छ । आँखा झिमिक्क गर्दा महत्त्वपूर्ण ‘ट्विस्ट’ मिस हुने डरले दर्शकलाई फिल्मसँग बाँधेर राख्छ । फिल्मको अन्तिममा देखाइएका दृश्यले दर्शकलाई भावविह्वल मात्र बनाउँदैन कठोर मनमा समेत आँशुको बहाब गराउँछ । फिल्ममा प्रतिकात्मक बिम्बको प्रयोग भरपुर मात्रामा गरेको पाइन्छ । फिल्म सकिएपछि दर्शकको दिमागमा चल्न थाल्छ । कथाका एकएक दृश्य अनि ती दृश्यले जोड्दै लगेका असरहरु दर्शकले फिल्म सकिएपछि महसुस गर्छन् ।

महाराजाको अर्काे सशक्त पक्ष भनेको अभिनय पनि हो । बदलाको एउटा सामान्य कथालाई परिष्कृत ढंगले पस्किन निर्देशकलाई उत्कृष्ट अभिनेताको शतप्रतिशत चाहिन्छ । विजय सेतुपतिले यसमा आफूलाई एकपटक फेरि ‘लिजेन्ड’को रुपमा प्रस्तुत गरेका छन् । अनुराग कश्यप आफैँमा पृथक अनि उत्कृष्ट निर्देशक हुन् । पछिल्लो समयमा अभिनयमा खारिदै आएका उनले महाराजामा सेतुपतिलाई अभिनयमा समेत टक्कर दिन सफल भएका छन् । उनलाई पर्दामा हेर्दा दर्शकलाई उनीप्रति डर अनि आव्रmोश सिर्जना हुनु उनको उत्कृष्ट अभिनयको दृष्टान्त हो । दक्षिण भारतीय फिल्ममा सस्पेन्स अनि थ्रिलर जनरामा उत्कृष्ट फिल्म बन्ने गरेका छन् । महाराजाले तिनै फिल्ममध्ये आफूलाई अब्बल दर्जामा उभ्याउन सफल बनेको छ । बदलाको विषयवस्तुमा बनेका अनेकौँ फिल्म होलान् तर प्रस्तुतिको फरकपन अनि कथा भन्ने शैलीका कारण महाराजालाई अन्य फिल्मभन्दा पृथक फिल्मका रुपमा गणना गरिनेछ ।