नगरको राजधानी वडा : सबै क्षेत्रमा गतिलो विकास
मेचीनगर । पूर्वी सीमा नाकासँग जोडिएको मेचीनगर नगरपालिका जनसंख्याको हिसावले देशकै सबैभन्दा ठूलो नगरपालिको हो । देशमा संघीयता कार्यान्वयन भएसँगै यस नगरले, शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार विकासमा फड्को मार्दै गएको छ । संघीयता कार्यान्वयन हुनुपूर्व सानो क्षेत्रफलमा रहेको यो नगरमा बाहुनडाँगी, धाइजन, ज्यामिरगढी र दुवागढी समायोजन भएपछि भौगोलिक रुपमा समेत यो नगरपालिका बृहत बन्न पुग्यो ।
लामो समयसम्म स्थानीय तहको निर्वाचन हुन नसक्दा र जनप्रतिनिधिको अभावमा विकासले खासै गति लिन सकेको थिएन । २०७४ सालमा स्थानीय तहहरुको निर्वाचन भएर जनप्रतिनिधिले बागडोर सम्हालेसँगै यस नगरका विभिन्न वडामा विकासका कार्यक्रमलाई तीब्रता दिन थालिएको छ । २०७४ को पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले अनुभव बटुल्दै भएपनि विकासका केही कार्यक्रमलाई अघि बढाएका थिए भने दोस्रो पटक २०७९ सालमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले भने विकास निर्माणका दीर्घकालीन योजनाहरु अघि सारेर वडाको विकासलाई अघि बढाउँदै लगेका छन् ।
मेचीनगरका १५ वडा मध्ये वडा नम्बर ७ पूर्वाधार विकासका हिसावले निक्कै पछि परेको थियो । यस वडामा पछिल्लो केही वर्षदेखि विकासको गति अघि बढेको छ । वडाले पछिल्लो समय पूर्वाधार विकाससँगै, स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ । ‘यस वडालाई सम्मुनत वडाको रुपमा विकास गर्ने योजना अघि सारेको छौं,’ वडाध्यक्ष प्रह्लादमणि ओलीले भने, ‘यस वडामा मेचीनगरकै गौरवको दुईवटा योजना कार्यान्वयन भएका छन् । सिँचाईको लागि यस वडामा बृहत नहर निर्माण र प्यारीभिट्टा बसपार्क सञ्चालनका साथै कालोपत्रे सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका महत्वपूर्ण कामलाई तीब्रता दिएका छौं ।’
यस वडामा पर्ने ठूला सडक कालोपत्रे गरिएका छन् भने कतिपय भित्री सडक समेत कालोपत्रे उन्मुख भएका छन् । वडाले आर्थिक वर्ष ०७९÷०८० मा दुईवटा भित्री सडक कालोपत्रे गरेको थियो । ९४ लाखको लागतमा जोरसिमल सडक खण्ड र एनएमसीदेखि तल्लो भागमा कोलोपत्रे गरिएको वडाध्यक्ष ओलीले बताए ।
विकासको दृष्किोणले छलाङ मार्दै गएको यस वडामा उत्तर दक्षिण भद्रपुरलाई जोड्ने गोकुल मार्गमा कालोपत्रे सडक सञ्जालको काम अघि बढेको छ । काँकरभिट्टाबाट गोमनसरी जोड्ने सतिघट्टा सडक समेत कालोपत्रे गरिएको छ । यस वडाका बिभिन्न सडक स्तरउन्नति गर्नुका साथै ड्रेन निर्माण गरिएको छ ।
वडा कार्यालयदेखि दक्षिण हुँदै गोकुलमार्गमा ड्रेन निर्माण गरिएको छ भने १२ लाखको लागतमा मदन बस्तीमा ड्रेन निर्माण गरिएको छ । त्यसैगरी वडाले ८ लाखको लागतमा करुणा बस्तीमा प्लम निर्माण गरेको छ । वडाका विभिन्न सडकमा ४ लाखको लागतमा ह्युमपाइप विस्तार गरिएको वडाले जनाएको छ । त्यसैगरी वडाले निवारण टोलमा ९ लाखको लागतमा ड्रेनसहित ब्लक निर्माण गरेको छ ।
यहाँका जनताको मुख्य आम्दानीको श्रोत भने कृषि नै हो । यस वडामा धेरैजसो मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । यहाँका जनताले नगदे वालीको रुपमा चिया खेती समेत गर्दै आएका छन् । वडाले कृषिलाई प्राथमिकता दिएर गहुँ, तरकारी, तोरी खेती गर्न कृषकलाई प्रोत्साहित गर्दै आएको वडाध्यक्ष ओलीले जानकारी दिए । वडाले कृषकहरुलाई कृषितर्फ प्रोत्साहित गर्दै गहुँ तथा तोरी खेतीको लागि बिउमा ८० प्रतिशत अनुदानको कार्यक्रम ल्याएको थियो ।
स्थानीय वडाले कृषि क्षेत्रलाई व्यवस्थित गर्न सिँचाईको प्रबन्ध समेत गदेै आएको छ । यस वडामा हालसम्म १६ वटा डिप बोरिङको प्रबन्ध गरिएको छ भने थप सिँचाइको लागि यस वडामा ८ करोडको लागतमा पालिया नहरबाट तठबन्धन गरी सिँचाईको प्रवन्ध मिलाउने काम समेत तीब्र रुपमा अघि बढाएको वडाध्यक्ष ओलीले जानकारी दिए ।
यस वडामा वडावासीलाई खानेपानीको प्रबन्ध मिलाउन सतिघट्टामा खानेपानी उपभोक्ता समितिले काम गरिरहेको छ भने विपन्न परिवारको लागि काँकरभिट्टा खानेपानीसँग सहकार्यगरी ४५ जना विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा समेत जडान गरेको जनाएको छ ।
जातीय विविधता भएको यस वडामा ब्राम्हण, क्षेत्री, सतार, मेचे, तमाङ, बाँतर, किसान, मुण्डा, मालपाँडे, राजवंशी, सेर्पा, उराउ, करुवा, किसान, ग्वाला, राई, लिम्बू, नेवार, गुरुङ, मगर, खवास, दलित समुदायग २४ बढी जातजातिको बसोबास रहेको छ । उनीहरुको आफ्नै भाषा, संस्कृति र पहिचान रहेको छ । धार्मिक विविधता भएको सय वडाका विभिन्न ठाउँमा मठमन्दिर मन्दिर, गुम्बा, माङ्हिम, ग्रामथान र चर्ज रहेका छन् ।
सुरक्षाको हिसावले यस वडामा इटाभट्टा अस्थायी प्रहरी पोष्ट, प्रहरी चौकी सतिघट्टा र सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गरी ३ वटा सुरक्षा पोष्टले सिंगो वडावासीलाई सुरक्षा प्रदान गरिरहेको छ । इटाभट्टामा रहेको प्रहरी वीटलाई वडा कार्यायल पछाडिको भवनमा सारिने उनले बताए ।
औद्योगिक क्षेत्रमा समेत अघि बढेको यस वडामा सनराइज सिमेन्ट उद्योग, दुईवटा भेनियर उद्योग, दुईवटा राइस मिल, सतिघट्टा टि स्टेट र राज टि स्टेट र विभिन्न कुटील उद्योग समेत सञ्चालनमा रहेका छन् ् । यस वडामा साना ठूला गरी ४ सामुदायिक भवन निर्माण भएका छन् । स्थानीयले विवाह, ब्रतवन्ध तथा विभिन्न कार्यक्रममा यी नै सामुदायिक भवनको प्रयोगलाई बढाउँदै लगेका छन् । यस वडाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम समेत अघि बढाएको छ । यस आर्थिक वर्षमा ३८ जनालाई निःशुल्क स्वास्थ्य बीमा गरिएको वडाले जनाएको छ ।
वडाले पछिल्लो समय साप्ताहिक हाट बजारको अवधारणा ल्याएर वडा कार्यालयको पछाडिको भागमा टहरा निर्माण गरी ब्लक समेत बिच्छ्याउने काम सम्पन्न गरेको छ । पूर्वमा मेची नदी, उत्तरमा मेची राजमार्गका साथै वडा नम्बर ८ को सिमाना, पश्चिममा निन्दा नदी र दक्षिणमा १५ नम्बर वडासँग सीमा जोडिएको यस वडाको क्षेत्रफल १६.२० वर्ग किलोकिटर रहेको छ भने कुल जनसंख्या १० हजार ९०४ जना रहेका छन् । वडालाई उज्यालो वडाको रुपमा विकास गर्न वडाले सडक बत्ती जडान अभियान समेत अघि बढाएको छ भने वडाका सबै टोल क्षेत्रमा विजुली बत्ती पुर्याएको वडाले जनाएको छ ।
मेचीनगर । न्हुँदया भिन्तुना नेपाल सम्बत ११४५ को...
बिर्तामोड । लिङ्कन मन्टेश्वरी स्कुलले शुभ(दीपावलीको अवसरमा शुभकामना...
काठमाण्डौ । साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले...
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत...
काठमाण्डौ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू...
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको २५...