खस्किँदैछ शैक्षिक नतिजा !


मेचीनगर । माध्यमिक शिक्षा परीक्षा २०८० को नतिजा भर्खरै प्रकाशित भयो । तथ्याङ्कले समग्र देशको नतिजा कमजोर देखायो । देशको नतिजासँग मिल्दोजुल्दो नतिजा निकाल्यो झापाले, जिल्लाको उत्तीर्ण प्रतिशतकै हाराहारीमा उत्तीर्ण भए मेचीनगरबाट सहभागी परीक्षार्थीहरु ।
आधा बढी विद्यार्थी असफल भएपछि समग्र देशको खस्कदो शैक्षिकस्तर उदाङ्गो बनाइदिएको छ । जब २०७२ पछि पहिलो पटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० का विद्यार्थीलाई रोक्ने नीति अवलम्बन ग¥यो, त्यहीबाट झन्डै अढाई लाख विद्यार्थीको एसईईको पुरानै फलामे ढोकाले ११ अध्ययन गर्ने लक्ष्यमा विराम लगाइदियो ।
यस पटकको एसईईको नतिजा केवल नतिजा मात्र थिएन, थियो त देशको हालको समग्र शैक्षिक अवस्थाको बोध गर्ने र त्यसबाट माथि उक्सन अपनाउनु पर्ने रणनीति बनाउने अवसर । तर, नतिजा प्रकाशन पछि आजसम्मको अवधि हेर्दा नत केन्द्र सरकार न माध्यमिक तहसम्मको शिक्षा हेर्ने जिम्मा पाएको स्थानीय सरकार नै, नतिजा प्रकाशन भएयता बेखबर जस्तै छन् । झापाका अधिकांश शिक्षा शाखाले एसईई नतिजाको विद्यालयगत प्राप्त विवरण सार्वजनिक गर्दा शिक्षा शाखा मेचीनगरले भने नतिजाको विवरणसम्म आधिकारिक रुपमा बाहिर ल्याउन सकेन ।
फितलोे शिक्षा नीति
शिक्षामा लगानी जरुरी छ । देशको मुहार फेर्न शिक्षामा सुधार आवश्यक छ जसका लागि हामी गर्छौं लगानी ।’ स्थानीय सरकारको बजेटमा शिक्षाले पाएको हिस्सा हेर्दा यस्ता आदर्श नारामा सीमित भएको पुष्टि हुन्छ । प्रचलित अन्तर्राष्ट्रिय मान्यता नै हो शिक्षामा कम्तिमा २० प्रतिशत बजेट छुट्याउनु पर्छ भन्ने । तर, २ अर्ब ५ करोडको बजेट ल्याएको मेचीनगरले शिक्षामा ५ प्रतिशतसमेत लगानी गरेको देखिँदैन । नगर सभामा प्रस्तुत भएको बजेट हेर्दा यसवर्ष नियमिततर्फ ४ करोड र पूर्वाधार निर्माणमा १ करोड गरी करिब ५ करोड रकम शिक्षामा विनियोजन भएको देखिन्छ जुन अत्यन्तै न्यून हो । नगरको बजेटमा समेटिएको शिक्षा नीतिमा समेत गुणस्तरसँग प्रत्यक्ष जोडिने योजना खासै देखिँदैनन् । बरु उल्टै देखिन्छन् अवलोकन भ्रमण, सधँै औपचारिकतामा सीमित बन्ने तालिम अनि प्रदर्शनी, दिवस मनाउने योजना ।


यस्ते छ शिक्षा शाखाको योजना
–होमनाथ भण्डारी, प्रमुख–शिक्षा युवा तथा खेलकुद शाखा मेचीनगर
सिकाई प्रभावमा कक्षाकोठा व्यवस्थापन, शिक्षकको कमजोरी, अभिभावकको निष्कृयता जस्ता थुप्रै पक्ष रहन्छन्, हामीमा सिधैं बालबालिकालाई मात्र दोष दिने चलन छ । अबको शिक्षणमा कर्तब्यप्रति बोध गराउने, माथिल्लो निकायले पुरस्कार÷प्रोत्साहनको व्यवस्था गर्ने, नतिजा सुधारका लागि आवश्यक परे केन्द्रीय स्तरमा पाठ्यक्रम सुधार गर्नेलगायतका रणनीति अपनाउन सकिन्छ । यो पटक मूल्याङ्कन प्रणालीमा भएको कमजोरीले पनि नतिजामा प्रभाव पारेको देखिन्छ । जसलाई केन्द्रले सुधार गर्ने नै छ ।
बाँकी रह्यो नगरको योजना, ‘नगरले भर्खरै मात्र ‘रियल प्लान’ कार्यान्वयन गराउँदै विशेष गरी कोभिडको कारण उत्पन्न शैक्षिक क्षति परिपूर्णका लागि लगानी गरेको छ । नगरका ४२ विद्यालयका लागि ५ लाख रकम विनियोजन गर्दै गुणस्तर सुधारको प्रयत्न गरेका छौं । यद्यपि यो मात्रै पर्याप्त होइन, हामीले नतिजा हेरिसकेपछि सामुदायिक विद्यालय संस्थागत विद्यालयभन्दा कमजोर देखिए पछि हामीले काम नगरेको कुरा बोध हुनुपर्छ । अब यस बीचमा हामीले नतिजा सुधारका लागि के गर्ने भन्ने ठोस योजना तयार पार्नै पर्छ ।

यस्तो छ सरोकारवालाहरुको सुझाव :

–मणिकुुमार लिम्बू, बाल अधिकारकर्मी
परीक्षा प्रणाली र कक्षा सिकाइमा तालमेलको अभावले नतिजामा प्रभाव पारेको छ । प्रश्न निर्माणमा पनि समस्या छन् । सबैले लेख्न सक्ने गरी प्रश्न तयार पारिनु पर्छ । बाह्य परीक्षाको भार ७५ बाट ५० प्रतिशतमा झार्नु पर्छ । पाठ्यक्रम सरलीकृत गर्न जरुरी छ ।

–कविन्द्र श्रेष्ठ, अध्यक्ष एनप्याब्सन मेचीनगर
विद्यालयमा शिक्षण सिकाइको अवस्था र विद्यार्थीहरुले त्यसलाई ग्रहण गरे÷नगरेको विषयमा शिक्षा शाखाबाट नियमित अनुगमन गर्नु पर्ने, अनुगमनपछि देखिएका कमजोरी तथा सबल पक्ष दुबैलाई गुणस्तर विकासका लागि सुझाव दिने, थप पृष्ठपोषणका लागि प्रअ गोष्ठी गर्ने, शिक्षकलाई विषयगत तालिमको व्यवस्था, एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी पुरस्कृत गर्ने तथा विद्यार्थीहरुमा पुनर्बल कार्यक्रम तथा परीक्षा केन्द्रित गोष्ठी राख्ने ।”

– डम्बर रुचाल, अध्यक्ष प्याब्सन मेचीनगर ।।
शिक्षा क्षेत्रमा हुने गरेको असन्तुलित र असहिष्णुता सिर्जना गर्ने मिडियावाजी अन्त्य गर्नुपर्ने, शिक्षक विद्यार्थीको उपचार गर्ने मर्यादित डाक्टर हो भन्ने भाष्य निर्माण गर्नुपर्ने, दीर्घकालीन योजना निर्माण गर्ने, विद्यालयलेसमेत आफ्नै सिलेवश निर्माण गर्ने, उपचारात्मक विधिको प्रयोग, सबै सरोकारवालाहरुको सहभागितामा पठन संस्कृतको विकास, शिक्षकको मर्यादा खलल भइरहेको अवस्थामा विद्यार्थी, अभिभावक, कर्मचारी र शिक्षक बीच अभिमूखीकरण कार्यक्रम सञ्चालन गर्ने, सिर्जनात्मक, निर्माणात्मक तथा अनुसन्धानात्मक शिक्षण सिकाईका लागि शिक्षकले अध्यावधिक गर्ने र गर्न नसक्ने शिक्षकलाई ससम्मान विदाई तथा नयाँ व्यवस्थापन गर्ने ।

– विश्व थापा, प्रधानाध्यापक बाल सुबोधनी मावि
विद्यार्थीहरुमा पढ्ने बानी हराउँदै गयो, उनीहरुमा पठन संस्कृतिको विकास गराउन सबै लागि पर्नुपर्छ । कोभिडका कारण कक्षा चढाएरै १० मा पुगेका विद्यार्थीको नतिजा यसप्रकार देखिएको हो नीजि स्रोतमा सञ्चालन भएका विद्यालयमा शिक्षक अभाव छन् । एसईईमा मात्र राम्रो नतिजा खोजेर हुँदैन तल्लो कक्षाबाटै प्रभावकारी शिक्षणको थालनी गर्नुपर्छ ।

– महेन्द्रविलास लुईंटेल प्रधानाध्यापक धुलावारी मावि
अभिभावकको शैक्षिक र आर्थिक अवस्थाको प्रभाव पढाइमा पर्दछ, क्यासलाई कक्षा चढाउने सहज आधार बनाउँदा पनि नतिजा खस्किएको छ । कोभिडको क्षति न्यूनीकरण भएन, सर्वपक्षीय मूल्याङ्कनको नाममा सातो जाने ७ पेजको गणित र विज्ञानको प्रश्नको पनि दोष छ यो पटक । समता भन्ने तर, काठमाण्डौं र मोफसललाई एउटै प्रश्नबाट मूल्याङ्कन, विद्यार्थीले सिकेन भने मैले सिकाउन जानिन भन्ने कुरा कोही स्वीकार नगर्ने, विद्यार्थी थौरै हुँदा अल्छि र धेरै हुँदा बोझ मान्ने प्रवृत्ती, अटोस्वीचिङ मोडलमा दरवन्दी मिलान र विद्यार्थी कम वा नभएका विद्यालय मर्ज गर्न जरुरी छ । जग बलियो भए घर बलियो हुन्छ भनेझैं कक्षा ५ र ८ मा नगरस्तरीय परीक्षा लिएर गुणस्तर र नतिजाको समीक्षा र रिमेडियल टिचिङ जस्ता योजना बनाउन अनिवार्य छ ।
समग्रमा नतिजा सुधार गर्न जसरी तामझामका साथ एसईई परीक्षा सञ्चालन गरिन्छ त्यस अनुसारको विद्यार्थीको गुणस्तर र विद्यालय तहमा शैक्षिक गुणस्तर कायम गर्न सकिएको छ या छैन निक्र्योल हुन जरुरी छ । अब देखाउनका लागि हैन देखिनका लागि काम गरौं । शिक्षाका सबै सरोकारवालाहरु हर समय विद्यार्थीको शैक्षिक उपलब्धि र उनीहरुका हरेक व्यवहार अवलोकन गरौं । सबैको सहभागितामा सम्भव छ गुणस्तरीय शिक्षा र नतिजा अनि मात्र तय हुने समृद्ध मुलुकको परिकल्पना ।

हेमकुमार खड्का : पूर्व प्रधानाध्यापकः आदर्श मावि मेचीनगर
विद्यार्थीहरुमा पठन संस्कृतिको कमी, सिकाइप्रति आकर्षित नहुनु, ध्यान केन्द्रित हुन नसक्नु, परीक्षाको नजिक मात्र पढनु पर्ने संस्कार जस्ता समस्या छन् । जसको निराकरणका लागि शिक्षकहरुले आफूले प्राप्त गरेको प्रति कक्षाको ४५ मिनेटको लागि एउटा सशक्त पाठ योजना तयार गरी शिक्षण गर्ने, कक्षा कार्यलाई बढी भन्दा बढी समय दिने, सिकाइ समूह निर्माण गरी त्यसलाई बढीसेबढी प्रयोग गर्ने, अभिभावक शिक्षालाई प्राथमिकताका साथ अघि बढाउने, विषय शिक्षक समूह निर्माण गरी सशक्त लघु योजना बनाई शिक्षण गर्ने ।